
पोखरा- पोखरा महानगरपालिकाकाले महानगर क्षेत्रभित्रका कृषकलाई प्रोसाहन गर्न आर्थिक सहयोग अभियान शुरू गरेको छ ।
महानगरले पहिलो चरणमा सुन्तलाको पकेट क्षेत्र मानिएको वडा नम्बर २१ दोपहरेका किसानलाई बगैंचा व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको हो ।
महानरले शुरू गरेको मेयर प्रविधि मैत्री कृषि परियोजना अन्तर्गत सुन्तला बगैंचा व्यवस्थापन गर्ने अभियान अन्तर्गत कृषकलाई सघाउन आर्थिक सहयोग गरिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । उनले एक कार्यक्रमका बीच महानगरको अभियान अन्तर्गत वडा नम्बर २१ दोपहरेका कृषकलाई सुन्तलाको बगैंचा व्यवस्थापनमा सघाउ पुर्याउन आथिक सहयोग प्रदान गरेका हुन् ।
प्रमुख जिसीले सुन्तलाको सामूहिक उत्पादन र प्रवर्द्धन गर्न मेयर प्रविधि मैत्री परियोजना अन्तर्गत सुन्तलाको बगैंचा व्यवस्थापनमा महानगरले सहयोग गरेको बताए । उनले महानगरले गरेको सहयोग प्रत्यक्ष रूपमा किसानसम्म पुर्याउनले उद्देश्य रहेको बताए । ‘यहाँ उत्पादित सुन्तलाको मूल्य निर्धारण गर्न र उत्पादित सुन्तलाको बजार खोज्न महानगरले सहयोग गर्नेछ,’ उनले भने, ‘स्थानीय सरकार पनि किसानको साथैमा छ भन्ने प्रत्याभूति दिलाउन महानगर लागि परेको छ ।’
प्रमुख जिसीले यस क्षेत्रलाई कास्कीमै सुन्तलाको प्रमुख केन्द्र बनाउने सोच महानगरले लिएको बताए ।
वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले विभिन्न किसान समूह बनाएर उनीहरूलाई प्रशिक्षित गराउनका लागि वडाले योजना बनाएका बताए । उनले वडामा पानीको समस्या भएकाले आकाशे पानी संकलनको लागि पनि सहयोग गरेको बताए । ‘किसानहरूलाई सीप सिकाउन वडामै कृषि प्राविधिक राख्ने बारेमा पनि वडाले योजना बनाइएको छ,' उनले भने ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले एक बोट सुन्तलाको लागि एक सय रुपैयाँका दरले सुन्तला बगैंचा व्यवथापन गर्न महानगरले किसानलाई सहयोग गरेको बताए । उनका अनुसार पाँच वर्ष माथिका फल दिने ११ हजार सुन्तलाका बोटको लागि ११ लाख सहयोग गरिएको हो ।
किसानले २ हजारदेखि ६० हजारसम्म आर्थिक सहयोग पाएको कडरियाले बताए ।
महानगरले १ सय ६६ जना किसानलाई उनीहरूसँग भएका फल दिने सुन्तलाका बोट अनुसार नगद रकम हस्तान्तरण गरेको हो ।
वडा नम्बर २१ को कृषि क्षेत्रमा वार्षिक साढे ४ करोडको रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने गरेको कृषि महाशाखाले जनाएकोछ ।