२७ असार २०८३, शनिबार

विमानस्थलमा २ अर्ब बक्यौता : कर्मकाण्डी पत्राचारमै सीमित उड्डयन प्राधिकरण !

बैशाख १२, २०७६
विमानस्थलमा २ अर्ब बक्यौता : कर्मकाण्डी पत्राचारमै सीमित उड्डयन प्राधिकरण !

काठमाडौं – विमानस्थलको सेवासुविधा प्रयोग गरेवापत नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न वायुसेवा कम्पनीसँग असुल्नुपर्ने रकम २ अर्ब रुपैयाँ नाघेको छ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्दै आएका विभिन्न हवाई सेवा प्रदायक कम्पनीसहित सरकारी निकायको बक्यौता रकम २ अर्ब रुपैयाँ नाघेको हो ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार फागुन मसान्तसम्म प्राधिकरणले असुल गर्नुपर्ने रकम २ अर्ब ४२ करोड ८ लाख २२ हजार ९ सय ६८ रुपैयाँ पुगेको छ ।

प्राधिकरणको विमानस्थल कार्यालयले विमानस्थल सेवा शुल्क नियमावली–२०६७ अनुसार विभिन्न शीर्षकमा शुल्क लिँदै आएको छ । प्राधिकरणको विमानस्थल कार्यालयले हवाई सेवा तथा विमानस्थल परिसरभित्र विभिन्न कारोबार गरिरहेका संस्थाबाट शुल्क लिँदै आएको छ ।

विनियमावली अनुसार लिइने शुल्क हवाई सेवा प्रदायक कम्पनीबाट विमानस्थल कार्यालय विकास शुल्क, ल्यान्डिङ तथा पार्किङ शुल्क लिइन्छ । हवाई परिवहन, सुरक्षा शुल्क, काउन्टर तथा कार्यालय सञ्चालन खर्च, होडिङ बोर्ड लगायतका शुल्क समेत विमानस्थलले लिँदै आएको छ । विमानस्थल परिसरभित्र सञ्चालनमा रहेका पसल तथा अन्य व्यावसायिक फर्मबाट समेत प्राधिकरणले विभिन्न शीर्षकमा शुल्क लिने गरेको छ ।

विभिन्न शीर्षकमा लिइँदै आएको रकम गत फागुन मसान्तसम्मको बक्यौता २ अर्ब ४२ करोड रुपैयाँ बढी पुगेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

कसको बक्यौता कति ?

प्राधिकरणका अनुसार स्वदेशी तथा विदेशी हवाई सेवा प्रदायक कम्पनीको बक्यौता १ अर्ब १३ करोड १ लाख ७६ हजार ४ सय ३४ रुपैयाँ रहेको छ । जसअन्तर्गत हालै बन्द रहेको भारतीय एयरलाइन्स जेट एयरको मात्रै ५ करोड ५५ लाख रुपैयाँ बक्यौता बाँकी रहेको छ । नेपाल एयरलाइन्सको ३२ करोड ५६ लाख ८३ हजार ५ सय ३५ रुपैयाँ बक्यौता बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । हिमालय एयरलाइन्सको २१ करोड ४२ लाख १३ हजार रुपैयाँ बक्यौता बाँकी छ ।

प्राधिकरणका अनुसार एयर अरेबिया, एयर एसिया, एयर चाइना र एयर इण्डियाको मात्रै २६ करोड २ लाख ६५ हजार ९ सय ७८ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

सञ्चालनमा रहेका मात्रै विभिन्न अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक स्वदेशी तथा विदेशी अन्य कम्पनीको बक्यौता रकम १ अर्ब १३ करोड १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

घरेलुतर्फ सेवा दिइरहेका सौर्य एयरको ३ करोड ३५ लाख ७३ हजार रुपैयाँ, सिम्रिक एयरको १ करोड ७ लाख ८८ हजार बक्यौता रहेको छ । घरेलु अन्य हवाई सेवा प्रदायकको समेत बक्यौता रकम रहेको प्राधिकरणले जनाएको छ ।

सेवा नै बन्द गरिसकेका विदेशी एयरलाइन्सको करोडौं बाँकी

पछिल्लो समय सञ्चालनमै नरहेका १८ वटा विदेशी एयरलाइन्सको बक्यौता समेत बाँकी रहेको छ । प्राधिकरणका अनुसार गल्फ एयरको २ करोड २२ लाख १३ हजार रुपैयाँ बक्यौता बाँकी छ । गल्फको बक्यौता २०७१ असार मसान्तसम्मको रहेको प्राधिकरणले जनाएको छ ।

कोलोसस एयरको १ करोड ३४ लाख ४५ हजार रुपैयाँ बक्यौता बाँकी रहेको छ । कोलोससको बक्यौता २०७४ असार मसान्तसम्मको रहेको प्राधिकरणले जनाएको छ ।

किङफिसर एयरलाइन्सको १ करोड १५ लाख ९७ हजार रुपैयाँ बाँकी रहेको छ । किङफिसरको बक्यौता २०६९ असार मसान्तसम्मको हो । 

प्राधिकरणका अनुसार एयर सहारा, अस्ट्रेलियन एयरलाइन्स, बहराइन एयरलाइन्स, बर्मा एयरलाइन्स, हङकङ एक्सप्रेस, पाकिस्तान एयरलाइन्स, ओरियन्टल थाई एयरलाइन्स, सिंगोपुर एयरलाइन्स लगायतका अन्य विदेशी एयरलाइन्सको बक्यौता समेत वर्षौंदेखि बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

सरकारी कार्यालयकै बक्यौता बाँकी

नागरिक उड्ड्यन प्राधिकरणको विमानस्थल कार्यालयलाई अन्य सरकारी कार्यालयले नै बक्यौता तिरेका छैनन् । प्राधिकरणका अनुसार नेपाल आयल निगमले प्राधिकरणलाई तिर्नुपर्ने रकम ६६ लाख १४ हजार २ सय ८२ रुपैयाँ बाँकी रहेको छ । आयल निगमलाई पत्राचार भइरहेको र अग्रिम करको हिसाब मिलान हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

वैदेशिक रोजगार सूचना विभाग कार्यालय, बिमा संस्थान, अध्यागमन विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतका बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

सञ्चालनमै नरहेका ३८ निकायको वर्षौंदेखि बक्यौता

प्राधिकरणका अनुसार पछिल्लो समय सञ्चालनमै नरहेका विभिन्न व्यावसायिक फर्मको बक्यौता समेत बाँकी रहेको छ । त्यसरी बक्यौता रकम बाँकी हुनेमा नेसनल कन्सट्रक्सन लगायतका कम्पनी छन् । नेसनल कन्सट्रक्सनको २०५८ सालअघिको ९४ हजार ५ सय रुपैयाँ बक्यौता बाँकी छ ।

मनकामना निर्माण सेवाको समेत २०५८ सालअघिको बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बक्यौता बाँकी रहेका सबै संस्थालाई पटक–पटक पत्राचार गरिएपनि हालसम्म बक्यौता बाँकी रहेको जनाएको छ । लामो समयदेखि बक्यौता रहेको रकम असुल्न प्राधिकरणले कर्मकाण्डी पत्राचारबाहेक प्रभावकारी कदम चाल्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्