०१ असार २०८३, सोमबार

फेवातालको किनारामा ८० फिटको झण्डासहित पार्क बन्दै

बैशाख १६, २०७६
फेवातालको किनारामा ८० फिटको झण्डासहित पार्क बन्दै

पोखरा- गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउने अभियान थालिएको छ । ड्यामसाइड क्षेत्रबाट फेवातालमा माछापुच्छ्रे देखिने ठाउँमा ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डासहित माछापुच्छ्रे बिम्ब देखिने गरी पार्क निर्माण प्रक्रिया अगाडि बढाएको हो । 

पोखरा महानगरपालिकासँगको सहकार्यमा प्रदेश सरकारले ४ करोडको लागतमा फेवातालको किनारामा रहेको ड्यामसाइड पार्कलाई झण्डा पार्कको रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकार र महानगरपालिकाले २-२ करोड लगानी गर्नेछन् । 

पार्क निर्माणको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरका मेयर मनबहादुर जिसीले सोमवार संयुक्त रूपमा उद्‌घाटन गरेका छन् । 

प्रदेश सरकार र पोखरा महानगरपालिकाको सह–लगानीमा पार्क निर्माण अगाडि बढाइएको मुख्यमन्त्री गुरुङले बताए । प्रदेश सरकार र पोखरा महानगरबीच सहकार्य नटुटेको सन्देश दिन संयुक्त रूपमा पार्क निर्माण अभियान थालिएको उनले बताए । ‘प्रदेश र स्थानीय सरकारबीच राम्रो सम्बन्ध छैन भन्ने भ्रमलाई चिर्न संयुक्त रूपमा पार्क निर्माणको अभियान थालेका हौं,’ उनले भने, 'दुवै सरकार सँगसँगै छौं भन्ने सन्देश दिन पनि यो काम महत्वपूर्ण छ ।’

पर्यटकीय गन्तव्य विस्तार गर्ने योजनासहित पार्क निर्माणको परिकल्पना गरिएको गुरुङको भनाइ छ । ‘गण्डकी प्रदेश पर्यटनबाटै समृद्धि चाहन्छ । त्यसका लागि संरचना बनाउन आवश्यक छ,' उनी भन्छन्, 'यस पार्क एउटा महत्वपूर्ण गन्तव्य हो । निर्माणमा कुनै समस्या हुँदैन । तोकिएकै समयभित्र निर्माणको काम सकिन्छ ।’

मुख्यमन्त्री गुरुङले आर्थिक विकास र समृद्धिको लागि प्रारम्भ सानोबाट शुरूआत भएको बताउँदै प्रदेशमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार विकास गर्नुपर्ने बताए ।

फेवाताल संरक्षणको लागि प्रदेश सरकार लागेको बताउँदै मुख्य मन्त्री गुरुङले सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने बताए । प्रदेश सरकारको गठनपछि विकासमा विकेन्द्रीकरण शुरू भएको उनको भनाइ थियो । बिनु कन्स्ट्रक्सनलाई तोकिएको मिति आउँदो असार २० गते भित्र उक्त पार्क निर्माण गर्न उनले आग्रह गरे ।

पार्क निर्माण गर्न लाग्ने अनुमानित ४ करोडमध्ये चालू वर्षमा १ करोड रुपैयाँ विनियोजन भएको छ । पहिलो चरणमा पार्क निर्माण गर्न बिनु कन्स्ट्रक्सनले ७६ लाख रुपैयाँमा जिम्मा लिएको छ । 

महानगरका मेयर मानबहादुर जिसीले फेवाताल संरक्षणका लागि पनि पार्क निर्माण महत्वपूर्ण हुने बताए । ‘विदेशतिर गयो भने यो ठाउँ पुग्नैपर्ने भनेर लैजान्छन् । हामी पनि पोखरा आएका पर्यटकलाई यो पार्क घुम्नैपर्ने ठाउँ भनेर प्रचार गर्ने हो,' उनले भने, 'लेकसाइडका कारण छायाँमा परेको ड्यामसाइड अब चम्किनेछ ।' आन्तरिक र बाह्य दुवै पर्यटकलाई लक्षित गरी पार्क निर्माण गरिने उनले सुनाए ।

पोखरा महानगरका प्रमुख इञ्जिनीयर शोभियत खड्काले महानगरले १ करोड ९ लाखको टेण्डर आह्वान गरेको बताए । ‘त्यसमध्ये ७६ लाखमा काम गर्न निर्माण कम्पनी राजी भएको हो,’ उनले भने, ‘१७ रोपनी क्षेत्रफलमा आकर्षक पार्क बन्छ । यो वर्षको काम असार मसान्तभित्रै सक्नुपर्ने छ ।’

पार्कमा जाने पुलसहित टिकट काउण्टर, रेष्टुरेष्ट, छहरा, फुट ट्र्याक, बाल उद्यान लगायत संरचना बन्ने प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । उनका अनुसार पार्कभित्र ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा राखिने छ ।

सो स्थानमा विष्णु मन्दिर समेत रहेकोले मन्दिर मर्मतसहित,रुख विरुवाहरूको संरक्षण र पार्क निमार्ण गर्न ड्यामसायड क्लबको समन्वयमा निर्माण कार्य अगाडि बढाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्