
काठमाडौं– २५ बुँदे घोषणा पत्र जारी गर्दै मेलमिलापकर्ताहरूको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
'हाम्रो समस्या, हाम्रै समाधान' भन्ने मूल नाराका साथ सोमवारबाट राजधानीमा शुरू भएको सम्मेलन २५ बुँदे घोषणा पत्र जारी गर्दै मंगलवार सम्पन्न भएको हो ।
दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न ५ वटा कार्यपत्र प्रस्तुत भएका थिए । छलफलपछि आगामी दिनमा मेलमिलापलाई अझै महत्त्व दिने प्रतिबद्धता सहितको घोषणा पत्र जारी गरिएको हो ।
सम्मेलनमा विभिन्न निकायका कर्मचारी, स्थानीय न्यायिक समितिका संयोजकहरू, सामुदायिक मेलमिलापकर्ताहरू, अदालत प्रेसित मेलमिलापकर्ताहरू लगायत १ सय ५३ जना सहभागिता रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै मेलमिलाप परिषद्का अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलापकर्ताहरूको दोस्रो राष्ट्रिय सम्मेलनले मेलमिलापको पद्धतिलाई अझै प्रभावकारी रूपमा लैजाने विश्वास व्यक्त गरे ।
उनले भावी दिनमा स्थानीय निकायका न्यायिक समिति, सामुदायिक मेलमिलापको केन्द्रहरूमा हुने मेलमिलापले न्यायपालिकामा आउने मुद्दाको संख्यामा कमी आउन सके मात्र मेलमिलापको अर्थले सार्थकता पाउने बताए ।
सम्मेलन समारोहमा मेलमिलाप परिषद्का पूर्व अध्यक्षहरू गिरिशचन्द्र लाल र वैद्यनाथ उपाध्यायलाई मेलमिलाप परिषद्मा रहेर बहन गरेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै सम्मान गरिएको थियो ।
त्यस्तै मोरङ जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलले धेरै मुद्दालाई मेलमिलापका लागि सिफारिस गरेको र चितवन जिल्ला अदालतमा मेलमिलापकर्ताको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जयनारायण आचार्यलाई समेत सम्मान गरिएको छ ।
हेर्नुहोस्, घोषणा पत्र :