१६ असार २०८३, मंगलबार
विकासमा ढिलासुस्ती

पूर्ण स्वदेशी लगानीको पहिलो कान्ति लोकपथ बन्न ६ दशक ! दशैंमा गाडी हुइँकिएला ?

बैशाख २०, २०७६
पूर्ण स्वदेशी लगानीको पहिलो कान्ति लोकपथ बन्न ६ दशक ! दशैंमा गाडी हुइँकिएला ?

काठमाडौं – स्वदेशी लगानीमा निर्माण भइरहेको नेपालको पहिलो सडक आयोजना ‘कान्ति लोकपथ’ ६ दशकपछि सम्पन्न हुन लागेको छ ।

कुनै पनि दातृ निकायको आर्थिक सहयोग विना नै नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको कान्ति लोकपथ निर्माणको काम विक्रम संवत् २०१३ सालमा शुरू भएपनि बल्ल निर्माणको अन्तिम चरणमा पुगेको हो ।

योजनाका सूचना अधिकारी इन्जिनियर अमिन्द्र खड्काले कान्ति लोकपथ योजना अन्तर्गत काम भइरहेको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । लोकपथ हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किलोमिटर रहेको छ ।

विक्रम संवत् २०१३ देखि २०१६ सम्म नेपाली सेनामार्फत सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएपनि त्यसबीचमा भएका विभिन्न राजनीतिक उतारचढावका कारण सडक निर्माणको कामले गति लिन नसकेको योजनाका सरकारी अधिकारी बताउँछन् । राजनीतिक उतारचढावका कारण अघि बढ्न नसकेको सडक निर्माणको काम पुनः २०६४ सालमा शुरू भएको र पछिल्लो समय अन्तिम चरणमा पुगेको खड्काले बताए । आगामी असोज अर्थात दशैंसम्म दुईतर्फी रुपमा ठूला गाडी सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

चालू आर्थिक वर्षको हालसम्म साढे ३४ किलोमिटर सडक कालोपत्रे भइसकेको र ४० किलोमिटरभन्दा बढी ग्राभेल भइसकेको छ । ‘अहिलेसम्म साढे ३४ किलोमिटर कालोपत्रे भइसकेको छ,’ योजनाका सूचना अधिकारी खड्काले लोकान्तरसँग भने ।

चालू आर्थिक वर्षभित्र ६२ दशमलव ५ प्रतिशत मात्रै कालोपत्रे गरिने आयोजनाको लक्ष्य रहेको छ । बाँकी रहेका स्थानमा ट्र्याक खोल्ने काम सकिएपछि चालू आर्थिक वर्षभित्रै अन्य ३० किलोमिटर सडकको समेत कालोपत्रे गरिने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार सडकको केही स्थानमा ट्र्याक चौडा गर्न मात्रै बाँकी रहेको छ । विभिन्न स्थानमा गरेर करीब ६ किलोमिटर कडा चट्टान रहेको र पहिरोको जोखिम रहेका केही स्थानमा सडक बनाउन बाँकी छ ।

कुलेखानीको विकल्पको रुपमा अघि सारिएको सडकको लम्बाई ९० किलोमिटर रहेको छ । ९० किलोमिटरमध्ये ७९ किलोमिटर कान्ति लोकपथ आयोजना र बाँकी ११ किलोमिटर सडक विभाग तथा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले संयुक्त रुपमा निर्माण गरिरहेका छन् ।

आगामी आर्थिक वर्षको अन्तिमसम्म ७९ किलोमिटर पूरै कालोपत्रे गरिने योजनाका सूचना अधिकारी खड्काले बताए । कान्ति लोकपथ आयोजनाले सडकको मुख्य समस्याको रुपमा पहिरो रहेको जनाएको छ ।
वर्षाको समयमा पहिरोले बाटो अवरुद्ध गर्ने मुख्य समस्या रहेको आयोजनाले बताएको छ । कमजोर भू–बनोट भएका कारण बाटो माथिबाटै पहिरो जाने समस्या रहेको आयोजनाको भनाई छ ।

सडकको छेउछाउमा १५ मिटरभित्रै रहेका घर टहरा हटाउन ठूलो समस्या रहेको आयोजनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्