
काठमाडौं – आइतवार काठमाडौंमा आयोजित कार्ल मार्क्सको २०१ औं स्मृति समारोहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आफू जनताको साथ पाए पुनः जंगल जाने कुरा मात्र गरेनन् ।
कार्यक्रममा उनले आफूमा निकै ठूलो ऊर्जा भएको पनि बताए । त्यस्तो उर्जाले आफूलाई झापा विद्रोह वा केन्द्रीय न्युक्लियस हुँदा पनि संकल्पवद्ध गराएको प्रचण्डले भाषणमा बताए ।
आफूहरूकै युवा ऊर्जाले पञ्चायती कालरात्री उल्ट्याएको र त्यतिबेला वर्गसंघर्ष गर्नुपर्छ, हतियार बोक्नुपर्छ भन्ने आत्मविश्वास आफूमा आएको भन्दै प्रचण्डले अहिले पनि त्यो आत्मविश्वास कायमै रहेको उद्घोष गरेपछि राजनीतिक वृत्त तातेको छ । किनभने प्रचण्ड र जंगल २०५२ सालमा जनयुद्ध शुरू गरेदेखि नै यो वा त्यो रूपमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका प्रचण्ड २०६२ सालमा तत्कालीन ७ राजनीतिक दलहरूसँग १२ बुँदे सम्झौतामार्फत शान्तिप्रक्रियामा आएपछि राष्ट्रिय राजनीतिका निर्णायक पात्र बने ।
यहाँसम्म कि प्रचण्डले चाहे मात्र दोस्रो व्यक्ति प्रधानमन्त्री हुने परिस्थिति बन्यो । आफूले यो देशमा धेरैलाई प्रधानमन्त्री बनाइदिएको प्रचण्डले पटक–पटक दोहोर्याउने गरेका छन् । शान्ति चाहनेलाई शान्तिका कुरा र क्रान्ति चाहिनेलाई भर्खरै क्रान्तिको आगो दन्किने गरेर भाषण गरिदिने प्रचण्डको स्वभाव हो ।
प्रचण्ड आम जनताको नाडी छामेर बोल्न माहिर मानिन्छन् । दोस्रो संविधान सभामा खुम्चिएर प्रचण्डको पार्टी तत्कालीन माओवादी केन्द्र सानो बनेको भएपनि प्रचण्डको भूमिका झन् बलियो हुँदै गयो । तत्कालीन प्रधानमन्त्री स्व. शुशील कोइरालाले खुट्टा दह्रो गरेर संविधान जारी गर्ने हिम्मत देखाउनुमा प्रचण्डको ‘वैशाखी’ भूमिका थियो भनेर कतिपय राजनीतिक विश्लेषकहरूले भन्ने गरेका छन् ।
माओवादी पार्टी एमालेमा ‘मर्ज’ गराएको आरोप लागेपनि प्रचण्डको स्वभाव कतैतिर ‘मर्ज’ भएको भने छैन । त्यही कारण पनि हुन सक्छ, सञ्चारमाध्यममा आउने राजनीतिक आलेख, टिप्पणी, विचार र समाचारमा प्रचण्डको नाम नभए अपूरो हुने ‘किस्सा’ पनि पत्रकारमाझ कहिले–कहिले चल्ने गर्दछ ।
जंगल जाने उद्घोष
‘म अझै जंगल जान तयार छु । कम्युनिस्ट आन्दोलन उत्कर्षमा पुर्याएर मात्रै माथि जाने (मर्ने) इच्छा छ !’ प्रचण्डले सम्बोधनका क्रममा भनेका यी शब्दहरूलाई कतिपयले अतिरञ्जित व्याख्या गरे । सामाजिक संजालमा क्रिया प्रतिक्रियाको बाढी चल्यो । स्वयम् नेकपाका नेता कार्यकर्ता अलमलमा परे, प्रचण्डले के भनेका हुन् ? भनेर । कतिपयले सोचे, ‘प्रचण्ड हुन्, बेलाबेलामा यस्ता कुरा बोलिरहन्छन् । केको टाउको दुखाइ ?’
सम्बोधनकै क्रममा प्रचण्डले दोहोर्याए, ‘म फेरि एकपटक सम्पूर्ण चिज त्यागेर जंगल जान पनि सक्छु भन्ने विश्वास छ । जरुरी पर्यो भने मलाई जंगल जान पटक्कै गाह्रो लाग्दैन । कतिपयलाई के लाग्छ भने अब यत्रो भइसक्यो कसरी हुन्छ ? के हुन्छ भन्ने पनि लाग्ला, मलाई साँच्चै हेर्नुहोला, तपाईंहरूको साथ चाहिँ चाहिन्छ, म एक्लै जोगी भएर त जान्नँ । जोगी भएर हुने कुरा पनि छैन । तपाईंहरू साथमा हुनुभयो भने म अर्को एउटा क्लाइमेक्समा यो पार्टी र आन्दोलनलाई लगेर मात्र माथि जाने विचारमा छु ।’
प्रचण्डले प्रष्ट शब्दमा भनेका छन् कि उनी जोगी हुनका लागि जंगल जान खोजेका होइनन् । उसो त राजनीति जोगी हुनका लागि गरिने चिज पनि होइन । त्यसो भए प्रचण्डको त्यो ‘जंगल बिम्ब’ चाहिँ के हो त ?
के जंगल भनेको सत्ता हो ?
‘यस !’ प्रचण्डनिकट एक नेताले भने, ‘उहाँले जंगलको बिम्ब कसरी ल्याउनुभयो, त्यो उहाँले जान्ने कुरा भयो । तर मैले उहाँसँग धेरै समय नजिक रहेर संगत गरें । उहाँको अहिलेको ध्येय पार्टीलाई बलियो बनाउने र कार्यकारी पदमा पुग्ने नै हो ।’
वर्तमान सरकारप्रति प्रचण्ड कुन हदसम्म असन्तुष्ट छन् त ? यसको उत्तर प्रचण्डको हाउभाउ र भाषणमा प्रयोग हुने बिम्बहरूले दिने गर्छन् । सत्तारुढ दलको अध्यक्ष भएका नाताले प्रचण्डले बेलाबेलामा सरकारको पक्षमा भाषण गर्ने त गर्छन् तर त्यो पूरै ‘बनावटी’ जस्तो देखिन्छ । ‘वास्तवमा भन्ने हो भने अध्यक्ष कमरेडलाई यो सरकारले गरेको केही पनि चित्त बुझेको छैन,’ प्रचण्ड निकट एक नेताको यो भनाइलाई पत्याउनुपर्ने प्रशस्त आधारहरू छन् ।
पार्टी एकीकरण भएपछि प्रचण्ड पछाडिका कार्यकर्ता दोब्बर भए । तर उनले शहरमा आफू एक्लै रहेको जस्तो अनुभव गर्छु भन्दैछन् । पार्टीमा देखिएको गुट–उपगुट, निराशा, व्यक्तिवाद र प्रधानमन्त्री ओलीको एकलौटी प्रवृत्तिबाट प्रचण्ड निराश छन् भन्ने अर्थ लगाउन सकिन्छ ।
प्रचण्ड भन्छन्, ‘हामी थोरै पूर्णकालीन कार्यकर्ता थियौं । हामी दलित बस्तीमा जाँदा गौरवको अनुभूति हुन्थ्यो । अन्तरजातीय विवाह गराउँदा गौरव हुन्थ्यो । झुपडीमा जाँदा बेग्लै आनन्द आउँथ्यो । असिम त्यागको अनुभूति हुन्थ्यो । अहिले हामी लाखौं कार्यकर्ता छौं । ठूलो शक्ति पनि छौं । तर हिजोको निष्ठा कता छ, हामी कता छौं ? अहिले सोच्दा विचित्र लाग्छ ।’
प्रचण्डको अभिव्यक्तिले आक्रोश र शक्तिको भोक दुवैको एकैचोटी प्रतिनिधित्व गरेको देखिन्छ । प्रचण्डले आफूलाई कहिल्यै पूर्ण रहेको बताएनन् । ‘हिजो थोरै हुँदा दुनियाँ बदल्छौं भन्ने मनोबल अहिले कता पुग्यो ? यति ठूलो पार्टी हुँदा पनि हामी किन एक्लो महशुस गर्दैछौं ?’ उनी प्रश्न गर्छन्, ‘यत्रो कार्यकर्ताको पंक्ति हुँदा जे पनि गर्न सक्छु भनेर आँट आउनुपर्ने । दलाल नोकरशाही एकैदिन लखेट्न सक्नुपर्ने तर सक्दैनौं जस्तो लाग्छ ।’
काँध फेर्ने प्रश्न
पछिल्लो समय पार्टीभित्र नेतृत्वविरुद्ध खरा आलोचक मानिने स्थायी कमिटी सदस्य भीम रावलले उतिबेला वामगठबन्धन घोषणा गरेपछि पार्टी र सरकार आलोपालो चलाउने आशयको सहमति भएको बताएका थिए । ‘असोज १७ गते वाम गठबन्धन घोषणा गरेकै दिन हामीले ७ बुँदे सहमति बाहिर ल्याएका थियौं,’ रावलले भनेका थिए, ‘त्यो सहमतिमा पनि नेतृत्व आलोपालो चलाउने अन्तरनिहित आशय थियो, कसको नेतृत्व भन्ने कुरै हुँदैन नि, पार्टी एक भइसकेको छ, खाली घोषणा गर्न मात्रै बाँकी छ ।’
त्यसपछि तत्कालीन माओवादीका प्रभावशाली नेता जनार्दन शर्माले भने, ‘अहिले केपी ओलीले नै नेतृत्व गरिरहनुभएको छ । एउटै पार्टी भइसकेपछि निर्णय अनुसार अघि बढ्ने भएकाले भोलि आवश्यक पर्यो भने समझदारीमा आलोपालो हुन्छ ।’
हालका सचिवालय सदस्य वामदेव गौतमले पनि आलोपालो नेतृत्व गर्ने सहमति भएको उतिबेलै पुष्टि गरे । ‘पार्टी एकता र तालमेल गर्ने सम्बन्धमा एमाले र माओवादी निष्कर्षमा पुग्दा प्रधानमन्त्री आलोपालो गरी बन्ने सहमति भएको तर कसले कति अवधि सरकारको अगुवाइ गर्ने भन्ने तोकिएको छैन,’ त्यतिबेला गौतमले भनेका थिए ।
नेकपाभित्र आलोपालो सरकारको नेतृत्व गर्ने विषय ‘ओपन सेक्रेट’ जस्तै छ । पार्टीका नेताहरूले बेलाबेलामा दिने वक्तव्यले सरकारको काँध फेरेर चलाउने सन्दर्भमा कुनै अलिखित सम्झौता भएको पुष्टि हुन्छ । सम्भवतः प्रचण्डले त्यही अलिखित सम्झौताको कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले बेलाबेलामा आफू ‘खतरै’ रहेको अभिव्यक्ति दिने गरेका हुन सक्छन् ।
प्रचण्डको अभिव्यक्तिमा ‘घायल’ हुने नेकपाका नेता
प्रचण्डले जंगल जान तयार रहेको भाषण गरेपछि पूर्व एमालेका युवा नेता तथा हालको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सञ्जालमा प्रचण्डको तिखो आलोचना गर्दै ‘गुरिल्ला आन्दोलनको नेतृत्व गरेको ऐठन’ भनेर आक्षेप लगाए । उनले लेखेका छन्, ‘गुरिल्ला आन्दोलनको नेतृत्व गरेको अनुभवको ऐठन होला । प्रधानमन्त्री हुन मन लाग्यो, अनि जंगल ! पूर्व हान्नुछ भने पश्चिम हान्ने हल्ला !’ प्रचण्डले प्रधानमन्त्री पद चाहिएकाले ‘जंगल जान्छु’ भन्ने अभिव्यक्ति दिएको थापाको आशय थियो ।
थापाको स्ट्याटसमा प्रतिक्रिया दिँदै पूर्व माओवादी पृष्ठभूमि रहेका केही नेताहरूले यस्तो भड्किलो अभिव्यक्ति नदिन आग्रह गरे । जंगल जान तयार रहेको प्रचण्डको भनाइको सार बुझ्नुपर्ने उनीहरूको आग्रह थियो । तर यो सत्य हो कि प्रचण्ड वर्तमान सरकारसँग असन्तुष्ट छन् भन्ने विषयमा दुईमत छैन ।
पार्टी एक भएपनि कतिपय नेताहरूबीच कटू सम्बन्ध रहेको छ । थापा मात्र होइन, प्रचण्ड प्रधानमन्त्री भएको देख्न नसक्ने नेताहरू नेकपामा टन्नै छन् । तर अहिलेको बहसको मुख्य पाटो भनेको सरकारसँग प्रचण्डको असन्तुष्टि कुन तहसम्म छ भन्ने हो । सरकारसँगको असन्तुष्टि कुन हदसम्मको हो भन्ने विषयले नेपालको राजनीतिमा धेरै प्रभाव पार्न सक्छ । एकताको महाधिवेशनसम्म प्रचण्डले कार्यकारी बन्ने आफ्नो महत्त्वाकांक्षा कसरी प्रकट गर्लान् त्यो चाहिँ भविष्यकै गर्भमा छाडौं ।
कहाँ छैन भ्रष्टाचार ?
प्रचण्ड निकट मानिने नेता अग्नी सापकोटाले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै देश भ्रष्टाचारमा लिप्त भएको प्रतिक्रिया दिए । भ्रष्टाचार कहाँ छ भनेर खोज्नुभन्दा कहाँ छैन भनेर खोज्नुपर्ने स्थिति रहेको सापकोटाको टिप्पणी थियो ।
सम्भवतः सापकोटाले जति प्रचण्डको अन्तर्य बुझेका छन्, अरूले बुझेका छैनन् । उनी प्रचण्डका ‘किचन क्याबिनेट’ मानिन्छन् । भनिन्छ – प्रचण्डले बोल्न नमिल्ने कतिपय अभिव्यक्ति सापकोटाले बोलेका हुन्छन् । सरकारप्रति असन्तुष्टि व्यक्त गर्ने माध्यम प्रचण्डले आजकल सापकोटा र अन्य नेताहरूलाई बनाएका छन् ।
यदि सरकार असफल भएको प्रचण्डको निष्कर्ष हो भने ‘जंगल जाने’ प्रचण्ड अभिव्यक्तिको अर्थले ओली नेतृत्वको सरकारमाथि पक्कै पनि ‘अनर्थ’ निम्त्याउन प्रयास जरूर गर्नेछ । ओलीमाथि असन्तुष्टि र दबाब बढाउँदै लैजाने तथा आफूलाई बालुवाटार छिर्ने एक्लो दाबेदारका रुपमा पुष्टि गर्ने संकेत प्रचण्डले दिएका छन् ।