चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा १ महिनादेखि पठनपाठन ठप्प भएको छ ।
गत चैत २१ गते विश्वविद्यालयको कृषि संकायका सहायक डीन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दलेर अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको हो ।
विश्वविद्यालयका रजिस्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघले आन्दोलन जारी राखेको छ । प्राध्यापकहरूले मुख्य कार्यालयमा तालाबन्दी गरेका छन् ।
विश्वविद्यालयले त्यही अध्ययनरत छ विद्यार्थीलाई कालोमोसो दलेको भन्दै २ महिनाका लागि निष्काशन गरेको छ । त्यसलगत्तै अनेरास्ववियूले विश्वविद्यालयमा तालाबन्दी गरेको थियो ।
कोलाक्षपतिका अनुसार अनेरास्ववियूले तालाबन्दी २ दिनअघि खोलेको भएपनि प्राध्यापक संघले कारवाही कमजोर भएको भन्दै आन्दोलन जारी राखेपछि पठनपाठनसहित विश्वविद्यालयको काम कारवाही ठप्प भएको छ ।
राजनीतिक दल र प्राध्यापक संघसँग नियमित छलफल भइरहेको भएपनि निकास निस्कन नसकेको उनले बताए । विश्वविद्यालयमा विगत १ वर्षदेखि विभिन्न आन्दोलनका कारण पठनपाठन र काम प्रभावित हुँदै आएको छ । गएको असार २० गते निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन जारी राख्दा विश्वविद्यालय प्रभावित बनेको छ । यसै क्रममा कालोमोसो प्रकरण थपिएपछि विश्वविद्यालय अस्तव्यस्त बनेको हो ।
विगत १ वर्षमा आधा समय पनि विश्वविद्यालय नखुलेको जनाइएको छ ।