
तनहुँ – तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङका मानव चन्द शारीरीक रूपमा अशक्त छन् । उनी हिँडडुल गर्न सक्दैनन् ।
उनलाई हिँडडुल गर्न ह्वीलचियरको सहारा आवश्यक पर्छ । सोही वडास्थित राधा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत चन्द दैनिक ह्वीलचियरमै विद्यालय जान्छन् ।
चन्दलाई विद्यालय लैजान दैनिक एक साथी आवश्यक पर्छ । चन्दले भने, “उकालोओरालो कच्ची बाटो भएकाले एक्लै जान सक्दिनँ, साथीले आएर लैजान्छ ।”
चन्दलाई विद्यालय लैजान र घर पुर्याउन सोही विद्यालयमा अध्ययनरत साथीले सहयोग गर्ने गरेका छन् ।
“सबैले पालैपालो विद्यालय आउन र घर फर्कन सहयोग गर्छन्”, उनले भने ।
एक वर्षदेखि ह्वीलचियरमै विद्यालय जान थालेका उनलाई त्यस अगाडि बोकेर विद्यालय पुर्याउनुपर्थ्यो । अहिले ह्वीलचियर भएपछि केही सहज भएको चन्दले बताए ।
“बोकेरभन्दा ह्वीलचियरमा केही सहज छ”, उनले भने, “गाउँको बाटोको अवस्थाले गर्दा ह्वीलचियरमै पनि कहिलेकाहीँ समस्या आउँछ ।”