![रोपाइँको रौनक : युवतीहरूले हिलो खेल्दा युवकले हाने डाइभ [फोटो/भिडियो]](https://lktcdn2.prixacdn.net/media/Asar_15_Coverr_k4lh0UyxZ3.jpg)
ललितपुर – ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ आज १६औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको रूपमा मनाउने गर्छ ।
यो महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ समय पनि भनिन्छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
किसानहरू वर्षभरीका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
‘छुपु र छुपु हिलोमा धान रोपेर छाडौँला, बनाइ कुलो लगाइ पानी आएर गोडौंला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपारहरूले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन लिने गर्छन् ।
काठमाडौं सहित देशैभर असार १५ का दिन रोपाइँ विशेष कार्यक्रम भएका छन् । ललितपुुरको खुमलटारमा पनि असार १५ धुमधामका साथ मनाइएको छ ।
नेपाल कृषि अुसन्धान परिषद् (नार्क)को आयोजनामा भएको रोपाइँ कार्यक्रममा धान रोप्न र हिलो खेल्नका लागि खुमलटारमा बालबालिकादेखि वृद्धवृद्धा तथा युवा वर्गको बाक्लो उपस्थिति रहेको थियो ।
उपस्थित सबैले हिलो छ्याप्दै र धान रोप्दै असार १५ मनाए ।
युवतीहरूको समूहले हिलोमा रमाइलो गरिरहँदा एक युवाले खेतमै उल्टी डाइभ समेत हानेका थिए ।
फोटो/भिडियो : गगन अर्याल



























