१३ असार २०८३, शनिबार

रजिस्ट्रार र सेवा आयोगका अध्यक्ष रुचाउँदैनन् विश्वविद्यालयको आवास

रजिस्ट्रार र सेवा आयोगका अध्यक्ष रुचाउँदैनन् विश्वविद्यालयको आवास

चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा बस्दै आएका छन् ।

आवासीय विश्वविद्यालयको रूपमा रहेको यस विश्वविद्यालय हाताभित्र पदाधिकारी, प्राध्यापक र कर्मचारीका लागि आवासको व्यवस्था रहेको छ ।

विश्वविद्यालयका उपकूलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल भने विश्वविद्यालयको हाताभित्रको आवासमा बस्दै आएका छन् । रजिस्ट्रार प्रा.डा. मनराज कोलाक्षपती र सेवा आयोगका अध्यक्ष रामनाथ ओझा भरतपुरमा घर भाडामा लिएर बस्दै आएका छन् । ढकालले दुवै जनालाई भित्र आवासको व्यवस्थापन गर्न सकिने बताए ।

भित्र बस्दा त्यहाँको समस्या थाहा हुने र व्यवस्थापन गर्न सहज हुने उपकुलपति ढकालले बताए । उनका अनुसार दुवै जनाले भरतपुरको आवास छोडेर रामपुर जान चाहेका छैनन् । विश्वविद्यालयका लेखा प्रमुख विष्णु देवानका अनुसार २ आवास भरतपुरमा व्यवस्थापन गर्न ५० हजार रुपैयाँ हाराहारी मासिक खर्च हुने गरेको छ ।

शिक्षा मन्त्रीको निर्देशनपछि काठमाडौंमा रहेको विश्वविद्यालयको कार्यालय हटाइएको छ । काठमाडौंमा विश्वविद्यालयको आवास भने अहिले पनि रहेको छ । भरतपुरमा समेत विश्वविद्यालयको आवास राखिएकोमा हालै मात्र हटाइएको छ ।

विश्वविद्यालयमा समय समयमा बन्द, हड्ताल, आन्दोलन हुने भएकाले यी सबै कार्यलाई छलेर बजारमा रमाउन पदाधिकारीहरु भरतपुर बस्ने गरेको आरोप लागेको छ । भरतपुर विश्वविद्यालयबाट १० किलोमिटरको दुरीमा छ । 

रजिस्ट्रार कोलाक्षपतीले भरतपुर बसे पनि अधिकांश समय रामपुरमा रहने गरेको जिकिर गरे । यसअघि भरतपुरमा विश्वविद्यालयको केन्द्रीय कार्यालय हुँदा तत्कालीन उपकुलपति बस्नका लागि भाडामा लिइएको आवास नै कोलक्षपतीले प्रयोग गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्