
खलंगा – आइतवारदेखि अनिश्चितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय बुधवारदेखि खुलेका छन् ।
गाउँपालिका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख नवीन शर्माले निजी शिक्षकको समस्या समाधान गर्ने आश्वासन दिएपछि ती सबै विद्यालयका तालाहरू खोलिएको निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लो गोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताए ।
विद्यालयमा तालाबन्दी गरी विद्यार्थीहरूको पढाइमा अवरोध नगर्न अध्यक्ष रावल र शिक्षा विभाग प्रमुख शर्माको आग्रहलाई शिक्षकले स्वीकार गर्दै विद्यालयमा नियमित पढाइ शुरू गरेको उनको भनाइ छ ।
तलब नपाएको भन्दै २२ वटै विद्यालयका निजी शिक्षकले तालाबन्दी गरेका थिए । त्रिसठ्ठी शिक्षकले हालसम्म तलब नपाएको गुनासो गरेका छन् । शिक्षकले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन यही असार ११ गते ४ दिनको समयसीमा दिँदासमेत अटेर गरेपछि शिक्षकले अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।