
काठमाडौं –
दिशा
हिमालय कता छ ?
मैले विद्यालय बाहिर चंगा उडाइरहेको
एक बालकलाई सोधें
उता – उता – उसले भन्यो
जतातिर उसको चंगा उडिरहेको थियो
म स्वीकार्छु
मैले पहिलोपटक थाहा पाएँ
हिमालय कता छ ।
जनहितको कार्य
अद्भुत थियो त्यो दृश्य
बादल बर्सिएर आकाश खुलिसकेको थियो
खेतहरू जोतिन तयार थिए
भाँचिएको एउटा हलो आलीमा लडिरहेको थियो
अनि एउटा चरा बारम्बार बारम्बार
हलोलाई आफ्नो चुच्चोले
उठाउने कोशिश गरिरहेको थियो
मैले त्यो दृश्य देखें र फर्किएँ
किनकि मलाई लाग्यो म त्यहाँ हुँदा
उसले गरिरहेको जनहितको काममा
अवरोध हुनेछ ।
नयाँ दिनसँगै
नयाँ दिनसँगै
एउटा खाली पातो खुल्यो
हाम्रो प्रेमको
बिहान,
यसमा कतै आफ्नो नाम त लेखिदेऊ !
अनेकौं अलच्छिना पानाहरूमा
यसलाई पनि कतै राखिदिनेछु
अनि जहिले जहिले हावा चलेर
बन्द पानालाई अचानक उडाउँछ
कतै भित्र
मयूरको प्वाँख झैं राखेको उक्त नामलाई
प्रत्येकपटक पढ्नेछु ।
हिन्दीका सुप्रसिद्ध साहित्यकार केदारनाथ सिंहको जन्म सन् १९३४ मा भएको थियो भने सन् २०१८ मा उनको निधन भयो । भारतीय ज्ञानपीठले सन् २०१३ मा उनलाई पुरस्कृत गरेको थियो । काव्यसाधनाका लागि उनले अनेकौं प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेका थिए । उनका प्रमुख काव्यकृति जमीन पक रही है, यहां से देखो, उत्तर कबीर र बाघ हुन् । आफ्ना कवितामा उम्दा बिम्बविधान गर्न उनी सिपालु थिए । उनका कविताहरू सरल हुन्छन् तर तिनमा अर्थगाम्भीर्य प्रबल हुन्छ ।
अनुवाद : विन्देश दहाल