२९ जेठ २०८३, शुक्रबार

चाडपर्व नजिकिँदै गर्दा महंगी बढ्यो, दैनिक उपभोग्य वस्तुको खुद्रा मुल्य २२ प्रतिशतसम्म वृद्धि

साउन २४, २०७६
चाडपर्व नजिकिँदै गर्दा महंगी बढ्यो, दैनिक उपभोग्य वस्तुको खुद्रा मुल्य २२ प्रतिशतसम्म वृद्धि

काठमाडौं– दशैं तिहार लगायतका चाडपर्व नजिकिदै गर्दा दैनिक उपभोग्य वस्तुमा महंगी बढेको छ । सरकारले संकलन गरेको मुल्यसूची अनुसार दैनिक उपभोग्य वस्तुको मुल्य २२ प्रतिशतसम्म बढेको हो ।

सरकारले नेपाल खुद्रा व्यापार संघमार्फत गत जेठ ३१ गते र साउन २१ गतेको मुल्य संकलन गरेको छ । सो अनुसार दैनिक उपभोग्य वस्तुको मुल्य ६ देखि २२ प्रतिशत सम्म बढेको छ ।
संकलित विवरण अनुसार स्टिम जिरा मसिनो चामलको मुल्य ६ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ । गत ३१ मा प्रतिकेजी ७५ रुपैयाँका दरले रहेको स्टिम जिरा मसिना चामलको मुल्य साउन २१मा (मंगलवार) ८० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

त्यस्तै लङ्ग ग्रेन बासमती चामलको मुल्य ७ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ गते प्रतिकिलो  १ सय ३० रुपैयाँका दरले रहेको सो चामलको मुल्य  गत मंगलवार १ सय ४० रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तथ्याङ्क अनुसार तराईको ताइचिन चिउराको मुल्य ७ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा  ७० रुपैयाँ प्रतिकिलो रहेको उक्त चिउराको मुल्य मंगलवार ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

जिरा पाउडरको मुल्यमा ११ प्रतिशतले वृद्धि हुँदै ५ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । जेठ ३१ मा ४ सय ५० रुपैयाँ प्रतिकिलो रहेको जिरा पाउडरको मुल्य मंगलवार देखि ५ सय रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ ।

दशैं तिहारका बेला बजारमा अत्यधिक माग हुने चिनीको मुल्य ६ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा प्रतिकिलो ८० रुपैयाँका दरले रहेको चिनीको मुल्य पछिल्लो समय ८५ रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको सरकारी तथ्यांक छ ।

सो अवधिमा गहुँको उपभोक्ता मुल्य ११ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१मा ४५ रुपैयाँ  प्रतिकिलो रहेको गहुँ मंगलवारयता ५० रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको छ ।

खुद्रा व्यवसायीहरुका अनुसार चाडपर्वका बेला बढीमात्रामा विक्री हुने मैदाको मुल्यमा २० प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा ५० रुपैयाँ प्रतिकिलोका दरले रहेको मैदाको मुल्य मंगलवारदेखि ६० रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको छ ।

त्यस्तै आटाको मुल्य पनि ठुलो अन्तरले वृद्धि भएको छ । जेठ ३१ र साउन २१ गतेको तुलनामा आटाको मुल्य २२ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा प्रतिकिलो ४५ रुपैयाँका दरले रहेको आटा मंगलवार ५५ रुपैयाँ प्रतिकिलो पुगेको तथ्याङ्क छ ।

त्यस्तै सुजीको मुल्यमा ८ प्रतिशतले वृद्धि हुँदै ६५ रुपैयाँ प्रतिकिलो पुगेको छ । यसअघि जेठ ३१ मा सुजीको मुल्य प्रतिकिलो ६० रुपैयाँ रहेको थियो ।

तथ्याङ्क अनुसार घ्यु, भटमास, चना लगायतका केही दैनिक उपभोग्य वस्तुको मुल्यमा गिरावट समेत आएको छ । चिनी, आटा, चामल लगायतका दैनिक उपभोग्य वस्तु भन्दा तुलनात्मक रुपमा कम खपत हुने वस्तुहरुको मुल्यमा २५ प्रतिशतसम्म गिरावट आएको छ ।

केही वस्तुहरुको मुल्य यथावत् रहेको समेत तथ्याङ्कमा उल्लेख गरिएको छ ।

के भन्छन् व्यवसायी?

नेपाल खुद्रा व्यापार संघले बजार अस्त व्यस्त रहेका कारण कुन वस्तुको मुल्य के कारणले बढ्यो भनेर एकिन भन्न सक्ने अवस्था नरहेको बताएको छ ।

संघका अध्यक्ष पवित्र बज्राचार्यले बजारमा अन्योलता रहेकाले एक आफुहरुको समस्या पहिचान गरी सरकारसँग छलफल गर्ने योजना संघको रहेको बताए । ‘मुल्य के कसरी बढ्यो, एकिन थाहा छैन । प्यान, भ्याट लगायतका कारणले पनि हुन सक्छ । यिनै कारणले बजार अन्योलमा छ’ उनले शुक्रवार लोकान्तरसँग भने, ‘आजै पनि असन बजार बन्द छ । अब अर्थ मन्त्रीसँगै बसेर छलफल गर्ने लगायतका कुराहरुमा संघको छलफल भएको छ ।’

चाडपर्व लक्षित अनुमगन गरिने

सरकारले चाडपर्वका बेलामा अस्वभाविक रुपमा मुल्य वृद्धि हुनेभएकाले बजार अनुमगनलाई तिब्र पारिने जानकारी दिएको छ ।

शुक्रवार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सातै प्रदेशका प्रतिनिधि र सबै महानगर तथा उपमहानगर प्रमुखहरुलाई बोलाएर छलफल गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले यस वर्ष चाडपर्वका बेला मुलुकमा सरकार रहेको अनुभुति हुनेगरी अनुमगन गर्न प्रदेश सरकार तथा स्थानीय सरकारलाई आग्रह गरे ।

व्यापारीहरुले मागको आधारमा मुल्य बढाइसकेको र त्यसको नियन्त्रण गर्न तीनै तहका सरकार मिलेर काम गर्नु पर्ने मन्त्री यादवले बताए । ‘चाडपर्व आयो कि भाउ बढाइ हाल्ने’ मन्त्री यादवले भने, ‘त्यसको कुनै कारण नै हुँदैन । माग बढ्यो कि बढाइ दिने, ।’

उनले तीन तहका सरकार मिलेर सहज आपुर्तिको व्यवस्था मिलाउनु पर्ने समेत बताए । ‘स्थानीय, प्रदेश र संघ सरकार मिलेर कसरी हुन्छ, जनतालाई कम्तीमा मुलुकमा सरकार भएको अनुभुति हुने गरी लागनु पर्छ’ उनले भने, ‘यो आदेश दियो भनेर नठान्नु । मेरो आग्रह हो, ।’

चाडपर्वमा व्यापारीले मुल्य बढाउन सक्ने भन्दै चाडपर्व लक्षित अनुगमन अभियानकै रुपमा गर्नुपर्नेमा मन्त्री यादवले जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्