
चीनका परराष्ट्रमन्त्री वाङ् ई नेपालको संक्षिप्त भ्रमणबाट फर्केको लगत्तै बेइजिङमा निजको मन्त्रालयले जारी गरेको वक्तव्यमा नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्प कमल दाहालसँगको भदौ २४ गतेको भेटघाटको चर्चा गरिएको छ । त्यसमा भेटवार्ताको क्रममा परराष्ट्रमन्त्री वाङ्ले चीन नेपालको चिरकालपर्यन्तको र विश्वासिलो मित्र भएको पृष्ठभूमि दर्शाउँदै ‘पेटी-सडक-पहल’ (बेल्ट एण्ड रोड इनिसिएटिभ) लाई गति दिन चीन इच्छुक रहेको कुरा उल्लेख गरेका थिए । यस कार्यमा नेपाली पक्षको सहभागिता रहने अपेक्षा पनि उनले दर्शाएका थिए ।
वाङ्ले नेपाल-चीन सम्बन्ध विकासको लागि यतिखेर ‘ऐतिहासिक अवसरहरू’ उपलब्ध भएको धारणा अघिसारेका छन् र यसमा नेपाल कम्युनिष्ट पार्टीले महत्वपूर्ण योगदान गर्नसक्ने तर्क दिएका छन् । ‘ऐतिहासिक अवसरहरू’ को व्याख्या त वक्तव्यमा गरिएको छैन तर वाङ्ले नेपालमा कम्युनिष्ट पार्टी सत्तामा पुगेको बखतलाई ‘ऐतिहासिक’ भनी इङ्गित गरेको बुझ्न गाह्रो पर्दैन । स्मरणीय छ, चीनमा सन् १९४९ यता सदैव कम्युनिष्ट पार्टी नै सत्तासीन रहने परिपाटी बसेको छ । तसर्थ त्यहाँको नेतृत्वले आफ्नो सिमाना जोडिएको देश नेपालमा कम्युनिष्ट बर्चस्व बढेकोमा प्रसन्नता जनाउनु आश्चर्यको कुरो भएन । सहअध्यक्ष दाहालले पनि विगत ७० वर्षमा चीनले कम्युनिष्ट नेतृत्वमा गरेको प्रगतिको प्रशंसा गरेको गरेको कुरा त्यस अभिलेखमा पारिएको छ ।
विवेच्य वक्तव्यको सिरानमा वाङ्का उद्गारको उल्लेख गरेपछि अर्को अनुच्छेदमा पुष्प कमल दाहाल ( ‘पुस्प’ लेखिने किसिमले अङ्ग्रेजी हिज्जेको प्रयोग भएको छ र क्रान्तिकारी जनाउन नेपालीमा जोड्ने गरिएको पुच्छ्रे नाम छैन ) ले वाङ्लाई नेपाल ‘एक चीन नीति’ लाई बोली र व्यवहार दुबै हिसाबले पालना गर्ने वचन दिएको कुरा जनाइएको छ । हङकङ चीनको घरेलु मामिला हो ; आतङ्कवाद विरुद्धको चीनको लडाञीलाई मानव अधिकारको नाममा अवरोध गर्नेहरूको नेपाल विरोध गर्दछ । आदि इत्यादि । त्यसपछि आउँछ दाहालको त्यस कथनको जसबारे अमेरिकीहरूले पनि चासो देखाएको भनिदै छ। त्यो हो--- नेपाल दृढताका साथ असंलग्नताको नीतिलाई पालना गर्दछ, तथाकथित ‘ईण्डो-प्यासिफिक’ रणनीतिप्रति असहमति जनाउँछ, र चीनको विकासलाई सीमित वा निष्कृय तुल्याउने क्रियाकलापको विरोध गर्दछ । अमेरिकी दूतावास, काठमाडौंले प्रवक्ता मार्फत् यस वक्तव्यप्रति आश्चर्य जनाउनुको कारण नेपालका नीतिगत अडानबारेका जानकारी बेइजिङबाट निस्कने वक्तव्यमा पाइनु हो भनेको देखिन्छ । यसबारे नेपालको परराष्ट्र मन्त्रालयले वस्तुस्थिति स्पष्ट गरिदेओस् भन्ने अमेरिकी अपेक्षा रहेछ ।
तर परराष्ट्रले भने यसबारे खास केही भनेको छैन, शायद भन्ने कुरा नभएको हुनाले नै मौन रहेको छ । प्रधानमन्त्री वा परराष्ट्रमन्त्री वा अन्य कुनै सरकारी पदाधिकारीले दिएका प्रतिकृया हुँदा हुन् त मन्त्रालयका प्रवक्ताको भनाइ आउँदो हो, तर राजनीतिक दलका नेताले दलीय कोणबाट दिइएका मन्तव्यबारे सरकारी निकायले के भन्ने ? भेनेजुएलाको प्रसङ्गमा पनि उस्तै परिस्थिति आइपरेको थियो यद्यपि त्यस बखतको वक्तव्यका कारण अमेरिकी दूतावासले दाहालको तय भइसकेको यात्रामा व्यवधान गरेन ।
सहअध्यक्ष दाहालका सहयोगी, कार्यकर्ताहरूमध्ये केहीले प्रेसमा प्रकट भएर भनेका छन् : वाङ्-दाहाल भेटमा दाहालले ती कुराहरूकै जानकारी गराएको हो जुन पार्टीको स्वीकृत नीतिमा पर्छन् । अनुवादका क्रममा तथाकथित इण्डो-प्यासिफिक अस्वीकार गर्छौं भन्ने अर्थ लागेको हुनसक्छ---यस्तो कथन पनि सहअध्यक्षको तर्फबाट प्रेसमा आएको छ । तर वास्तविकता के हो, यसै भन्न कठिन छ । किनभने वाङ्-दाहाल भेटमा संवादको भाषा अङ्ग्रेजी हुँदो हो, र बेइजिङको वक्तव्य पनि अङ्ग्रेजीमै छ । यसमा अनुवादको सन्दर्भ कसरी आयो !? (नेपाली र चिनीया भाषामा संवाद भएको हो भने दोभाषेले गोलमाल पारेछन् भन्नुपर्ने हुन्छ ।)
यथार्थमा, अनुवाद वा त्यससम्बन्धी जिरह-जिकीर सतही मात्र हुनसक्छ । खास कुरो माओवादी विद्रोह (२०५२-६२) का कमाण्डर दाहाललाई त्यस दशकमा भएका हत्या-हिंसाको लागि दोष खेप्नुपर्ने भन्ने भयले छट्पटीमा पारेको छ; तसर्थ त्यसबाट जोगिन चीनप्रति विशेष रूपले अनुगृहित हुने चाहना जागेको होला । चीन राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य र अमेरिकाको प्रतिद्वन्द्वी शक्तिशाली राष्ट्र हुनाले त्यहाँको संरक्षण पाइएला भन्ने अपेक्षा भएको होला । भेनेजुएलाको दाँजोमा चीनको प्रभाव कता हो कता निकै बढी छ । केही साताअघि कश्मीरबारे सुरक्षा परिषद्मा चीन पाकिस्तानको पक्षमा एक्लै भए पनि उभिएकै हो । नेपालमा माओवादी विद्रोहको क्रममा भएका घटनाको सत्यनिरूपण र बेपत्ता छानबीनका विषय अनिर्णित स्थितिमा छन्, र कतिपय सन्दर्भमा यी कुराले दाहाललाई विदेश भ्रमण गर्न समेत अप्ठ्यारो पारेका छन् ।
दाहालको यो छटपटाहट मनगढन्त मामिला होइन, कसैले बेतुकको अनुमान गरेको पनि मान्न मिल्दैन । किनभने दाहाल आफैंले केही साता अघि ‘हेग लगिए पनि मलाई फरक पर्नेवाला छैन...म झन् विश्वकै हिरो भएर निस्कन्छु’ भनेर दिएको अभिव्यक्ति जनताको स्मृतिपटलमा ताजै छ । मानवता विरुद्धको अपराध गर्नेहरूलाई पुर्पक्ष गर्ने अन्तर्राष्ट्रिय अदालत रहेको ठाउँ हेग भएको तथ्य जगजाहेर छ । ( यो नेदरल्याण्डस्को एक शहर हो ।) "तर मलाई लाग्दैन तिनीहरूले लान्छन् र विश्वको हिरो बनाउँछन्," भन्ने दाहालको कथनलाई सिधा अर्थमा बुझ्नु गलत हुन्छ । यो माओवादी कमाण्डरले ख्याति कमाउने भयो भनेर त्यो अवसर नदिन ‘तिनीहरू’ अग्रसर होउन् र फलस्वरुप आफूले हेग जानु नपरोस् भन्ने दाहालको खास अभिप्राय हुनुपर्छ । किनभने दाहाल नेपाली सेनाका कुमार लामाको घटनाबारे बेखबर नभए झैं जेनेभाको मानव अधिकार परिषद् पनि नेपालबारे अनभिज्ञ छैन । लाग्छ, दाहाललाई बेला-बेलामा दु:स्वप्नले लखेटिरहन्छ । कुनै बेला दाहालको कथन हुन्थ्यो: मलाई श्रीलङ्काको प्रभाकरण बनाउने तयारी गर्दैछन् । नेत्रविक्रम चन्द (विप्लव) को समूहका मानिसबाट पो आफू मारिन्छु कि भन्ने आशङ्काबारे पनि दाहालको भाषण जनसाधारणले सुनिसकेका छन् ।
सहअध्यक्ष दाहालको सुरक्षा पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पनि चिन्ता र सरोकारको विषय हुनुपर्छ । अनि, हालका गृहमन्त्री साविकमा दाहालकै निकटस्थ माओवादी कमरेड भएको तथ्य कसैबाट लुकेको छैन । तसर्थ दाहालको यथोचित हेरचाह भएकै होला । सर्वाधिक महत्वको बुँदा हो, सत्यनिरुपण र बेपत्तासम्बन्धी मुद्दाहरूको टुङ्गो यथासक्य छिटो हुनुपर्छ र त्यसको लागि माओवादी विद्रोहका निर्देशक र चश्मदीद साक्षीको सकृय उपस्थिति निर्णायक हुनजान्छ । हो, हत्केलाले सूर्यलाई छेक्न सकिंदैन ।