
जनकपुरधाम – विजया दशमीको अवसरमा जनकपुरधामका विभिन्न पूजास्थल, मन्दिर तथा शक्तिपीठलाई भव्य तरिकाले सिँगारिदै छ ।
विजया दशमीमा विदेशी पर्यटकलाई समेत आकर्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष जनकपुरधाममा पण्डाल निर्माण गरेर सजाउने गरिएको छ ।
विजया दशमीको अवसरमा जनकपुरधाममा रहेका शक्तिपीठमा बिहानदेखि बेलुकासम्म पूजापाठ गर्ने श्रद्धालु भक्तजनको भीडभाड बढेको छ । आध्यात्मिक शहरको रुपमा परिचित जनकपुरधाम फेरी अध्यात्ममय बनेको छ ।
विजया दशमीको अवसरमा जनकपुरका प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, अमरखाना मन्दिर, बौधिमाई मन्दिरसहित विभिन्न चोकमा मूर्ति बनाएर दूर्गा पूजा गर्ने गरिएको छ ।
दूर्गा पूजाका लागि विभिन्न मन्दिर तथा पूजास्थललाई भव्य रुपमा सजाइएको छ । जनकपुरका स्थानीय युवा क्लबले व्यवस्थापन गर्ने गरेको ती पूजास्थलमा आकर्षक पण्डाल लगाएर सजाउने गरिएको छ । राम मन्दिरमा मेला समेत लगाइएको छ ।

राम युवा कमिटी र महावीर युवा कमिटीले राजदेवी मन्दिरलाई अत्यन्तै आकर्षक ढंगले सजाएका छन् । आकर्षक प्रवेशद्वारसहित राजदेवी मन्दिरको भित्रि परिसरमा समेत साजसज्जा गरिएको छ ।
विद्यापति युवा क्लबले जनकपुरको विद्यापति चोकमा, रामानन्द युवा क्लबले रामानन्द चोकमा दूर्गाको मूर्ति बनाएर पूजा गर्ने गरेका छन् । ती स्थलमा समेत आकर्षक पण्डाल निर्माण गरिएको छ । विजया दशमीको छुट्टै पहिचान समेत जनकपुरले बनाएको छ । सप्तमी दिनदेखि जनकपुरधाममा तीर्थालुको भीड बढ्ने गरेको हुन्छ ।
जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका मन्दिरमा समेत मूर्ति बनाएर दूर्गा पूजा गर्ने गरिएको छ ।
हेर्नुस् सिँगारिएको जनकपुरधामको सुन्दर दृश्य –















