
काठमाडौं– नेपाल देश गरीब देश भनेर के गर्नु, काठमाडौंका सडकमा विश्वका महंगा–महंगा कार देखिन थालेका छन् ।
नेपालीको प्रतिव्यक्ति आय औसत वार्षिक १३ सय डलर मात्र भएपनि राजधानी काठमाडौंमा विश्व बिख्यात तथा करोडौं मूल्य पर्ने कार देख्न थालिएको छ ।
बीएमडब्लू, ल्याण्डक्रुजर, ल्याण्डरोभर र मर्सिडिज बेञ्चजस्ता महंगा कार देखिने काठमाडौंको सडकमा अवन्ती कारकोे प्रवेश भएको छ ।
दशैंका कारण सडकमा गाडीको चाप एकदमै कम भएको अवस्थामा राजधानीको सडकमा यो कार गुड्दा धेरैले नोटिस गरिरहेका थिए ।

अवन्ती अमेरिकन कम्पनीले उत्पादन गरेको कार हो । सन् १९६२ देखि यो कारको व्यवसायिक उत्पादन शुरू गरिएको हो ।
कम्पनीका अनुसार यो कारको क्षमता २ हजार सीसी छ । नेपालमा बिक्री हुने अधिकांश कार ८ सयदेखि १५ सय सीसीसम्मका छन् ।
भारतीय अटो कम्पनीका अनुसार डीसी अवन्तीको न्यूनतम मूल्य भारतमा ४२ लाख ५४ हजार छ । मोडल र विशेषताका कारण कारको मूल्य बढी हुन्छ ।

भारतबाट नेपाल आउने कारमा २ सय ४० प्रतिशतसम्म कर लाग्ने गर्छ । सामान्य हिसाब गर्दापनि यसको मूल्य नेपालमा २ करोड ३१ लाखभन्दा बढी पर्छ ।
अटोमोबाइल्स क्षेत्रका जानकारहरूका अनुसार यसअघि नेपालमा अवन्ती कार देखिएको थिएन । बा २० च १ नम्बरको गाडी बुधवार माइतीघर मण्डलामा एक फन्को लागेको देखियो ।
‘स्पोर्टस कार’को ग्राउण्ड क्लियरेन्स भने कम नै छ । खाल्डाखुल्डी बढी हुने नेपाली सडक यस्ता कारका लागि खासै उपयुक्त भने देखिँदैन ।
जागर कम्पनीको गाडी नेपालमा आउदा पनि चर्चा भएको थियो ।
उसो त नेपालमा मोटरसाइकल पनि आवश्यकताभन्दा शोखको विषय बन्न पुगेको छ ।
गत महिना काठमाडौंमा चलेको नाडा अटो शोमा हार्ली डेभिन्सनका ५० लाख बढीका मोटरसाइकल बेच्न राखिएको थियो ।