काठमाडौं, २२ चैत– ड्रिलिङ मेसिन अभावमा मेलम्ची खानेपानी आयोजनाका लागि सुरुङ खन्ने काम प्रभावित भएको छ । जमिनमुनि सुरुङ खन्न अत्याधुनिक मेसिन नहुँदा आयोजनाका लागि सुरुङ खन्ने कामको प्रगति सुस्त देखिएको छ ।
खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम उपाध्यायले साविकका उपकरणले कमजोर चट्टानी क्षेत्रमा सुरुङ खन्न अप्ठ्यारो भइरहेको बताए । ‘अहिले सिन्धु –ग्याल्थुम खण्डमा सुरुङ खन्ने काम चलिरहेको छ,’ उचिव उपाध्यायले भने, ‘तर, उक्त खण्डमा कमजोर र लेदोयुक्त चट्टान देखिएकाले साविकको उपकरणले काम गर्न अप्ठ्यारो भइरहेको छ ।’
उनका अनुसार उक्त खण्डको झण्डै १ किलोमिटर खण्डमा लेदोयुक्त चट्टान देखिएको छ ।
हाल दैनिक १५ देखि २० मिटरसम्म सुरुङ खनिएको आयोजनाले बताएको छ । छिटो काम गर्नका लागि अत्याधुनिक ड्रिलिङ उपकरण नहुँदा अप्ठ्यारो भइरहेको मन्त्रालयले बताएको छ ।
उपकरण किन्न मन्त्रालयले दियो ३० करोडमन्त्रालयका सचिव उपाध्यायले उपकरण खरिदका लागि ठेकेदार कम्पनीलाई ३० करोड रुपैयाँ भुक्तानी दिइएको बताए । झण्डै २ साताअघि उपकरण खरिदका लागि पेस्कीस्वरुप उक्त रकम ठेकेदार कम्पनीको खातामा जम्मा गरिदिएको उनले बताए । मन्त्रालयले कम्पनीलाई उक्त रकम दिने निर्णय करीव डेढ महिनाअघि नै गरेको थियो ।
ठेकेदार कम्पनीले हाल उपकरण खरिदको प्रक्रिया अघि बढाइसकेको र केही समयभित्रै उपकरण आयात भइसक्ने उनले बताए ।
‘ठेकेदार कम्पनीसँग खर्च गर्न बजेट नहुँदा काम सुस्त भएकाले रकम अभावका कारण काम प्रभावित नहोस् भनेर त्यसको उचित व्यवस्थापन गरेका छौं,’ सचिव उपाध्यायले भने । कम्पनीसँग बजेट लगायतका विषयमा यसअघि नै सहमति भएर काम अघि बढाए पनि तत्काललाई खर्च गर्नका लागि रकम अभावको समस्या देखिएकाले त्यसको सम्बोधन गरिएको उनले बताए ।
उपकरण आएपछि दोब्बर सुरुङ खनिने मन्त्रालयका सचिव उपाध्यायका अनुसार अत्याधुनिक उपकरण आएपछि सुरुङ निर्माण दोब्बरको अनुपातमा बढ्नेछ । उक्त उपकरण आएपछि दैनिक झण्डै ३० मिटरको दरमा सुरुङ खन्न सकिने उनले बताए । ठेकेदार कम्पनीसँग त्यसको सहमतिसमेत भइसकेको उनले बताए ।
कति खनियो सुरुङ ?
आयोजनाका अनुसार मेलम्चीको सुरुङ खन्ने काम अब ४ किलोमिटर बाँकी छ । आयोजना सम्पन्न गर्न खन्नुपर्ने कुल सुरुङको लम्बाई २७ किलोमिटरमध्ये हालसम्म झण्डै २३ किलोमिटर सुरुङ खनिसकिएको आयोजनाले जनाएको छ ।
असोजसम्म जसरी पनि पानी आउँछमन्त्रालयका सचिव उपाध्याय आगामी दशैंसम्म जसरी पनि मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने प्रतिवद्वता व्यक्त गर्छन । ‘कतिपयलाई असोजसम्म मेलम्ची आउँदैन कि भन्ने चिन्ता छ,’ उनले भने, ‘तर, निर्धारित समयमा जसरी पनि पानी आउँछ ।’
इटालियन कम्पनी को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)ले आगामी डिसेम्बरसम्म मेलम्चीका लागि उक्त सुरुङ खन्ने प्रतिवद्वता जनाइसकेको छ । सरकारले बाँकी सुरुङ खन्न सिएमसीसँग सन् २०१३ जुलाई १५ मा सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार सन् २०१६ अक्टुबरसम्म सुरुङ सम्पन्न गरिसक्नुपर्ने भएपनि भूकम्प र नाकाबन्दीका कारण आयोजनाको समयावधि १ वर्ष थप गरिएको थियो ।