२४ असार २०८३, बुधबार

सम्झनामा बाल्यकालको त्यो दशैंतिहार

कात्तिक ९, २०७६
सम्झनामा बाल्यकालको त्यो दशैंतिहार

व्यस्त जीवनमा मान्छेलाई पुराना दिनका सम्झनामा घोत्लिएर तिनको लेखाजोखा गर्दै विगतका रमाइला पल सम्झिदै फुर्सद खासै हुँदैन । म पनि खुशीका क्षणमा पुल्कित हुने र तीता क्षणलाई धिकार्दै बस्ने स्वभावको मान्छे होइन ।

तर कहिलेकाहीँ पुराना स्मरणको चित्र हाम्रो मानसपटलमा यति ताजा भएर आउँछन् कि लाग्छ – साँच्चै मानव मस्तिष्कको संग्रह पनि बडा व्यवस्थित तवरको नै हुन्छ कि ? 

दशैंतिहारको माहोल आउँदा हरेक वर्ष पुराना दिनको सम्झना झल्झली मनमा आउँछ । थोरै समय खर्चेर भएपनि विगतमा विचरण गर्न कर लाग्दछ । 

आजभोलि र विगतका दशैंतिहारलाई तुलना गर्ने हो भने विगतका दिनका दशैंतिहार नै धेरै हिसाबले उत्कृष्ट र रमाइला थिए । मेरो विश्लेषणमा पुराना दशैंतिहारका दिनलाई सम्झनुपर्ने प्रमुख १० कारण यी हुन् –

१. दशैंतिहार आइसकेको संकेत सयपत्री र सुपारी फूलहरूको मगमगी सुगन्धले दिन्थे । न कि म्यासेन्जरको इनबक्समा आउने ताइ न तुइका ‘ह्याप्पी दशैं’का फरवार्डेड म्यासेजले ।

२. दशैंतिहार भनेपछि सबै परिवारका सदस्यको रमाइलो जमघटमा घण्टौं गफिनुको छुट्टै मज्जा हुन्थ्यो । आजभोलिको जस्तो सबैजना एउटै कोठामा भएपनि सबैका आँखा मोबाइल स्क्रिनमा र औला टचप्याडमा कुदिरहनुपर्ने बाध्यात्मक अवस्था किमार्थ हुँदैनथ्यो ।

३. दशैंतिहारमा नयाँ एकजोर लुगा लगाउन पाइने आशामा महिनौं अघिदेखि मन बडा हर्षित भएर आउँथ्यो । बुवाको पछिपछि लागेर १५–२० मिनेटमा लुगाको किनमेल सकाइन्थ्यो, न कि घण्टौं खर्चेर ठूल्ठूला मल चहारिन्थ्यो ।

४. दशैंतिहारमा टीका थाप्दा मान्छेको ध्यान केवल टीका र जमरामा हुन्थ्यो, न कि सेल्फी र बेल्फीका लागि पोज दिनतर्फ । त्यतिबेला खुशी १००/२०० रुपैयाँ दक्षिणा पाउँदा हुन्थ्यो, न कि बढी लाइक र कमेन्ट बटुल्ने फोटो कैद गर्न सफल भएकोमा ।

५. सानो साथी सञ्जालमा भैलो देउसी खेलिन्थ्यो विशुद्ध मनोरञ्जनका लागि, न कि आजभोलिको जस्तो योजनावद्ध र स्वार्थप्रेरित रुपमा ठूलो कोष खडा गर्ने, दह्रो भोजभतेर र पिकनिक आयोजनको लागि ।

६. तिहारताका १/२ दिन घरमै बसेर दाजुभाइसँग रमाइलोका लागि जुटपत्ति खेलिन्थ्यो, न कि पूरै जुवाडेझै लाखौं रुपैयाँसहित जुवामा आफ्नो भाग्य र पुरुषार्थ प्रदर्शन गर्न उद्दत भइन्थ्यो ।

७. दशैंतिहारमा घरको सेलरोटी र मासुभातको स्वादमा परमानन्द महसूस गरिन्थ्यो, न कि २/४ जनालाई निम्तो गरी बर्गर पिज्जासहित ‘सोमरस पान’ गर्न आकर्षक क्याफे चहार्ने जाँगर चलाइन्थ्यो ।

८. लक्ष्मी पूजाको दिन साँझ २/४ मैनबत्ती घरको वरिपरि बालेर पूजा कोठामा स–परिवार लक्ष्मीअर्चना गरिन्थ्यो, न कि आजभोलि जस्तो छिमेकीभन्दा आफ्नो घरआँगन ज्यादा ज्वाजल्यमान बनाउने स्पर्धामा ‘ग्ल्यामरस दीपावली लाईटिङ’मा दिल खोलेर खर्च गरिन्थ्यो ।

९. भाइटीकाको दिन दिदीहरूबाट माला लगाइसकेपछि घण्टौं माला फुकालिन्नथ्यो, अर्काको घाँटीमा भन्दा आफ्नोमा बढी मालाको भारी भएकोमा दिनभरि बडा गर्वले छाति फुलाइन्थ्यो, न कि आजभोलि जस्तो माला लगाउना साथ फुकालेर जुवाँको कुनै खालमा आशन जमाउन कुदिन्थ्यो ।

१०. दशैंतिहारको दक्षिणाको पैसाले आफूलाई मनपर्ने स्कूल झोला वा नोट–डायरी किन्न स्टेसनरी चहारिन्थ्यो, न कि महंगो ब्राण्डको सेलफोनको नयाँ मोडेलको खोजीमा मोबाइल ग्यालरी ।

(लेखक अध्ययनका सिलसिलामा हाल जापानको हिरोसिमा विश्वविद्यालयमा छन् ।)

salt training

कमेन्ट गर्नुहोस्