१८ असार २०८३, बिहीबार

२०७५ सालको एलएलबीको भर्ना प्रक्रिया फुकुवा

मंसिर १०, २०७६
२०७५ सालको एलएलबीको भर्ना प्रक्रिया फुकुवा

त्रिभुवन विश्वविद्यायलअन्तर्गत नेपाल ल क्याम्पसले शैक्षिक सत्र २०७५/०७८ को लागि स्नातक तह प्रथम वर्ष (एलएलबी) को रोकिएको भर्ना प्रक्रिया शुरू गरेको छ । 

सर्वोच्च अदालतको आदेश र त्रिवि कार्यकारी परिषद्ले कोटा तोकेर भर्ना प्रक्रिया गर्न निर्देशन दिएपछि क्याम्पसले भर्ना शुरू गरेको क्याम्पस प्रमुख डा. डिनानाथ पराजुलीले जानकारी दिए ।

करीब ८ महिनापछि पुनः क्याम्पसले भर्ना प्रक्रिया शुरू गरेको हो । 

‘रोकिएको भर्ना प्रक्रियामा सर्वोच्च अदालतले कोटा प्रणाली निर्धारण गरेर भर्ना प्रक्रिया शुरू गर्न आदेश दिएको र त्यही आदेशलाई टेकेर कार्यकारी परिषद्ले कोटा निर्धारण गरी पत्र पठाएपछि भर्ना प्रक्रिया शुरू गरिएको हो,’ उनले भने, ‘सर्वोच्चको आदेश र कार्यकारीको निर्णयअनुसार यसपटक क्याम्पसले शैक्षिक सत्र २०७५/०७८ का लागि ३०० विद्यार्थी मात्र भर्ना गर्ने छौं ।’

त्रिवि कार्यकारी परिषद्ले कात्तिक २४ गते ल क्याम्पसलाई पत्र पठाउँदै ३०० मा २४० खुला र ६० समावेशी कोटामा भर्ना गर्न निर्देशन दिएको हो । अघिल्लो वर्ष चैतमा भर्नाका लागि प्रक्रिया थालेपनि विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाउने र सर्वोच्चमा रिट दायर भएपछि रोकिएको थियो । 

यसअघि पनि ३०० कोटा तोकी भर्ना प्रक्रियाका लागि आवेदन फाराम विवरण भइरहेका बेला विद्यार्थी संगठनले ताला लगाएका थिए । तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी)ले कोटा प्रणालीको खारेजीको माग गर्दै ताला लगाएका थिए ।

गत वर्ष चैतमा भर्नाका लागि आवेदन माग गरिएकोमा करीब २ हजार ५०० विद्यार्थीले फाराम भरेको क्याम्पस प्रमुख डा. पराजुलीले जानकारी दिए । उनले अघिल्लो वर्ष भर्नाका लागि फाराम भरेका विद्यार्थीलाई पनि प्रवेश परीक्षामा सहभागी गराउने बताए । नयाँ विद्यार्थी भर्नाका लागि क्याम्पसले मंसिर १० देखि २५ गतेसम्म आवेदन फाराम वितरण गर्ने भएको छ । प्रवेश परीक्षामा मेरिट लिस्टको आधारमा सबभन्दा बढी अंक ल्याउने विद्यार्थीले मात्र अध्ययन गर्न पाउने छन् । 

पछिल्लो समयमा एलएलबी पढ्ने विद्यार्थीको आकर्षण भएदेखि क्याम्पसमा विद्यार्थीको संख्या बढेको छ । शैक्षिक सत्र २०७४/०७७ का लागि पनि क्याम्पसले ८००  भर्ना गर्ने भने तापनि पछि विद्यार्थी संगठनको दबाबका कारण करीब १० हजार ८०० विद्यार्थी भर्ना गरेको थियो ।

अनेरास्ववियूका क्याम्पस एकाइ अध्यक्ष हरि पङ्गेनीले कोटा प्रणाली नभई प्रवेश परीक्षामा उत्तीर्ण सबै विद्यार्थीलाई भर्ना गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्