
प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त पदहरूमा पदपूर्तिका लागि यही मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा प्रमुख सत्तारुढ दल नेकपा हावी देखिएको छ, यद्यपि उसले केही महत्त्वपूर्ण स्थानमा कांग्रेसलाई नतिजा सुम्पिएको छ ।
५२ पदका लागि भएको निर्वाचनमा नेकपाले ३०, कांग्रेसले १३, समाजवादी पार्टीले ४, राजपाले ३, राष्ट्रिय जनमोर्चा (वाम गठबन्धन)ले १ र स्वतन्त्र (नेकपा बागी)ले १ स्थानमा जीत हात पारेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिसकेको विज्ञप्तिमार्फत जनाएको छ ।
रिक्त ५२ स्थानमा अघिल्लोपटक नेकपाले २८ र कांग्रेसले १४ स्थानमा जीत हात पारेका थिए । संख्यात्मकरूपमा हेर्दा यसपटक नेकपाले २ पद फाइदा गर्दा कांग्रेसले १ स्थान गुमाएको देखिएपनि गुणत्मकरूपमा भने नेकपाले घाटा व्यहोरेको छ ।
५२ मध्ये २३ स्थानको नतिजा यसपटक अर्को पार्टीको पोल्टामा गएको देखिन्छ ।
भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर (१) र धरान उपमहानगरपालिका प्रमुखमा व्यहोरेको हार नेकपाका लागि निकै निराशाजनक छ । यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नम्बर १६ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला स्थित घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष पदमा व्यहोरेको पराजय पनि सांकेतिक रूपमा नेकपालाई ठूलै पाठ बनेको छ ।
अघिल्लोपटक तत्कालीन एमाले उम्मेदवारले जितेका यी सबै स्थानमा यसपटक कांग्रेसले बाजी मारेको छ ।
१९ स्थानमा साख जोगाएको नेकपाले ११ पद खोस्यो
यसपटक प्रतिनिधि सभामा १, प्रदेश सभामा १, गाउँपालिका अध्यक्षमा १ र वडाध्यक्षमा १६ गरी १९ स्थानमा साख जोगाएको नेकपाले कांग्रेसले पहिला जितेका ९ पद आफ्नो पोल्टामा पारेको छ, जसमा एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ७ वडाध्यक्ष छन् ।
नेकपाले राजपाबाट एक गाउँपालिका अध्यक्ष र विप्लव निकट स्वतन्त्र उम्मेदवारले जितेको एक वडामा पनि नतिजा आफ्नो पक्षमा पारेको छ ।
त्यसो त उसले एक प्रदेश सभा सदस्य, एक उपमहानगर प्रमुख र ६ वटा वडा कांग्रेस तथा एउटा वडा समाजवादी पार्टीलाई सुम्पिएको छ ।
चार्ट हेर्नुहोस्, नेकपाको जीतको गणित:

कांग्रेसले गुमाएर नेकपाले जितेका
१. फाल्गुनन्द गाउँपालिका, पाँचथर (अध्यक्ष)
२. खार्पुनाथ गाउँपालिका, हुम्ला (उपाध्यक्ष)
वडाध्यक्षहरू:
३. मेल्लेख गाउँपालिका– ५ अछाम (वडाध्यक्ष)
४. त्रिवेणी गाउँपालिका– १ बाजुरा (वडाध्यक्ष)
५. कोहलपुर नगरपालिका– ६ बाँके (वडाध्यक्ष)
६. ईन्द्रावती गाउँपालिका – ८ सिन्धुपाल्चोक (वडाध्यक्ष)
७. कल्याणपुर नगरपालिका– १२ सिरहा (वडाध्यक्ष)
८. पौवादुङ्मा गाउँपालिका– १ भोजपुर (वडाध्यक्ष)
९. फिदिम नगरपालिका– १, पाँचथर (वडाध्यक्ष)
राजपाले गुमाएर नेकपा
१. पिपरा गाउँपालिका, अध्यक्ष (महोत्तरी)
स्वतन्त्र (विप्लव निकट)ले गुमाएर नेकपा
१. थवाङ गाउँपालिका– १ रोल्पा (वडाध्यक्ष)
नेकपाले साख जोगाएका स्थान
१. कास्की क्षेत्र नं. २ (प्रतिनिधि सभा)
२. दाङ क्षेत्र नं. ३ (२) (प्रदेश सभा)
३. मकालु गाउँपालिका, संखुवासभा (अध्यक्ष)
वडाध्यक्षहरू:
४. धरान उपमहानगरपालिका– ७, सुनसरी (वडाध्यक्ष)
५. पुर्चौडी नगरपालिका– ४, बैतडी (वडाध्यक्ष)
६. पुनर्वास नगरपालिका – ३, कञ्चनपुर (वडाध्यक्ष)
७. आदर्श गाउँपालिका– २, डोटी (वडाध्यक्ष)
८. कुमाख गाउँपालिका– ५, सल्यान (वडाध्यक्ष)
९. प्यूठान नगरपालिका– २, प्यूठान (वडाध्यक्ष)
१०. ऐरावती गाउँपालिका– १ प्यूठान (वडाध्यक्ष)
११. रुरु गाउँपालिका– ६ गुल्मी (वडाध्यक्ष)
१२. बौदीकाली गाउँपालिका– ५ नवलपुर (वडाध्यक्ष)
१३. सुन्दरबजार नगरपालिका – २ लमजुङ (वडाध्यक्ष)
१४. बडिगाड गाउँपालिका– २ बाग्लुङ (वडाध्यक्ष)
१५. दक्षिणकाली नगरपालिका– ३ काठमाडौं (वडाध्यक्ष)
१६. धुलिखेल नगरपालिका – २ काभ्रेपलाञ्चोक (वडाध्यक्ष)
१७. उमाकुण्ड गाउँपालिका– ५ रामेछाप (वडाध्यक्ष)
१८. साकेला गाउँपालिका– ३ खोटाङ (वडाध्यक्ष)
१९. खाँदबारी नगरपालिका– ३, संखुवासभा (वडाध्यक्ष)
वाम गठबन्धनका बागी नेकपा नेताले जितेको (पहिला राजमो)
१. ऐरावती गाउँपालिका– २ प्यूठान (वडाध्यक्ष)
****
अधिकांशमा कांग्रेसले जोगाउन सकेन साख
नेकपालाई गतिलै झट्का दिने गरी केही महत्त्वपूर्ण स्थानमा जीत हात पारेको कांग्रेसले आफूले पहिले जितेका अधिकांश क्षेत्र जोगाउन नसकेको देखिएको छ ।
कांग्रेसले यसपटक जितेकामध्ये ४ वटा वडामा मात्र साख जोगिएको छ, बाँकी सबै अन्यले जितेका क्षेत्रमा नतिजा उल्ट्याएको हो ।
कांग्रेसले नेकपाबाट एक प्रदेश सभा सदस्य, एक उपमहानगर प्रमुख र ६ वडाध्यक्षको नतिजा खोस्दा नेकपालाई एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ७ वडाध्यक्ष सुम्पिएको छ ।
चार्टमा हेर्नुहोस्, कांग्रेसको जीतको गणित :

नेकपाले गुमाएर कांग्रेसले जितेका ८ स्थान
१. भक्तपुर निर्वाचन क्षेत्र १ प्रदेश सभा (१) (कांग्रेस विजयी)
२. धरान उपमहानगरपालिका, सुनसरी, प्रमुख (कांग्रेस विजयी)
वडाध्यक्षहरूः
३. भरतपुर महानगरपालिका– १६, चितवन (कांग्रेस विजयी)
४. घोराही उपमहानगरपालिका– १६, दाङ (कांग्रेस विजयी)
५. दोगडाकेदार गाउँपालिका– ४, बैतडी (कांग्रेस विजयी)
६. धनपालथान गाउँपालिका– २, मोरङ (कांग्रेस विजयी)
७. हिलिहाङ गाउँपालिका– ७, पाँचथर (कांग्रेस विजयी)
८. मालारानी गाउँपालिका– ३ अर्घाखाँची (कांग्रेस विजयी)
राजपाबाट कांग्रेस
१. गढीमाई नगरपालिका– २, रौतहट
कांग्रेसले साख जोगाएका स्थान
१. सूर्यना गाउँपालिका– १, बैतडी (वडाध्यक्ष)
२. खैरहनी नरपालिका– ४, चिवतन (वडाध्यक्ष)
३. खैरहनी नरपालिका– ५, चिवतन (वडाध्यक्ष)
४. बलवा नगरपालिका– २ महोत्तरी (वडाध्यक्ष)
****
मधेशी दलतर्फ समाजवादी पार्टीले ४ र राजपाले ३ वटा वडामा जीत हात पारेका छन् । समाजवादी पार्टीले २ स्थानमा साख जोगाउँदा एक–एक वडा नेकपा र कांग्रेससँग खोसेको छ भने गाउँपालिका अध्यक्ष नेकपालाई सुम्पिएको राजपाले २ वडामा साख जोगाएर एक वडा बोनसमा प्राप्त गरेको छ । पहिला स्वतन्त्र उम्मेदवारले जितेको उक्त वडा यसपटक राजपाले जितेको हो ।
समाजवादी पार्टी
१. सखुवा प्रसौनी गाउँपालिका– ५ पर्सा (साख जोगाएको)
२. बारागढी गाउँपालिका– १ बारा (पहिला कांग्रेस)
३. हरिपूर्वा नगरपालिका– १ सर्लाही (पहिला एमाले)
४. बलवा नगरपालिका– ८ महोत्तरी (साख जोगाएको)
राष्ट्रिय जनता पार्टी (राजपा)
१. मटिहानी नगरपालिका– ६ महोत्तरी (साख जोगाएको)
२. छिन्नमस्ता गाउँपालिका– ७ सप्तरी (साख जोगाएको)
३. शिवराज नगरपालिका– १० कपिलवस्तु (पहिला स्वतन्त्र)
यसका अलावा नेकपाको सहयोगमा बाग्लुङमा प्रदेश सभा सदस्य सीट राष्ट्रिय जनमोर्चा उम्मेदवारले जितेका छन् भने प्यूठानमा एउटा वडा नेकपाले राजमोलाई छाडे पनि नेकपाका बागी उम्मेदवारले बाजी मारेका छन् ।