१९ असार २०८३, शुक्रबार

गौरव न्यौपाने भन्छन्– 'नेपालीको ससुराली होइन पोर्चुगल, हिम्मत नभए सडकमा पनि सुत्नुपर्छ'

मंसिर १८, २०७६
गौरव न्यौपाने भन्छन्– 'नेपालीको ससुराली होइन पोर्चुगल, हिम्मत नभए सडकमा पनि सुत्नुपर्छ'

भक्तपुरका रैथाने गौरव न्यौपाने विगत १० वर्षदेखि पोर्चुगल बस्दै आइरहेका छन् । आफू राप्रपा नेपालको समर्थक भएपनि कमल थापाको राजनीति गर्ने तरिका सही नभएको उनको दाबी छ । कमल थापाको मात्र हैन नेपालका सबै पार्टीका नेताको राजनीति गर्ने तरिका सही नभएको उनी बताउँछन् । युवाहरू विदेश पलायन हुनुमा देशको राजनीति स्थिर नहुनु र रोजगारीको भरपर्दो व्यवस्था नहुनु मुख्य कारण रहेको उनको तर्क छ । 

आफू एक व्यक्तिले धेरै थोक गर्न नसकेपनि पोर्चुगलमा रहेका हरेक नेपालीको दु:ख–सुखमा साथ दिँदै आएका गौरव हाससालै पोर्चुगलको सडकमा नेपालीहरू सुतिरहेको खबर सार्वजानिक भएपछि चिन्तित बने । यही चिन्ताको विषयमा गौरव न्यौपाने समक्ष लोकान्तरका लागि स्तम्भकार दिलनिशानी मगरले केही प्रश्नहरू सोधेका छन्:

पोर्चुगलमा नेपालीहरू सकडकमा सुतिरहेका छन् भन्ने सुनियो- यस्तो सुन्दा तपाईंलाई दु:ख लागेन?

पोर्चुगलमा हजारौं नेपाली छन्, तीमध्ये कुनचाहिँ नेपाली त्यसरी सडकमा सुतिरहेको हो त्यो मैले पनि पत्ता लगाउन सकिरहेको छैन । यो जाडोमा होमलेस नै भएर सडकमा सुत्नुपरेको हो कि दारुपानी चढाएर सुतेको हो त्यो यकिन हुन सकेको छैन । तर मेरो विचारमा होमलेस, जबलेस भएर कोही नेपाली यसरी सडकमा सुत्नुपरेको छैन जस्तो लाग्छ । 

भनेपछि कोही पनि नेपाली पोर्चुगलको सडकमा सुत्नुपरेको छैन ? 

हो बरु काममा दु:ख होला, भाषा ईत्यादिका कारण । तलब पनि सोचे अनुरूप छैन । सिजन र अफसिजनमा काम पाउने/नपाउने कुरा हो । नेपालमा धेरै खर्च गरेक आउने तर यहाँ आएपछि सोचे अनुरूप पैसा कमाई नहुने पक्का हो । तर केही वर्षमै रेसिडिन्सी मिल्ने भएका कारण फाइदा पनि त छन् ।

पोर्चुगलना मुलत: कागजका लागि नेपालीहरू आउँछन् । धेरै मानिस यसरी आउँदा काम नपाइने र पाइएपनि श्रमको मूल्य कम हुने त पक्का हो । जे होस्, सडकमै सुत्ने स्थिति त मैले देखेको छैन । 

मुख्य समस्या के हो त उसो भए ? 

मुख्य कुरा संघर्ष गर्न डराउन हुँदैन । एकैपटक ग्वाम्म खोजेर पनि हुँदैन । हेर्नुहोस्, म राजनीति जान्दिनँ । कुरा भनेको डाइरेक्ट गर्छु घुमाइफिराइ पनि जान्दिनँ । अब म यहाँ बसेको दश वर्ष भैसक्यो । शुरूका दिनमा मैले पनि धेरै संघर्ष गरे । दु:ख गरे । फरक भाषा, फरक हावापानी, फरक भूगोल र फरक–फरक मानिसहरूसँगको सम्पर्क-सम्बन्ध गर्नुपर्छ यसकारण विदेश सजिलो कुरा हैन । कम्तिमा म कहाँ छु भन्नेबारे बेसिक नलेज त राख्नुपर्‍यो नि यार ! 

पोर्चुगलको सडकमा नेपालीले रात बिताउनुपर्ने अवस्था नै छैन त ?

कुलतमा फसेका, नशाले थिचिसकेका केही नेपालीहरू कहिलेकाहीँ पैसा माग्दै हिँडेको मैले पनि देखेको थिएँ । हमीले उनीहरूलाई पैसा उठाएर टिकट काटेर घर पठाउन खोज्छौं तर अन्तिममा आएर उनीहरू भागिहाल्छन् ।

अब कसको दोष यो ? विदेशमा काम नगरे खान त कहाँ पाक्षइन्छ र ? यसकारण मलाई के लाग्छ भने आर्थिक मन्दीका कारण कामै नपाएर कुनै घरेलु युद्ध तथा संकटका कारण खानै नपाएर कोही नेपाली सडकमा सुतेको छ भन्ने मलाई लाग्दैन । रक्सीको तालमा त नेपालमा पनि सडकमा मानिसहरू सुतिरहेकै हुन्छन् । अमेरिका, युरोप जहातहीँ सुतिरहेका हुन्छन् ।

अब यदि पोर्चुगलको अवस्था दयनीय नै छ भन्ने कसैलाई लाग्छ भने यहाँ नआए भैहाल्यो नि ! जताजता सजिलो छ, त्यतै गए भयो ।

पोर्चुगलमा नेपालीहरूलाई कुनै समस्या छैन भन्न खोज्नुभएको हो ? 

एउटा कुरा त तपाईंलाई के भन्छु भने पोर्चुगल नेपालीहरूको ससुराली हैन । हिम्मत र आँट नभए यहाँ गाह्रो छ । यहाँ मात्र हैन संसारभरि गारो छ । तर तपाईंलाई एउटा कुरा भनुँ, आप्रवासीहरूको लागी संसारमा सबैभन्दा सजिलो । फराकिलो नियम भएको देश पोर्चुगल नै हो ।

संसारमा यस्तो देश अरू कहाँ छ? यहाँ युरोपका घेरै देशहरूमा बरालिएर कागज बनाउन नसकेका अन्तिममा कागज बनाउन आउने गरेका छन् । कागजको प्रकिया पनि एकदमै सहज छ । यो सकरात्मक पाटो पनि त हेर्नुपर्‍यो नि ! खाली नेगेटिभ मात्र सोचेर त भएन । हो कतिपय अवस्थामा ठगीका प्रकरणहरू धेरै सुनिन्छन् ।

व्यवसायीबाट ठगी भएको भन्ने पनि सुनिन्छ नि !

कतिपय ठगी गर्ने व्यवसायीहरूलाई यो देशले कारबाही पनि गरेको छ, डिपोर्ट गरेको छ । नियम कानून भएको देश हो यो । कोही ठगिएमा ठग्नेमाथि कारबाही हुन्छ । पोर्चुगलमा समस्या नै छैन म भन्दिनँ तर एकदमै भयाभह डरलाग्दो छ भन्नेचाहिँ हैन । कुनचाहिँ ठग काममा नगएर रक्सी खाएर सडकमा सुत्यो अनि त्यसैको आधारमा सम्पूर्ण पोर्चुगलको बदनाम गर्न त मिलेन नि ! व्यापरी पनि पैसा कमाउन आउने हुन् ।

कोही कसैबाट कमजोरी भएको होला तर आमरूपमा त्यसो हैन । 

पोर्चुगलमा नेपाली दालालहरूबाट नेपाली नै ठगिन्छन् रे त ?

हो यो चै सत्य कुरा हो । दालाल नै त नभनौं केही व्यवसायीहरूको लोभीपापी मनका कारण नेपालबाट आउने युवाहरूलाई मर्का भने परेको देखिन्छ । स-सानो काम गरिदिएबापत पनि सय युरो, दुई सय युरो लिने गरेको सुनिन्छ तर सामान्य सेवा शुल्क त लिनैपर्‍यो । समयको खर्च हुन्छ, यहाँ कोही स्यवंसेवक त छैन ।

कामको कन्ट्याकमा पनि कमजोरी हुने गरेको देखिन्छ । मलाई लाग्छ यस्ता कमजोरीहरू प्राविधिक हुन् । सुनुयोजित हो भन्ने लाग्दैन । यही हो भने नियमअनुसार कारवाही हुनुपर्छ । महत्त्वपूर्ण कुरा के हो भने युरोप आउन सक्ने मान्छेलाई कम्तिमा यहाँको बारेमा बेसिक नलेज त हुनुपर्‍यो नि ! भाषा जानेको हुँदैन, केही सिकेको हुँदैन । मुद्दा लड्यो उल्टै नोक्सान हुन्छ । यसरी पनि नयाँ मानिसहरू पीडित बनेका छन् । 

तपाईंले अहिलेसम्म कस्ता-कस्ता दु:ख पाएका नेपालीहरूको घाउमा मलम लगाइदिनुभएको छ ?

खासगरी काम छाडेर रक्सीको नशामा मात्रै हिँड्नेहरूलाई नेपाल पठाउनका लागि पहल गर्नुपर्छ भन्ने हो । यस्ता धेरै छन् जो काम गर्दैनन्, नेपाल फर्कन पनि मान्दैनन् । अर्को कगाजी प्रकिया नजानेर, नबुझेर दु:ख पाएकाहरूलाई सकेसम्म सहोयग गर्ने गरेको छु । सानोतिनो वकिल नै भएको छु । नेपाली जो कोही किन नहोस्, दु:ख पाएको छ भने उसको उद्धार हुन्छ, गर्नुपर्छ । 

पोर्चुगलमा नेपालीहरूको अवस्थाचाहिँ कस्तो पाउनुभएको छ?

अब कागजी प्रकियाका लागि युरोपका अन्य देशबाट यहाँ आउनेहरू धेरै छन् । कागज बनिसकेकाहरू पोर्चुगल छाडेर जानेहरू पनि धेरै छन् । यस्तो राम्रो छ, अब अवस्था नराम्रो त कयरी भनौं र ? तर केही तत्व पोर्चुगललाई, नेपाली समुदायलाई नराम्रो देखाउन लागिपरेका छन् । खै किन उनीहरू किन यस्तो गर्छन् ?

salt training

कमेन्ट गर्नुहोस्