३१ जेठ २०८३, आइतबार
अग्रलेख

सागमा नेपाली खेलाडीले बालेको आशाको दियो

मंसिर २२, २०७६
सागमा नेपाली खेलाडीले बालेको आशाको दियो

सुस्त गतिको विकास, भ्रष्टाचार, प्रदूषण, बेरोजगारीलगायत तमाम निराशालाई बिर्साउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीहरूले आशाको दियो बालेका छन् ।

आइतवार बिहानसम्ममा नेपाली खेलाडीले ४३ स्वर्ण, ३४ रजत र ६५ कास्य गरी कुल १ सय ४१ पदक जितेका छन् । साग खेलकुदमा नेपालको यो कीर्तिमानी प्रदर्शन हो । यसअघि आठौं सागको पदक तालिकामा दोस्रो स्थान हात पार्दा नेपालले ३१ स्वर्ण जितेको थियो । 

यसपटक जसले नेपाललाई स्वर्ण पदक दिलाएका छन्, तिनीहरूमध्ये अधिकांशको आर्थिक स्थिति बलियो छैन । पारिवारिक र व्यक्तिगत जीवनका समस्या तथा अभावको पर्वाह नगरी खेलाडीहरूले देशका लागि स्वर्ण पदक जितेका छन् ।

कराँते, तेक्वान्दो, पौडी, म्याराथोनमाजस्ता विधामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । कुस्ती, साइकिलिङलगायतमा पनि नेपाली खेलाडीको प्रदर्शन सम्झनलायक रह्यो ।

रजत पदकमा चित्त बुझाउनु परेपनि नेपालले महिला भलिबलमा राम्रो प्रदर्शन गर्‍यो । फूटबलमा पनि नेपालको अहिलेसम्मको प्रदर्शन प्रशंसायोग्य नै छ ।

खेल क्षेत्रमा लागेका खेलाडीहरूलाई राज्यले पर्याप्त लगानी गरेको छैन । खेल क्षेत्र उपेक्षाको विषय बनिरहेकै छ । राष्ट्रिय बजेटको अत्यन्त थोरै हिस्सा मात्र खेल क्षेत्रमा छुट्याइने गरेको छ ।

साथै खेल क्षेत्र राजनीतिबाट पनि टाढा रहन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद् खेल क्षेत्रका विज्ञभन्दा राजनीतिक भर्तिकेन्द्र बनेको छ ।

विदेशमा हुने अवसरमा खेलाडीको कोटामा राजनीतिक दलका कार्यकर्ताले असवर पाउने गरेका छन् । 

साग गेममा नेपाली खेलाडीले देखाएको कौशलले खेल क्षेत्रमा नेपालको भविष्य छ भन्ने कुरा पुष्टि गरेको छ ।

खेलकुदमा लगानी बढाउन र खेलाडीलाई प्रोत्साहन गर्न सके भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले देशको नाम राख्नेमा दुई मत छैन ।

salt training

कमेन्ट गर्नुहोस्