
राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनका लागि प्रदेश नम्बर ५ बाट ९ जनाको उम्मेदवारी परेको छ । प्रदेश ५ बाट तीन पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबाट गरी ९ जनाको उम्मेदवारी परेको हो ।
प्रदेश नम्बर ५ को मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा स्थापना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट दाङका जगप्रसाद शर्मा, रुपन्देहीबाट गोपाल भटराई र कपिलवस्तुबाट विमला घिमिरेले राष्ट्रियसभा सदस्य पदका लागि आइतवार उम्मेदवारी दर्ता गराए । नेपाली कांग्रेसबाट दाङकी गिरिजादेवी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डे र बाँकेका मेराजअहमद हलवाईले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
त्यसैगरी, समाजवादी पार्टीका तर्फबाट बाँकेबाट सुनिल सिंघल र बर्दियाका कृष्णप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलवस्तुका शिव पौडेलले उम्मेदवारी दर्ता गराए ।

प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मिना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । निर्वाचनमा प्रदेशसभा सदस्यहरू ८७ जना र स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १८ गरी ३ सय ५ जना मतदाता रहेका छन् ।