२८ जेठ २०८३, बिहीबार
सम्पादकीय

संसद्लाई अनिर्णयको बन्दी नबनाऊ, नेतृत्व चयन गर

संसद्लाई अनिर्णयको बन्दी नबनाऊ, नेतृत्व चयन गर

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार छान्न नसक्दा प्रतिनिधि सभाको बैठक लामो समयदेखि सूचना टाँसेर स्थगित भएको छ ।

विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनको दोस्रो बैठक नै सूचना टाँसेर स्थगित भएको थियो ।

पुस ४ गते शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक नै सूचनामार्फत स्थगित गरियो । पुस २७ गतेका लागि बोलाइएको संसद् बैठक बस्ने सुनिश्चितता समेत अझै भएको छैन ।

प्रतिनिधि सभाले आफ्नो सभामुख छान्न नसकेको कुरा राष्ट्रिय सभामा समेत चर्चाको विषय बनेको छ ।

प्रमुख प्रतिपक्षी दलका सांसदले प्रतिनिधि सभालाई सभामुख निर्वाचनको प्रक्रिया शुरू नगरेर संसदीय सर्वोच्चताको अवमूल्यन गरेको, संसद्को मानहानी गरेको आरोप समेत लगाएका छन् ।

बिहीवार राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद् जितेन्द्र नारायण देवले सभामुख चयन प्रक्रिया रोकेर संसद्को मानहानी भइरहेको र संसदीय लोकतन्त्रको प्रतिष्ठा एवं अधिकारको अवमूल्यन भइरहेको विषय अदलतमा जान सक्ने चेतावनी दिएका थिए । 

जनताका प्रतिनिधिको सर्वोच्च थलो प्रतिनिधि सभा बैठक लामो समयदेखि अवरुद्ध रहँदा जनप्रतिनिधिले जनताका आवाज बोल्न पाएका छैनन् ।

महंगी, भ्रष्टाचार र कालोबजारी तथा देशको सीमा मिचिएको विषयमा सांसदहरूले आफ्नो धारणा संसद्मा राख्न पाएका छैनन् । सीमाको रक्षाबारे संसद्मा दर्ता भएको संकल्प प्रस्तावमा छलफल हुन सकेको छैन । 

सामान्यतया पुसको दोस्रो साता बोलाइने हिउँदे अधिवेशन सभामुख निर्वाचनका लागि भन्दै केही छिटो अर्थात् पुस ४ गते नै बोलाइएको थियो, तर २३ दिन संसद् बिजनेसविहीन भयो ।

संसद्मा केही नयाँ र केही पुराना विधेयक विचाराधीन छन् । लामो समय संसद् कामकाजविहीन बन्ने र हतार–हतारमा कानून पारित गर्ने गलत परम्परा यसपटक पनि दोहोरिने संकेत देखिँदैछ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दलले नै संसद् अवरुद्ध गरिरहेको आरोप लगाएको छ । सत्तारुढ दलले उम्मेदवार छान्न नसकेर संसद्लाई लामो समय अनिर्णयको बन्दी बनाउनु शोभनीय विषय होइन ।

संसद्को गतिरोधलाई अन्त्य गरेर सभामुख निर्वाचन गर्ने कामलाई विलम्ब नगरौं । संसद्को बैठकलाई यति हल्का ढंगले स्थगित गरेर संसदीय गरिमाको हुर्मत लिने काम बन्द गरौं ।

salt training

कमेन्ट गर्नुहोस्