
नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाइरहेको छ । ५ नम्बर प्रदेश सरकार लुम्बिनी भ्रमण वर्षको दौरानमै छ ।
भ्रमण वर्ष र पर्यटन भन्नासाथ बिर्सिनै नसकिने क्षेत्र हो, लुम्बिनी । तर, यहीँ लुम्बिनीलाई जोड्नेमध्येको एउटा महत्त्वपूर्ण सडकमा पर्ने तिनाउ नदीको पुल एक दशकदेखि अलपत्र छ ।
रुपन्देहीको तिलोत्तमा–६ गोरकट्टामा निर्माणको क्रममा रहेको तिनाउ पुल झण्डै एक दशकदेखि अलपत्र बनेको हो ।
बुद्धको मावलीस्थल देवदह, जन्मस्थल लुम्बिनी र दरबारस्थल तिलौराकोट (कपिलवस्तु) जोड्ने सडक हो– लुम्बिनी बौद्ध सर्किट ।
यही सर्किटमा पर्ने मोतिपुर र तिलोत्तमा जोड्ने यो पुल आधा निर्माण भएर अलपत्र छ । योभन्दा पछि निर्माण शुरू भएका यही नदीका अन्य पुलहरू सञ्चालनमा आइसकेका छन् ।
बाँकी ‘आधा’ पुल निर्माण सम्पन्न नहुँदा बुद्ध सर्किटमा नियमित यातायात सञ्चालनमा आउन सकेको छैन ।
बुद्ध सर्किटबाट लुम्बिनी जाने पर्यटक प्रभावित भएका छन् । बुटवल, तिलोत्तमा, देवदहबाट लुम्बिनी पुग्ने यो छोटो सडक हो ।
सरकारले भ्रमण वर्ष मनाइरहँदा बुद्ध सर्किटमा पर्ने पुल अलपत्र हुनु शोभनीय नभएको स्थानीयको भनाइ छ ।
वि.सं. २०६७ असार २५ गते ठेक्का सम्झौता भई काम शुरू भएको पुल ९ वर्षसम्ममा पनि सम्पन्न हुन सकेको छैन । एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंले १० करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
पहिलोपटक ठेक्का सम्झौता गर्दा २०६९ पुस २४ गते सम्पन्न गर्ने भनिएको थियो । अढाई वर्षको समयमा काम आधा समेत हुन सकेन । त्यसपछि पुनः ठेक्का अवधि बढाइयो ।
वि.सं. २०७२ साल असार २४ गते सम्मका लागि समयावधि थप भएपछि काम शुरू भयो अनि करीब ४ महिनापछि पुनः रोकियो ।
एलिट कन्स्ट्रक्सनले ३ वटा पिलर र पाँचवटा स्लापसमेत निर्माण गरी ७० मिटर पुल बनिसकेको छ तर १ सय १० मिटर पुल बन्न अझै बाँकी छ । पुल वाइल प्रविधि (पिलर धसान विधि) का आधारमा निर्माण भैरहेको थियो ।
तीन वटा पिलर धसानमा भौगोलिक रूपमा कुनै समस्या भएन तर चौथो पिलर धसानमा जमिनमुनिको ठूलो चट्टानले अवरोध गर्यो ।
पुल अलपत्र पर्नुको मुख्य कारण पिलर नधसिनु नै भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर दुर्गा गौतमको भनाइ छ ।
‘ओएल फाउन्डेसन’ प्रविधिबाट पुल निर्माण गर्न सम्भव नदेखिएपछि ‘पाइल फाउन्डेसन’ विधिबाट काम गर्न लागिएको बताइए पनि निर्माण अझै सुचारु भएको छैन । नयाँ डिजाइन पुल्चोक इञ्जिनियरिङ कलेजले तयार गरेर सडक डिभिजन कार्यालय बुटवललाई बुझाएको छ ।
कार्यालयले सडक विभागमा डिजाइन स्वीकृति पठाएको कार्यालय प्रमुख यज्ञराज मरासिनीले बताए । उनका अनुसार विभागले डिजाइन स्वीकृत गरेपछि ठेकेदार कम्पनीले पुनः निर्माण कार्य थाल्नेछ ।
पुल निर्माण पूरा हुन अझै डेढ वर्ष लाग्ने उनले प्रस्ट्याए । ‘आउँदो होइन अर्को असारसम्म पुल निर्माण बल्ल सकिन्छ होला,’ उनले भने ।