
सन् २०२६ को फिफा विश्वकपमा बलियो जर्मनीले आफ्नो पहिलो खेल तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी कुराकाओसँग खेल्दैछ ।
जर्मनी र कुराकाओबीचको खेल अमेरिकाको ह्युस्टनस्थित एनआरजी स्टेडियममा नेपाली समय अनुसार, आइतबार राति २२:४५ बजे शुरू हुनेछ ।
विश्वकपको इतिहासमा यी दुबै टोलीबीच निकै ठूलो अन्तर छ । जर्मनी चार पटकको विश्व विजेता हो भने कुराकाओको यो नै पहिलो विश्वकप सहभागिता हो ।
फिफा वरीयता र इतिहासलाई विश्लेषण गरेर फुटबल पण्डितले यो भिडन्तलाई ‘डेभिड र गोलियाथ’को कथाका रूपमा चित्रण गरेका छन् ।
‘डेभिडविरुद्ध गोलियाथ’को अर्थ हुन्छ, ‘एउटा यस्तो प्रतिस्पर्धा जहाँ निकै कमजोर व्यक्ति, टोली वा संगठनले आफूभन्दा निकै शक्तिशाली प्रतिद्वन्द्वीको सामना गर्छ ।’
सन् २०१८ र सन् २०२२ को विश्वकपमा लगातार समूहगत चरणबाटै बाहिरिएको पीडा बोकेको जर्मनीका लागि यो विश्वकप प्रतिष्ठाको विषय बनेको छ ।
त्यसैले, प्रशिक्षक जुलियन नगेल्सम्यानको नेतृत्वमा रहेको जर्मन टोलीले यसपटक प्रभावशाली शुरूआत गर्दै अघिल्लो दुई संस्करणको असफलतालाई बिर्साउने योजना बनाएको छ ।
जर्मनी पछिल्ला पाँच खेलमा लगातार जित हात पार्दै उच्च मनोबलका साथ मैदानमा ओर्लने छ । खासगरी, स्लोभाकियाविरुद्धको ६–० गोलको जितले टोलीको आक्रामक लयलाई पुष्टि गर्छ ।
टोलीमा अनुभवी गोलरक्षक म्यानुएल नोएर, डिफेन्डर एन्टोनियो रुडिगर र कप्तान जोशुआ किमिचको अनुभवसँगै जमाल मुसियाला र फ्लोरियन विर्ट्जजस्ता युवा स्टारको उपस्थिति छ ।
प्रशिक्षक नागेल्सम्यानको ४–२–३–१ को रणनीतिमा मुसियाला र विर्ट्जको जोडीले विपक्षी रक्षापंक्तिमाथि गतिलो चुनौती थप्नेछ ।
अर्कोतर्फ, करिब एक लाख ५० हजार जनसंख्या भएको क्यारिबियन टापु राष्ट्र कुराकाओका लागि यो विश्वकपमा सहभागिता नै ऐतिहासिक उपलब्धि हो ।
डिक एडभोकाटको प्रशिक्षणमा रहेको यो टोलीका लागि विश्वकपको मञ्चमा पाइला टेक्नु एक दशक लामो संघर्षको प्रतिफल हो ।
अनुभवी प्रशिक्षक ७८ वर्षीय एडभोकाटले टोलीलाई अनुशासित र रक्षात्मक ढाँचामा उतार्ने निश्चित छ । कप्तान लियान्ड्रो बाकुनालाई मिडफिल्डर जुनिन्हो बाकुनाको पनि गतिलो साथ रहने छ ।
पछिल्लो समय अस्ट्रेलियासँग ५–१ गोलको हार ब्यहोरेको कुराकाओले जर्मनीविरुद्धको खेलमा थप संगठित र चलाखीपूर्ण प्रदर्शन गर्नुपर्ने देखिन्छ ।
समग्रमा यो खेलको नतिजा जर्मनीका प्रभावशाली मिडफिल्डर (विर्ट्ज र मुसियाला) र कुराकाओको डिफेन्सिभ ब्लकबीचको संघर्षमा निर्भर रहनेछ ।
जर्मनीले २० पटक विश्वकप खेलिसकेको छ भने कुराकाओ यो नै पहिलो सहभागिता हो । पछिल्लो फिफा वरीयतामा जर्मनी १०औं स्थानमा छ । कुराकाओ भने ८२औं वरीयतामा छ ।
आइतबार राति डिक एडभोकाट विश्वकप इतिहासकै सबैभन्दा पाका (७८ वर्ष) प्रशिक्षकका रूपमा टचलाइनमा उभिनेछन् ।