
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
स्कटल्याण्डले विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा हाइटीलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
बोस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा स्कटल्याण्डका लागि जोन म्याकगिन नायक बने। खेलको २८ औं मिनेटमा म्याकगिनले प्रहार गरेको बल विपक्षी खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो। पहिलो हाफमा बनाएको यही १–० को अग्रतालाई स्कटल्याण्डले खेलको अन्त्यसम्म जोगाउन सफल भयो।
००००
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
आइतबार बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेल बराबरीमा टुंगिएसँगै दुवै टोलीले अंक बाँडेका छन्।
००००
फिफा विश्वकप अन्तर्गत समूह 'बी' को खेलमा कतारले स्विजरल्याण्डलाई १-१ को बराबरीमा रोकेको छ। खेलको अन्तिम समयमा बुआलेम खोखिले गोल गरेपछि कतारले विश्वकप इतिहासमा आफ्नो पहिलो अंक बटुल्न सफल भएको हो।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा ६७ हजार ९६६ दर्शकका माझ भएको प्रतिस्पर्धात्मक खेलमा स्विजरल्याण्डले सुरुवाती अग्रता लिएको थियो।
००००
परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।
००००
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको असन्तुष्ट पक्षलाई आन्तरिक रुपमा पठाएको सात बुँदे सहमतीको प्रस्ताव आज सार्वजनिक भएको छ।
जेठ १६ गते आन्तरिक रूपमा पठाइएको उक्त प्रस्तावमा १६ दिनसम्म इतर पक्षबाट कुनै जवाफ नआएपछि सार्वजनिक गरिएको हो ।
‘सबैसँगै बढौं यसरी’ शीर्षकमा तयार गरिएको प्रस्तावमा विशेष महाधिवेशनपछि देखिएको राजनीतिक अवस्थालाई स्वीकार गर्दै विगतका मतभेद बिर्सेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आग्रह गरिएको छ।
प्रस्तावको पहिलो बुँदामा पार्टी विधानको दफा १७(२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अद्यावधिक तथा सर्वोच्च अदालतबाट भएको अन्तिम निर्णयलाई आत्मसात गर्दै सबै विवादलाई बिर्सेर एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरिएको छ।
००००
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विश्वकप फुटबलबारे सामाजिक सञ्जालमा एक टिप्पणी गरेका छन्।
शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले आफूलाई धेरै साथीभाइले ‘तपाईंको फेभरेट देश कुन हो विश्वकपमा ?’ भनेर सोध्ने गरेको उल्लेख गरेका छन्।
यसको जवाफमा उनले, “मेरो फेभरेट देशले खेलेकै छैन !” लेखेका छन्।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई पक्राउ गरेको छ।
जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई शनिबार घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको
आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
००००
काभ्रेको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा शनिबार ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
००००
काठमाडौंको पशुपतिस्थित १५ नम्बर शिवालयमा जोगीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ घर भएका दर्बेनाथ भन्ने सुविन राना मगर छन् । उनलाई महोत्तरीको गौशाला नगरपालिका ६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
००००
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीलाई दिइएको छ ।
यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि कार्कीलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।