
अमेरिका र इरानबीच जारी सैन्य गतिरोध अन्त्यका लागि कतारी मध्यस्थकर्ताहरूले तेहरानमा करिब १४ देखि १५ घण्टा लामो सघन वार्ता गरेपछि समझदारी पत्रको मस्यौदा तयार भएको छ। इरानका उपपरराष्ट्र मन्त्री काजेम गरबाबादीले सोमबार इरानी सरकारी सञ्चार माध्यमसँग कुरा गर्दै यो वार्ता प्रक्रिया निकै लामो र जटिल रहेको जानकारी दिएका छन्।
उपपरराष्ट्र मन्त्री गरबाबादीका अनुसार कतारी प्रतिनिधिमण्डल आइतबार इस्लामावाद समझदारी पत्रको मस्यौदालाई अन्तिम रूप दिन तेहरान आइपुगेको थियो।
'हिजो तेहरानमा करिब १४ देखि १५ घण्टा लामो विस्तृत छलफल भयो । उक्त वार्ताका क्रममा हामीले 'इस्लामिक रिपब्लिक अफ इरान'का तर्फबाट मस्यौदाको पाठमा केही अन्तिम संशोधनहरू प्रस्तुत गर्यौँ । स्वाभाविक रूपमा ती संशोधनहरू स्वीकार गरिए र इस्लामावाद समझदारी पत्रको मस्यौदालाई अन्तिम रूप दिइयो ।'
उपपरराष्ट्र मन्त्रीले अन्तिम सम्झौताका लागि आगामी ६० दिनको अवधि तय गरिएको र यस अवधिमा इरानले धेरै विषयहरूमा छलफल गर्न बाँकी रहेको बताए। उनले ६० दिने वार्तामा इरानको मुख्य र पहिलो प्राथमिकता आफूविरुद्ध लगाइएका सम्पूर्ण आर्थिक तथा राजनीतिक प्रतिबन्धहरू पूर्ण रूपमा फुकुवा गराउनु रहेको स्पष्ट पारे।
अमेरिका–इरान १४ बुँदे समझदारीको मस्यौदामा के छ ?
इरानको अर्ध-सरकारी सञ्चार माध्यम 'मेहर न्युज एजेन्सी'ले अमेरिका र इरानबिच तयार भएको भनिएको १४ बुँदे समझदारी पत्रको मस्यौदा विवरण सार्वजनिक गरेको छ। यद्यपि, यी बुँदाहरूबारे दुवै देशका सरकारले हालसम्म कुनै आधिकारिक पुष्टि वा हस्ताक्षर भने गरिसकेका छैनन्।
मेहर न्युजका अनुसार मस्यौदामा समेटिएका मुख्य बुँदाहरू यस प्रकार छन्:
- लेबनानसहित सबै मोर्चाहरूमा तत्काल र स्थायी रूपमा युद्धविराम लागू गरिने।
- इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने अमेरिकी प्रतिबद्धता।
- सम्झौता भएको ३० दिनभित्र अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी पूर्ण रूपमा हटाउनुपर्ने।
- अमेरिकी सेना इरानको सीमा वा क्षेत्रबाट पछि हट्नुपर्ने।
- आगामी ३० दिनभित्र हर्मोज जलडमरू मध्य इरानी व्यवस्थापन र संयन्त्र अन्तर्गत पुनः सञ्चालनमा ल्याइने।
- अमेरिका र उसका सहयोगी राष्ट्रहरूले इरानको पुनर्निर्माणका लागि कम्तीमा ३०० अर्ब डलर (३०० बिलियन डलर) बराबरको पुनर्निर्माण योजना उपलब्ध गराउनुपर्ने।
- इरानी तेल र ऊर्जा उत्पादनहरूमाथि लगाइएका सबै प्रतिबन्धहरू अन्त्य गरिने।
- आणविक हतियार उत्पादन नगर्ने इरानको पुरानो प्रतिबद्धताको पुनः नवीकरण।
- यस क्षेत्रमा अमेरिकाले आफ्नो सैन्य शक्ति थप नगर्ने र इरानविरुद्ध नयाँ प्रतिबन्धहरू नलगाउने अमेरिकी प्रतिबद्धता।
मेहर न्युजले आफ्नो रिपोर्टमा अगाडि लेखेको छ, 'इरानको रोक्का गरिएको कुल रकमको आधा हिस्सा (५० प्रतिशत फ्रोजन फन्ड) फुकुवा नभएसम्म, तेल प्रतिबन्धहरू निलम्बन नगरिएसम्म र नौसैनिक नाकाबन्दी पूर्ण रूपमा नहटेसम्म अन्तिम चरणको प्राविधिक वार्ता शुरू हुने छैन।' ऐतिहासिक सम्झौताको अन्तिम रूपलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावमार्फत् अनुमोदन गरिने समेत दाबी गरिएको छ।