
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
विशेष अदालतले स्वास्थ्य सेवा विभागको ३डी म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा ५ जना कर्मचारी र एक जना आपूर्तिकर्तालाई दोषी ठहर गरेको छ ।
अदालतले तत्कालीन महानिर्देशक तथा स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता कौशल मिश्रासहित ८ जनालाई भने सफाइ दिएको छ ।
००००
सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट घोषणा गरेका छन् । ६ प्रदेशले सोमबार दिउँसै बजेट भाषण गरेकामा सुदूरपश्चिम प्रदेशको बजेट भने मध्यरातमा मात्रै घोषणा भयो ।
सत्तारुढ दलमै विवाद भएपछि बजेट आउन ढिलाइ भएको थियो । बजेट ढिलागरी आउँदा आक्रोशित हुँदै प्रतिपक्षी दलले भने बहिष्कार गरे ।
विपक्षीको वहिस्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
आगामी आवका लागि कर्णाली प्रदेशले रु ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजारको बजेट ल्याएको छ ।
कोशी प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ४० अर्ब ४४ करोड ९८ लाख रकम विनियोजन गरेको छ । बागमती सरकारले आगामी वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ३७ अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट सार्वजनिक गरेको छ ।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ ।
००००
फिफा विश्वकप अन्तर्गत समूह 'एच' को रोमान्चक खेलमा साउदी अरब र उरुग्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न प्रतिस्पर्धामा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक अग्रता लिन सकेनन्।
००००
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जी' को आफ्नो पहिलो खेलमा इजिप्ट र बेल्जियमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
अमेरिकाको सियाटल स्टेडियममा सोमबार राति सम्पन्न खेलमा इजिप्ट ऐतिहासिक जितको नजिक पुगेर पनि आत्मघाती गोलका कारण बराबरीमा रोकिन पुग्यो।
००००
फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले बराबरीमा चित्त बुझाएको छ । सोमबार राति सम्पन्न खेलमा केप भर्डले फुटबलको पावरहाउस स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो।
००००
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।
बेइजिङमा सोमबार भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
००००
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य तत्कालका लागि यथावत राख्ने निर्णय गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ खरिद मूल्य प्राप्त भए पनि निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले साविकको बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
००००
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको सुझाव अनुसार पार्टी अघि बढ्ने बताएका छन् ।
पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यलाई स्वागत गर्दै उनले कार्यदलको प्रतिवेदनबाट पार्टी अझ एकताबद्ध बनाउन बल पुग्ने विश्वास व्यक्त गरे ।
००००
सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन थालेको छ ।
प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
००००
प्रतिनिधिसभा सदस्य खुश्बु ओलीको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
साइबर ब्युरोले चन्द्रागिरि नगरपालिका–११ सतुंगलका ६१ वर्षीय प्रधुमन श्रेष्ठलाई सोमबार पक्राउ गरेको हो। ब्युरोका सूचना अधिकारी दिलीपकुमार गिरीका अनुसार उनलाई काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
००००
काठमाडौं उपत्यकाभित्र सडकपेटी (फूटपाथ)को बढ्दो अतिक्रमण र खुला ढलका कारण पैदलयात्रीले भोग्नुपरेको ज्यानकै जोखिमलाई सम्बोधन गर्दै सर्वोच्च अदालतले सरकारका नाममा विभिन्न निर्देशनात्मक आदेशसहित परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८१ मंसिर १७ गते गरेको फैसलाको पूर्णपाठ अहिले सार्वजनिक भएको हो ।
००००
डेढ किलो कोकिनसहित तीन जना विदेशी नागरिकलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले कोकिन लिएर आएका सेनेगलका नागरिक र सो कोकिन लिन भारतबाट आएका दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सेनेगलका ४३ वर्षीय अमादाउ सार, भारतकी २६ वर्षीया रुबी र ३१ वर्षीया सोनी छन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अंकले ओरालो लागेर दुई हजार ७११ दशमलव ७६ मा सीमित भएको हो ।
००००
फाइल खोल्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भनाइप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाट विपक्षीलाई धम्की दिएकोमा एमालेले खेद व्यक्ति गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्रीको धम्की आपत्तिपूर्ण भएको बताएकी हुन् ।