०९ असार २०८३, मंगलबार
लागूऔषधको डरलाग्दो धन्दा

८ करोडको कोकिन निलेर अफ्रिकादेखि काठमाडौंसम्म [भिडियो]

असार ३, २०८३
काठमाडौं

पैसाको लोभमा सेनेगलका नागरिक अमादउ सारले इथियोपियामा ६० वटा प्लास्टिक क्याप्सुल निले । ती क्याप्सुलभित्र डेढ किलो कोकिन थियो ।

कतार हुँदै काठमाडौं आइपुगेका उनलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले पक्राउ गरेपछि तीन दिन लगाएर पेटबाट क्याप्सुल निकालियो । प्रहरीले बरामद गरेको कोकिनको मूल्य करिब ८ करोड रूपैयाँ बराबर रहेको छ ।

पैसा कमाउने आशामा अमादउ अन्तर्राष्ट्रिय लागूऔषध तस्करहरूको जालोमा फसे । तीन महिनाअघि एक नाइजेरियन नागरिकले उनलाई अतिरिक्त आम्दानीको प्रस्ताव गरेपछि घटनाक्रम शुरू भएको थियो ।

क्लिनर कम्पनीमा काम गर्दै आएका अमादउले कामबारे जिज्ञासा राख्दा उनलाई एक इथियोपियन नागरिकको सम्पर्क नम्बर दिइयो । त्यसपछि उनी गत जेठ २४ गते इथियोपिया पुगे । त्यहाँ पुगेको भोलिपल्ट नै उनलाई ६० वटा प्लास्टिक क्याप्सुल निल्न लगाइयो । ती क्याप्सुलभित्र कोकिन रहेको जानकारी हुँदाहुँदै उनले तीन हजार अमेरिकी डलरको प्रलोभनमा जोखिमपूर्ण काम स्वीकार गरेका थिए ।

इथियोपियाबाट टिकट काटेर उनलाई कतारको दोहा हुँदै काठमाडौं पठाइएको थियो । नेपाल आइपुगेपछि उक्त कोकिन दुई भारतीय नागरिकलाई बुझाउनुपर्ने जिम्मेवारी उनको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले अमादउको गतिविधि शंकास्पद देखेपछि निगरानी थालेको थियो । विमानस्थलबाट ठमेलस्थित होटल पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पतालमा एक्स–रे परीक्षण गरायो ।

परीक्षणका क्रममा पेटभित्र क्याप्सुलको ठूलो मात्रा देखिएपछि उनले इथियोपियामै क्याप्सुल निलेर आएको स्वीकार गरेका थिए । त्यसपछि तीन दिन लगाएर शौचमार्फत् ६० वटा क्याप्सुल निकालिएको थियो ।

प्रहरीले क्याप्सुल फुटाएर परीक्षण गर्दा कूल एक किलो ५ सय ग्राम कोकिन बरामद भएको पुष्टि भयो । अमादउबाट कोकिन बुझ्न आएका भारतको कानपुर निवासी रुबी र सोनीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लागूऔषध तस्करीमा ‘बडी प्याकिङ’ अर्थात् पेटभित्र लागूऔषध बोकेर ल्याउने शैली नयाँ होइन । तर नेपालमा यति ठूलो परिमाणको कोकिन पेटभित्र राखेर ल्याइएको घटना भने पहिलो पटक सार्वजनिक भएको हो ।

यदि क्याप्सुलमध्ये एउटा मात्रै पेटभित्र फुटेको भए अमादउको ज्यान जान सक्ने जोखिम थियो । बयानका क्रममा उनले पैसाको लोभमा यस्तो काम गर्न तयार भएको बताएका छन् ।

यद्यपि अमादउ केवल ‘कुरियर’ वा भरिया मात्रै भएको प्रहरीको निष्कर्ष छ । उनलाई परिचालन गर्ने मुख्य व्यक्ति भने इथियोपिया र नाइजेरियामा रहेको र उनीहरूले नेपाली नम्बर प्रयोग गरेर ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार लागूऔषध तस्करहरूले विभिन्न वस्तुभित्र लागूऔषध लुकाएर नेपाल भित्र्याउने गरेका छन् । महिलाको ब्रा, खेलौना, स्पिकर, कण्डमलगायतका सामग्रीभित्र लागूऔषध लुकाएर तस्करी गर्ने प्रवृत्ति बढ्दो छ ।

यसअघि ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरले ब्राभित्र लुकाएर १ किलो ९ सय ५० ग्राम कोकिन ल्याएको अवस्थामा पक्राउ परेकी थिइन् । उनी नेपाल हुँदै भुटान जान लागेकी थिइन् ।

लाओसबाट बैंकक हुँदै काठमाडौं आएका भारत तमिलनाडुका मउलेस वारान नानजुनडमूर्ति कुरानल भेललाई कफीको प्याकेटभित्र ३ किलो ८ सय ग्राम सेतो हेरोइन लुकाएर ल्याएको आरोपमा पक्राउ गरिएको थियो ।

लागूऔषध तस्करीसँगै हतियार कारोबारसमेत जोडिने गरेको प्रहरीले जनाएको छ । 

तनहुँ बन्दीपुरका दिलबहादुर गुरुङ र टकबहादुर गुरुङ एम्फेटामिन तथा पेस्तोलसहित पक्राउ परेका थिए । उनीहरूले प्रतिग्राम पाँचदेखि सात हजार रूपैयाँसम्ममा एम्फेटामिन बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो ।

हालै काठमाडौंको टोखा र चन्द्रागिरि क्षेत्रमा सञ्चालन गरिएका फार्महाउसबाट ठूलो परिमाणमा ट्रामाडोल बरामद भएको थियो । उक्त घटनामा भारतबाट भारतीय नम्बर प्लेटकै सवारीसाधन प्रयोग गरी ल्याइएको २ लाख ९ हजार ट्रामाडोल ट्याब्लेट बरामद गरिएको थियो ।

अनुसन्धानका क्रममा खड्क रोकायाको फार्महाउसमा खाल्डो खनेर लागूऔषध लुकाइएको तथ्य फेला परेको थियो । घटनामा एक राष्ट्रिय कराते खेलाडीसमेत पक्राउ परेकी थिइन् । प्रहरीका अनुसार उनी भारतीय तस्करसँगको सम्पर्कका आधारमा अनुसन्धानको दायरामा आएकी हुन् ।

लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार विदेशी र नेपाली नेटवर्क मिलेर विभिन्न आवरणमा लागूऔषध तस्करी भइरहेको छ । प्रहरीले प्राप्त सूचनाका आधारमा नियमित रूपमा बरामद तथा पक्राउ अभियान सञ्चालन गरिरहेको उनले बताए ।

उनका अनुसार विशेषगरी काठमाडौं उपत्यकामा औषधिजन्य लागूऔषधको दुर्व्यसन चिन्ताजनक रूपमा बढिरहेको छ । हालै बरामद गरिएका लाखौं ट्रामाडोल ट्याब्लेट समयमै नियन्त्रणमा नलिइएको भए ती अधिकांश काठमाडौंकै बजारमा पुग्ने सम्भावना रहेको प्रहरीको निष्कर्ष छ ।

भिडियो सामग्री :

 

salt training

कमेन्ट गर्नुहोस्