
सम्पत्ति शुद्धीकरण तथा विभिन्न वित्तीय अपराधको अभियोगमा व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले यस्तो आदेश दिएको हो। अदालतले उनीहरूमाथि लागेको अभियोगको गाम्भीर्य र प्राप्त प्रमाणहरूलाई आधार मान्दै थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने ठहर गरेको छ।
भट्ट र अग्रवालमाथि संगठित रूपमा सम्पत्ति शुद्धीकरण गरेको, सेयर बजारमा चलखेल गरेको, बिमा कम्पनीको रकम दुरुपयोग गरेको र बैंकिङ कसुर गरेको आरोप छ।
भट्टमाथि २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो दाबी गरिएको छ भने अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो दाबी गरिएको छ।
उनीहरूले जगदम्बा स्टिल्स, इन्फिनिटी होल्डिङ्स र सौर्य सिमेन्ट जस्ता कम्पनीहरूको आवरणमा 'लेयरिङ' मार्फत अवैध धनलाई वैध बनाउन खोजेको, हिमालयन रि-इन्सुरेन्सको सेयरमा कृत्रिम मूल्य वृद्धि गराएको र सूचना चुहाएर लाभ लिएको जिकिर गरिएको छ ।