२४ असार २०८३, बुधबार
'समूह बी'मा रोचक प्रतिस्पर्धा

फिफा विश्वकप– २०२६: रोचक समिकरणबीच पहिलो जीतको खोजीमा क्यानडा र कतार

असार ४, २०८३
काठमाडौं
फिफा विश्वकप– २०२६: रोचक समिकरणबीच पहिलो जीतको खोजीमा क्यानडा र कतार

पहिलो चरणमा चारवटै टोलीको बराबरीको नतिजा निकालेका कारण जारी फिफा विश्वकपमा समूह ‘बी’ समिकरण यतिबेला निकै रोचक अवस्थामा छ ।

क्यानडा, कतार, स्विट्जरल्यान्ड र बोस्निया एन्ड हर्जोगोभिना सबैको समान एक–एक अंक छ । पहिलो खेलमा क्यानडाले बोस्निया एन्ड हर्जगोभिनासँग र स्विट्जरल्यान्डले कतारसँग १–१ गोलको बराबरी खेलेका थिए ।

त्यसैले, दोस्रो खेलमा जित हासिल गरे नकआउट चरणको यात्रा सहज हुने कुरा चारवटै टोलीले राम्ररी बुझेका छन् ।

शुक्रबार बिहान नेपाली समयअनुसार ०३:४५ बजे घरेलु मैदानमा कतारसँग भिडन्तका लागि ओर्लँदा सह–आयोजक क्यानडा ऐतिहासिक पहिलो जितको धुनमा हुनेछ ।

बोस्नियाविरुद्धको आफ्नो पहिलो खेलमा क्यानडाले खासै गतिलो प्रदर्शन गर्न सकेको थिएन । क्यानडा खेल अवधिभर अत्तालिएझैं देखिन्थ्यो ।

निर्धरित समयको खेल सकिनुभन्दा १४ मिनेटअघि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका स्ट्राइकर काइल लारिनको गोलमा क्यानडाले विश्वकप इतिहासमै आफ्नो पहिलो अंक जोडेको थियो ।

त्यसअघि, जोभो लुकिचको गोलमा बोस्नियाले २१औँ मिनेटमा अग्रता लिएको थियो । क्यानडाका लागि यो सबैभन्दा ठूलो चिन्ताको विषय थियो ।

क्यानडाले यसअघि पनि यस्तै नियति भोग्दै आएको थियो । सातमध्ये ६ खेलमा क्यानडाले शुरूमै गोल खाएको इतिहास छ ।

कतारसँग खेल्नुअघि कप्तान अल्फान्सो डेभिसको ‘फिटनेस’ फेरि एकपटक चर्चाको विषय बनेको छ । बायर्न म्युनिखका स्टार खेलाडीले ह्यामस्ट्रिङ समस्याका कारण बोस्नियासँगको खेल गुमाएका थिए ।

कतारविरुद्ध पनि उनको उपस्थिति अझै अन्योलमै छ । यदि, उनी मैदानमा ओर्लिए भने क्यानडाको ‘अट्याकिङ थ्रेट’मा गतिलो बल पुग्नेछ ।

सन् २०२२ मा यी दुईले पछिल्लोपटक एक–अर्कासँग भिडेका थिए । अस्ट्रियामा सम्पन्न त्यो मैत्रीपूर्ण खेलमा क्यानडा २–० गोलले विजयी भएको थियो ।

क्यानडाले मनोबल बढाउन यो इतिहासले मद्दत पुर्‍याउन सक्छ । वर्तमान टोलीबाट डेभिस, म्याक्सिम क्रेपेउ, रिची लारिया, डेरेक कर्नेलियस र जेडन नेल्सन रंगशालाको चरित्रको बारेमा राम्रो जानकार छन् । यी खेलाडीहरूले युथ र सिनियर लेभलमा भानकोभर ह्वाइटक्याप्सको प्रतिनिधित्व गरेका थिए ।

कतार भने स्विट्जरल्यान्डविरुद्ध नाटकीय बराबरी खेल्दै भ्यानकोभरको रंगशालामा ओर्लँदै छ । कतारले स्विट्जरल्यान्डविरुद्ध खेल अवधिभर ‘लो ब्लक’मा खेलेको थियो ।

एसियन च्याम्पियन कतारले पछिल्ला सात खेलमा जित हासिल गर्न सकेको छैन । यी खेलमा कतारले एक गोलभन्दा बढी गर्न सकेको छैन । तर, स्विट्जरल्यान्डविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनलाई हेर्दा कतारलाई कमजोर सम्झने भुल क्यानडाले पक्कै गर्नेछैन ।

salt training

कमेन्ट गर्नुहोस्