
सिरहाको बेल्हाकट्टीस्थित एक घरमा भएको डाँकाचोरी घटनाले तराईमा विगतमा आतंक मच्चाएको सशस्त्र समूहको झझल्को पुन: ब्यूँताइदिएको छ ।
घटना गत मंसिर ३ गतेको भएपनि जिल्ला अदालत सिरहाले पक्राउ परेका प्रतिवादीहरूलाई गत जेठमा मात्रै पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
सिरहाको कल्याणपुर नगरपालिका– १२ बेल्हाकट्टीका मुकेशकुमार सिंहको घरमा मध्यराति ८/१० जनाको बन्दुकधारी समूह प्रवेश गरेर महिलाका गरगहनासँगै नगद र बहुमूल्य वस्तु लुटेर लगेका थिए ।
यो घटनामा भारतीय सुटरको समेत प्रयोग भएको थियो ।
मुकेशको घरमा डकैती गरेर अर्को घरमा प्रवेश गर्न लाग्दा स्थानीय दुई जनाले प्रतिकार गर्न खोजेपछि उनीहरूमाथि गोली प्रहार भएको थियो ।
स्थानीय वीरेन्द्र महतो र उनका छोरा अनिल कुमार महतोको छातीमा गोली हानेर डकैत समूह फरार भएको थियो ।
मंसिरमा भएको डाँका घटनाको अनुसन्धान त्यति सजिलो थिएन । डकैत समूहहरू भारत प्रवेश गरिसकेका थिए । रोचक पक्ष त के भने यो समूहले भारत पुगेर समेत केही स्थानमा डकैती गरेका थिए ।
यो समूह भारतबाट फर्किएर सिरहा आएको सूचना पाएपछि प्रहरीले गत फागुन ६ गते सिरहाको सिरहा नगरपालिका–१३ स्थित सडक खण्डबाट सिरहा लाहानका लाल मोहम्मद अन्सारी, एकवाल मियाँ र भारतका मोहम्मद गुलाब अन्सारीलाई पक्राउ गर्यो ।
प्रहरीले उनीहरूको डेरामा खानतलासी समेत गर्यो । लाल मोहम्मदको कोठाबाट कटुवा बन्दुक, दुई राउन्ड गोली र ३० ग्राम लागू औषध खैरो हेरोइन अनि गुलाबको डेराबाट एउटा कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद भयो ।
पक्राउ परेकामध्ये मुख्य अभियुक्त मोहम्मद एकवाल मियाँले आफूमाथि ६/७ लाख रुपैयाँ ऋण रहेको र ऋण चुक्ता गर्ने उपाय खोजिरहेका बेला डाँकाको सम्पर्कमा पुगेको स्वीकार गरेका छन् ।
एकवालले दिएको बयान अनुसार उनी आफ्ना काकाको छोरा मोहम्मद हाकिम मियाँ र मामा नाता पर्ने मोहम्मद हकिम फकिरमार्फत डाँका समूहसँग सम्पर्कमा पुगेका थिए ।
गोलबजारमा लाल मोहमद अन्सारीसँग भेट गराइएपछि भारतीय डाँकासँग मिलेर काम गर्ने प्रस्ताव स्वीकार गरेको बयान एकवालले दिएका छन् ।
बयानअनुसार मोटरसाइकल र इलेक्ट्रोनिक रिक्सा प्रयोग गरी उनीहरू कमला नदी किनार पुगेका थिए ।
त्यहाँ भारतीय नागरिकसहित अन्य व्यक्तिहरूसँग भेट गरी बेल्हा गाउँमा डकैती गर्ने योजना बनाइएको थियो।
त्यसक्रममा डकैतीमा संलग्न प्रत्येक व्यक्तिलाई भूमिका बाँडिएको थियो। केहीलाई घरभित्र प्रवेश गर्ने, केहीलाई बाहिर निगरानी गर्ने र प्रतिकार भए गोली चलाउने जिम्मेवारी दिइएको बयानमा उल्लेख छ।
डाँका समूह बेल्हाका मुकेशकुमार सिंहको घरमा प्रवेश गरी परिवारका सदस्यलाई हतियार देखाएर धम्क्याइ, महिलाले लगाएका सुनचाँदीका गहनासँगै अन्य नगद र बहुमूल्य सामान लुटेर भागेका थिए ।
बयानअनुसार करिब २० देखि २५ मिनेटसम्म लुटपाट गरेपछि अर्को घरतर्फ जान लाग्दा उनीहरूलाई स्थानीय वीरेन्द्र महतो र उनका छोरा अनिलकुमार महतोले रोक्न खोजेका थिए ।
त्यति नै बेला डकैत समूहकै सदस्य बद्री भनिने अजय पासवान र मोटु भनिने हिरालाल पासवानले कटुवा पेस्तोलबाट गोली चलाएका थिए ।
डकैत समूहले चलाएको गोली वीरेन्द्र र उनका छोरा अनिलको छातीमा लागेको थियो ।
समयमा उपचार पाउँदा उनीहरू बाँच्न सफल भएका छन् । उपचारमा ठूलो खर्च लागेको छ ।
प्रतिवादी एकवाल मियाँ र अमरप्रकाश पासवान दुवैले लुटेर ल्याइएका सुनचाँदीका गहना लहानस्थित सुमिता ज्वेलर्सका सञ्चालक दीपेन्द्र साह सोनारलाई बिक्री गरेको तथ्य खुलेको थियो ।
गहना बेचेर प्राप्त गरेको रकम आपसमा बाँडफाँट गरिएको बयान उनीहरूले दिएका छन् ।
रोचक कुरा त के भने यो समूहलले यो घटनापछि भारतको लदनिया बजार क्षेत्रमा समेत अर्को डकैती गरेको बयानमा उल्लेख छ ।
उक्त घटनामा भारतीय प्रहरीले अनुसन्धान गरी मोहम्मद हकिम फकिरलाई पक्राउ गरेर भारतमा कारागार चलान गरिससकेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एवं प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार यो डकैतीको घटना अनुसन्धान गरी आरोपीलाई पक्राउ गर्न प्रहरीलाई धेरै सकस परेको थियो ।
लाल मोहमद अन्सारी र मोहम्मद गुलाब अन्सारी पक्राउ परेपछि मात्रै अरू अभियुक्त नियन्त्रणमा लिन सजिलो भएको थियो ।
यसै प्रकरणमा अमरप्रकाश पासवानलाई गोलबजार नगरपालिका–६ स्थित सडक खण्डबाट पक्राउ गरिएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
उनीहरूकै बयानबाट प्रहरीले एकवाल मियालाई नियन्त्रणमा लिएको थियो ।
बाँकी प्रकाश पासवान, अजय पासवान, विजय पासवान, हिरालाल पासवान, हकिम मियाँ, दीपेन्द्र साह सोनार र अलाउद्दिन अन्सारी फरार छन् । एसपी पाठकका अनुसार पक्राउ परेका ११ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् ।