१५ असार २०८३, सोमबार
विश्वकप

जित्नैपर्ने दबाबमा ब्राजिल

असार ६, २०८३
काठमाडौं
जित्नैपर्ने दबाबमा ब्राजिल

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को खेलमा आज पाँच पटकको विश्व विजेता ब्राजिलले हैटीको सामना गर्दैछ। 

अमेरिकाको फिलाडेल्फिया स्टेडियममा नेपाली समयअनुसार सवा ६ बजे हुन लागेको खेलमा ब्राजिल आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रिनेछ भने हैटी विश्वकपमा आफ्नो पहिलो अंक जोडेर इतिहास रच्ने दाउमा रहेको छ।

यसअघि आजै भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई १–० ले पराजित गरेपछि समूह 'सी' को समीकरण निकै रोचक बनेको छ। मोरक्को दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ भने स्कटल्याण्ड ३ अंकका साथ दोस्रो स्थानमा छ। 

आफ्नो पहिलो खेलमा बराबरी खेलेको ब्राजिलको १ अंक छ भने हैटी अहिलेसम्म अंकविहीन रहेको छ। ब्राजिललाई अघिल्लो चरणको यात्रा सहज बनाउन आजको खेल जित्नैपर्ने दबाब छ।

ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले आजको खेलका लागि टोलीमा दुईवटा महत्त्वपूर्ण परिवर्तन गरेका छन्। म्यानचेस्टर युनाइटेडका फरवार्ड म्याथ्यु कुन्हाले ब्रेन्टफोर्डका इगोर थियागोको स्थानमा सुरुवाती ११ मा स्थान बनाएका छन्। 

त्यस्तै, रक्षापङ्क्तिमा रोजर इबानेजको सट्टा अनुभवी डानिलोलाई मैदान उतारिएको छ। ब्राजिलको आक्रमणको मुख्य जिम्मेवारी भिनिसियस जुनियर, लुकास पाक्वेटा र राफिन्हाको काँधमा रहनेछ।

अर्कोतर्फ, ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हैटीका लागि यो खेल भावनात्मक रूपमा निकै महत्त्वपूर्ण छ। देशको आन्तरिक सुरक्षा र अस्थिरताका कारण हैटीले विगत पाँच वर्षदेखि आफ्नो घरेलु मैदानमा खेल्न पाएको छैन। 

यस्तो कठिन परिस्थितिका बाबजुद अमेरिकामा बसोबास गरिरहेका हैटीका समर्थकहरूले ठूलो संख्यामा रंगशाला पुगेर आफ्नो टोलीको हौसला बढाइरहेका छन्।
खेल सुरु हुनुअघि फिलाडेल्फिया स्टेडियम बाहिरको माहोल निकै उत्साहजनक देखिएको छ। ब्राजिलियन समर्थकहरूले अमेरिकी परम्पराअनुसार 'टेलगेटिङ' गर्दै बार्बिक्युमा रमाएर उत्सव मनाइरहेका छन्।

 सन् १९७४ पछि पहिलोपटक विश्वकप खेलिरहेको हैटी आज बलियो ब्राजिललाई रोकेर विश्वकपमा आफ्नो हारको श्रृंखला तोड्न प्रयासमा हुनेछ। हैटीले हालसम्म विश्वकपमा खेलेका आफ्ना सबै पाँचवटै खेलमा हार बेहोरेको छ।

salt training

कमेन्ट गर्नुहोस्