
धानको उर्वर भूमि मानिने लुम्बिनी प्रदेशमा असार १५ गतेसम्म जम्मा २१ प्रतिशत मात्रै रोपाइँ भएको छ । समयमा पानी नपर्दा रोपाइँ हुन नसकेको हो । सामान्य अवस्थामा यो अवधिमा ४० प्रतिशतसम्म रोपाइँ हुने गर्थ्यो । यो वर्ष शनिबारदेखि बल्ल पानी परेपछि किसान रोपाइँको चटारोमा जुटेका छन् ।
लुम्बिनी प्रदेशका तराईका जिल्लालाई अन्नभण्डारको रूपमा लिने गरिन्छ । शुक्रबार रातिदेखि वर्षा भएपछि धमाधम धान रोपाइँ शुरू भएको हो ।
प्रदेशको कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ बाँकेमा भएको छ । ३३ हजार ८७० हेक्टरमा धानखेती हुने गरेकोमा अहिलेसम्म १६८.९ हेक्टर अर्थात् शून्य दशमलव ५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ ।
निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार नवलपरासी पश्चिममा ५० प्रतिशत खेतमा रोपाइँ भएको छ । शनिबारदेखि पानी परेकोले अब धान रोपाइँ तीव्र गतिमा हुने उनले बताए ।
नवलपरासीमा २० हजार ८८७ हेक्टर क्षेत्रफल जमिनमा धानखेती हुँदै आएकोमा अहिलेसम्म १० हजार ४४३ हेक्टरमा रोपाइँ सकिएको छ । ६३ हजार ५५० हेक्टरमा धान उत्पादन हुने गरेको रूपन्देहीमा २७ हजार ३२६ हेक्टर क्षेत्रफल अर्थात् ४३ प्रतिशत जमिनमा रोपाइँ भएको छ ।

त्यस्तै, तराईकै जिल्लाहरूमध्ये ३६ हजार २०० हेक्टर क्षेत्रफलमा धानखेती हुने दाङमा १५ प्रतिशत, ६६ हजार २२५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने कपिलवस्तुमा अहिलेसम्म किसानले १.५८ प्रतिशत अर्थात् १ हजार ५० सय हेक्टरमा मात्र धान रोपेका छन् । अन्य खेत पानी अभावले बाँझै छ ।
५० हजार १५० हेक्टर धानखेतीको क्षेत्रफल रहेको बर्दियामा १९.३१ प्रतिशत रोपाइँ भएको छ । ६ वटा पहाडी जिल्लामध्ये पाल्पामा सबैभन्दा कम ४ प्रतिशत रोपाइँ भएको छ । ७ हजार २८७ हेक्टरमा धानखेती हुने भए पनि २९१ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
६ हजार ५४१ हेक्टर धानखेतीयोग्य जमिन रहेको गुल्मीमा ७ प्रतिशत, प्युठानमा ८८ प्रतिशत रोपाइँ भएको छ ।
६ हजार ५२५ हेक्टर धानखेतीको क्षेत्रफल रहेको प्युठानमा अहिलेसम्म ५ हजार ७४२ हेक्टरमा रोपाइँ सकिएको छ ।
प्युठानको अधिकांश खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेकाले धेरै रोपाइँ सकिएको निर्देशनालयका कृषि प्रसार अधिकृत गैरेले बताए । उनका अनुसार अर्घाखाँचीमा ११.२, रोल्पामा ४० र रुकुम पूर्वमा २५ प्रतिशत खेतमा रोपाइँ सकिएको छ ।

कृषि विकास निर्देशनालयका निमित्त निर्देशक रामप्रसाद पाण्डेले ३ तहकै सरकारको समन्वयमा सुनवल नगरपालिकामा धान दिवस मनाइएको बताए । 'लुम्बिनी प्रदेशका तराई र पहाडी जिल्लामा प्युठानमा सबैभन्दा धेरै धान रोपाइँ भएको र पाल्पामा सबैभन्दा कम रोपाइँ भएको देखिएको छ,' उनले भने, 'अहिले पानी परेको छ । अब तराईमा राम्रोसँग धान रोपाइँ हुन्छ ।'
लुम्बिनीमा आर्थिक वर्ष २०८१/८२ मा धान उत्पादन १३ लाख ५० हजार ८८० मेट्रिक टन पुगेको छ । प्रदेशभर धानखेतीको औसत उत्पादकत्व प्रतिहेक्टर ४.५२ टन रहेको तथ्याङ्कले देखाएको छ ।
धान उत्पादन वृद्धि गर्न प्रदेश सरकारले खेतीयोग्य जमिनको सदुपयोग, सिँचाइ सुविधा विस्तार तथा समयमै गुणस्तरीय बिउ र मल उपलब्ध, यान्त्रिकीकरण, चैते धान प्रवर्द्धन, बजारीकरण, रैथाने जातको संरक्षणलगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
प्रदेशमा हाल सावित्री, सामा मन्सुली, हर्दिनाथ ६, राधा ४, सुक्खा धान १ र २, गंगासागर १ र २, खुमल बास्मतीलगायतका उन्नत जातहरूको खेती भइरहेको छ ।









