
विगत चार दशकमा भारतमा मधुमेह (डाइबिटिज)को प्रकोप एउटा मौन महामारीका रूपमा तीव्र गतिमा फैलिएको छ । हाल भारतमा १० करोडभन्दा बढी मानिस मधुमेहबाट पीडित छन् भने अन्य १३ करोड ६० लाख मानिस यसको उच्च जोखिममा छन्।
सीमित जनशक्ति, कमजोर पूर्वाधार र आर्थिक स्रोतको अभावबीच करोडौँ बिरामीलाई कसरी गुणस्तरीय सेवा दिने भन्ने चुनौती भारतले सामना गरिरहेको छ।
तर, धनी देशहरूको स्वास्थ्य मोडललाई जस्ताको त्यस्तै लागू गर्नुको साटो भारतले विकास गरेका स्थानीय, किफायती र ठुलो स्तरमा उपयोगी मोडलहरू भने उदारणीय छन्, जुन अहिले विश्वले नै ठूलो पाठ सिक्न सक्छ ।
दक्षिण एसियाली मानिसहरूमा पश्चिमाहरूको तुलनामा कम उमेर र कम तौलमै मधुमेह देखिने गरेको छ। धेरैजसो बिरामीहरू जटिलता बढिसकेपछि मात्र अस्पताल पुग्ने गर्छन् ।
आँखा, मिर्गौला, खुट्टाको जाँच र पोषण परामर्शका लागि बिरामीहरू विभिन्न क्लिनिकमा धाइरहनु पर्ने बाध्यता अन्त्य गर्दै भारतले ‘एकीकृत उपचार मोडल’को विकास गरेको छ । यसअन्तर्गत बिरामीले एकै पटकको भ्रमणमा सबै आवश्यक जाँच र उपचार एकै छानामुनि पाउँछन्, जसले गर्दा रोगको जटिलता बेलैमा पत्ता लाग्छ।
भारतजत्रो विशाल देशमा प्रत्येक मधुमेह बिरामीका लागि विशेषज्ञ डाक्टर पुर्याउन असम्भव छ। त्यसैले भारतले सामान्य चिकित्सक, नर्स, मधुमेह शिक्षक र स्वास्थ्य कार्यकर्ताहरूलाई व्यापक तालिम दिएर कार्य-विभाजन गरेको छ । यसले गर्दा दुर्गम र सेवा नपुगेका क्षेत्रमा पनि मधुमेहको उपचार सहज बन्न पुगेको इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारमा उल्लेख छ ।
समाचार अुसनरा डिजिटल स्वास्थ्य उपकरण, टेलिमेडिसिन र मोबाइल एपहरूले बिरामी र चिकित्सकबिचको दूरी मेटाइदिएका छन्। कोभिड-१९ को लकडाउनका बेला सुरु भएको यो प्रविधि अहिले दीर्घकालीन रोग व्यवस्थापनको स्थायी माध्यम बनेको छ।
साथै, गाडीमै प्रयोगशाला उपकरण राखेर गाउँ-गाउँ पुग्ने 'मोबाइल युनिट' र वृद्धवृद्धाहरूका लागि 'घरदैलो उपचार सेवा'ले स्वास्थ्य पहुँचमा ठुलो क्रान्ति ल्याएको समाचारमा उल्लेख छ ।
लामो समयसम्म मधुमेहका क्लिनिकल गाइडलाइनहरू धनी देशहरूको तथ्याङ्कमा आधारित हुन्थे, जसले एसिया वा अफ्रिकाका मानिसहरूको शारीरिक अवस्थालाई प्रतिनिधित्व गर्दैनथे। भारतले आफ्नै समुदायमा आधारित अनुसन्धान गरेर स्थानीय सुहाउँदो उपचार पद्धति विकास गरेको छ। यसका साथै, गोजीको पैसा खर्च गरेर उपचार गर्नुपर्ने बाध्यता भएका गरिब तथा आर्थिक रूपमा विपन्न वर्गका लागि उपचारलाई किफायती र सुलभ बनाउने संयन्त्रमा जोड दिइएको छ।
मधुमेहको बढ्दो विश्वव्यापी संकटबीच कम र मध्यम आय भएका देशहरूले अब आयातित स्वास्थ्य मोडलमा मात्र भर पर्नु हुँदैन। भारतको अनुभवले प्रमाणित गर्छ कि अभावकै बिच पनि प्रविधि, एकीकृत सेवा, जनशक्ति विकास र समुदायको सहभागितामार्फत अर्थपूर्ण प्रगति सम्भव छ।