
प्रारम्भ
उपन्यास शब्दको शाब्दिक अर्थ (उप+न्यास) समीपमा स्थापना गर्नु वा राख्नु भन्ने बुझिन्छ । तथापि संस्कृत साहित्यमा उपन्यास भन्नाले प्रसन्नता प्रकट गर्ने वा प्रसन्न पार्ने र निपूर्णतापूर्वक कुनै विषय वस्तुको अर्थ र व्याख्या गर्ने विषय नै हो भन्ने भनाइ छ । त्यसैले ‘उपन्यासः प्रसाधनम्, उपपत्तिकृत्तो ह्यर्थ उपन्यास प्रकृर्तितः’ भनिएको छ ।
शास्त्रीहरूले उपन्यासलाई परिभाषित गर्ने सन्दर्भमा कल्पित तर लामो आख्यायिका भनेर सम्बोधन गरेको पनि प्रायशः पाइन्छ । ‘मुण्डे मुण्डे मर्तिभिन्ना, कुण्डेकुण्डे नवं पयः । जातौ जातौ नवाचारा, नवा वाणी मुखे मुखे’ मस्तिष्कैपिच्छे भिन्न भिन्न विचार, कुवै पिच्छे पृथक पानी, जातैपिच्छे पृथक् संस्कार संस्कृति परम्परा र पृथक् मुखबाट पृथक् बोली यी सांसारिक श्वाश्वत सत्य हुन तसर्थ मानिस कुनै पनि विषयवस्तुलाई पृथक् आफ्नै दृष्टिकोणबाट परिभाषित गर्दछ । पूर्वीय दर्शनअनुसार उपन्यासकै सन्दर्भमा तेइस सय पूर्वभरतमुनिले नाट्यशास्त्रमा प्रवेश गराएदेखि नै यो औपन्यासिक विधाले पूर्वीय दर्शनमा आफ्नो स्थान पाएको छ तथापि पूर्वीय साहित्य दर्शनका व्याख्याता दण्डी, भामह, धनञ्जय र कालिदासले आ-आफ्नो स्वविवेकअनुसारको पृथक्-पृथक् व्याख्या गरेका छन् र वर्तमानमा पनि यो परम्परा कायमै छ ।
उपन्यासलाई पाश्चात्य साहित्यमा इटालियन शब्द नोवेल अर्थात् नोवेलको शाब्दिक अर्थ समाचारबाट प्रादुर्भाव भएको मानिन्छ । पहिलोपटक इटालियन कथाकार गिओवानी बोकासियोले इटालियन भाषामा ई.१३४८ र १३५८ का बीचमा लेखेका साधारण एक सय डेकामेराँका कथाको पुञ्जलाई नोवेल भनियो र कालान्तरमा त्यही कृतिले पहिलो औपन्यासिक मान्यता पायो । त्यसपछि डेनियल फो को कृति रविन्सन क्रुसो १७१९ मा प्रकाशित भयो र विश्व विख्यात पनि भयो । क्रुसो लेखनको कालसम्ममा विविध विषयका आख्यान तथा कथाहरू समयानुसार थप परिमार्जित हुँदै समाजमा लोकप्रिय हुँदै गए । अंग्रेजी साहित्यमा सामुएल रिचार्डसनको पाभेला उपन्यास १७४०मा प्रकाशित भएपछि आधुनिक उपन्यासको शुरूआत भएको मानिन्छ ।
पूर्वीय समाजमा उपन्यासको कुरा गर्दा हामी पूर्वीय दर्शनलाई पल्टाउँछौं र भरतमुनीसम्म पुग्दछौं तर नेपाली साहित्यको मात्र कुरा गर्दा १८२७ देखि १९४६को काललाई गद्यसाहित्य लेखनको शुरूआतीकालको रूपमा उल्लेख गर्न छाड्यौँ भने गद्यसाहित्यको इतिहासलाई अन्याय हुन्छभन्दा अतिशोक्ति नहोला ।
नेपाली साहित्य जगत्मा संवत् १९९१ साललाई उपन्यास विधाको प्रवर्तकका रूपमा लिइन्छ । यही साल द्रराज पाण्डे ‘रूपमती’ र विष्णुचरण श्रेष्ठले सुमती नामक उपन्याससहित साहित्य जगत्मा देखापरे र नयाँ युगको शुरूआत गरे । त्यसपछिका दिनहरूमा नेपाली साहित्य जगत्मा उपन्यास विधाले गरेको प्रगतिको प्रतिफलस्वरूप रूपमती, तीन घुम्ती, मन, माधवी, मुलुकबाहिर, अनुराधा, बसाइँ, अहोरात्रजस्ता उपन्यासहरूको प्रादुर्भाव भयो ।
यसरी साहित्याकाशमा नयाँ-नयाँ उपन्यास कृतिको प्रादुर्भावको सन्दर्भमा यसभन्दा पहिला १६ उपन्यास कृति प्रकाशित गरिसक्नुभएका डा. डी. आर. उपाध्याय खनालको १७औं उपन्यास कृति ‘आसक्ति’ प्रकाशन भएको छ । यस्तो गरिमामय कर्मको लागि डा. उपाध्याय बधाईका पात्र हुन् । यसरी उपन्यास विधामा साहित्य जगत्लाई सत्र-सत्र कृति अविरल रूपमा समर्पण गर्नुभएकोमा मेरोतर्फबाट धन्यवाद तथा नमन उहाँलाइ ।
कृतिकारको परिचय
‘वरमेको गुणी पुत्रो न च मूर्खशतान्यपि, एकश्चन्द्रस्तमो हन्ति न च तारागणोऽपि च’ जसरी सयौं तारा भए पनि धर्ती अम्बरलाई प्रकाशमय बनाउन सक्दैनन् तर एक चन्द्रमाले सहजै प्रकाशमय बनाउँछन् त्यसै गरेर सय मूर्ख छोरो हुनुभन्दा एक गुणवान् छोरो हुनु धेरै असल हुन्छ किनकि सय मूर्खले गर्न नसकेको काम एक बुद्धिमानबाट सहजै हुन्छ । कुनै पनि देशमा आमा अर्थात् राष्ट्र, मातृभूमिले लाखौं सन्तति जन्माउँछिन् । उनका ती लाखौं सन्तानहरू पानीका फोकाझैँ जन्मछन् र तुरुन्त धर्तीमै विलीन हुन पुग्दछन् तर, तीमध्ये पनि एक्का-दुक्का सन्तान लाखौं ताराबीच चन्द्रमा चम्केझैँ विश्वमञ्चमा चम्कन्छन् र आमाको परिचयलाई विश्वव्यापी गर्दछन् ।
नेपालका प्रतिभाहरूको क्षितिजलाई जब हामी नियाल्दछौं त्यहाँ हामीले अवश्य पनि केही मुहारहरू चम्किरहेको देख्नेछौं । त्यसमा कतिपय इतिहासका पानामा सजिएका छन् भने कतिपय विश्वकै गौरव बनेर आमाको मुहारलाई चम्काउने धुनमा वर्तमानमा इतिहास निर्माण गर्ने यत्नमा छन् । नेपालको पृष्ठभूमिलाई नियालेर हेर्दा वर्तमानमा डा. उपाध्याय एक यस्ता प्रतिभा हुन् जो दिन रात एकपछि अर्को विश्व कीर्तिमान धारण गरेर नेपाल आमाको नामलाई विश्वसामु प्रज्ज्वलित गरिरहेका छन् ।
आज नेपालका सन्तति उपाध्यायको सिर्जनाको प्रसिद्धि गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वर्ल्ड रेकर्ड प्रदान गर्ने दर्जनभन्दा बढी संस्थाहरूमार्फत प्रतिध्वनित भएर समस्त विश्वको कुना कुनामा गुञ्जिरहेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्ड, बुक अफ अमेरिकालगायत दर्जनौँ संस्थामा नाम दर्ज हुनु स्वयंमा असाधारण कर्म हो भन्दा अतिशयोक्ति नहोला । तथापि नेपाली आमाका सुयोग्य सन्तान डी. आर. उपाध्यायले गीत संगीत र विविध क्षेत्रमा नयाँ नयाँ सिर्जना गरेर १५३ विश्व कीर्तिमान कायम राख्न सफल भएका छन् ।
एउटै मानिसले यति धेरै कीर्तिमान कायम गर्नसक्नु विश्वमै महान् उपलब्धि हो । यसरी कीर्ति राखेरमा अधिक कीर्तिमान कायम गर्ने विशिष्ट स्रष्टाको टप टेनमा डा. उपाध्याय अंकित भएको जानकारी पाउँदा नेपाल आमाको कुन सन्तति पुलकितनहोला ! हामी सम्पूर्ण नेपालीका लागि आज डि.आर. उपाध्याय विश्व रेकर्डका प्रतिबिम्ब बनेका छन् ।
गीत, सङ्गीत र साहित्य सिर्जनामा यतिविघ्न विश्व रेकर्ड कायम गर्ने क्षमताका धनी डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन् र उनीप्रति हरेको नेपालीको बधाई र शुभकामना छ ।
माता उमादेवी र पिता शिवशंकरप्रसाद उपाध्याय खनालका कान्छा सुपुत्रका रूपमा पर्साको वीरगञ्जमा सन् १९६२ मा उदाएका धर्मराज उपाध्याय आज डा. डीआर उपाध्याय/खनालका नामले लोकप्रसिद्ध भएका छन् । उनको प्रारम्भिक शिक्षा त्रि-जुद्ध व्यावसायिक माविमा भएको थियो । उच्च शिक्षा ग्रहणको लागि काठमाडौं आएका उपाध्यायले नेपालबाट उच्च शिक्षा गरेपश्चात् त्यति शैक्षिक योग्यतामा मात्र चित्त नबुझाएर अन्ततः भारतबाट विद्यावारिधिसम्मको उपाधि हासिल गरे र ज्ञानका क्षुधाबाट केही राहत भएको महसूस गरे ।
सानो छँदै बुबामार्फत् कर्म गर तर कर्मका फलको इच्छा नगर अर्थात् कर्म गरेपछि स्वत : कर्मअनुसारको फल प्राप्त हुन्छ भन्ने गीता मर्म बुझेका कर्मपिपासु डा. उपाध्याय विद्यावारिधिमा मात्र सीमित भएर बस्न सकेनन् । उनले विद्यावारिधिलाई पनि मात्र साधन ठाने न कि साध्य । विद्यावारिधिले उनलाई अझ देश र समाजप्रतिको जिम्मेवारीको बोध भयो । उनमा जन्मिएपछि केही सुकर्म गरेरै जानुपर्छ भन्ने ज्ञान र चेतनाको स्तर अझ व्यापक भयो । यसै ज्ञानको बलले उनलाई आफूमा रहेको प्रतिभाको बोध भयो । उनले कलम समाए र गीतकार भए, कवि, साहित्यकार भए ।
उनले विधाहरूको पहिचान गरेर तिनमा शिल्पको जडी भरे र अन्ततः उनी विश्व रेकर्डका नसा नसामा भिज्न पुगेँ पहिचान गर्न पुगे र तिनमाथि विजय गरे र, एकपछि अर्को विश्वकीर्तिमान स्थापित गरे त्यसैले आज विश्वका विभिन्न युनिभर्सिटीहरूले उनीभित्र रहेको रचनाकारिताको मर्मलाई आत्मसात् गरेर उनलाई मानार्थ डाक्टरको उपाधिले विभूषित गरेका छन् ।
यो लेख्दै गर्दा उपाध्याय आफूले अध्ययन गरेर लिएको डिग्रीका अतिरिक्त सात मानार्थ डाक्टर उपाधिबाट विभूषित भएका छन् । यसरी आठ–आठ विषयका पिएचडी डिग्री धारण गर्ने नेपाल आमाका पहिलो सन्तान मेरो जानकारीमा भएसम्म डा. डी.आर. उपाध्याय नै पहिलो व्यक्तित्व हुन् । गीतकार, कवि तथा उपन्यासकार उपाध्यायको पछिल्लो कृति ‘मझधार’सहित सोह्र उपन्यास कृति सार्वजनिक भएका छन् । उनका ‘बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ, कसुर’जस्ता कृतिहरू पाठकमाझ आइसकेका छन् ।
समाजका विविध स्वरूपको पर्यवेक्षण गर्दै गतिशील सामाजिक मूल्यमा आस्था राख्ने कीर्तिमानी गीतकार हुन् डा. उपाध्याय । आफूभित्र निहीत सिर्जनशील प्रतिभाको सफल सम्प्रेषण गर्दै कला साहित्यको आराधनामा तल्लीन हुनु उनको दैनिकी बनेको छ । बहुआयामिक व्यक्तित्वका धनी उपाध्यायको प्रसिद्धि गीतकारका रूपमा पनि त्यत्तिकै उच्च छ । कला र साहित्यलाई समाजको दर्पण ठान्ने उहाँका सिर्जनामा जीवन जगत्को यथार्थपरक प्रस्तुति पाइन्छ ।
उनका ‘प्रणय, नशालु नजर, जखम, प्रतिनाद, अन्तराप, सहेली, जोहो, माउन्टेन मेलोडी, परिष्कृत, कृति, प्रतिनाद, पृथक, अञ्जान तिर्खा, सुधारस, स्वर्गघर, नजरको तीर, सभेन्थ कड्स, सौभाग्यको सिन्दुर, अनुभूतिको मझेरीमा, चाहनाको महल, कत्वर्य बोध, धरोहर, हृदयको झंकार, धर्ती र जीवन, प्रतिभा, सपनाको महल, धड्कन, आकांक्षा, अभिभूत, अभिलाषा, आवृत’लगायत ३६ वटा एल्बम श्रोता/दर्शकमाझ आएका छन् ।
यस्तै सबैभन्दा सानो गीतको पुस्तक (दुई वाई दुई इञ्च)को गीतिसंग्रह ‘अनुभूतिको मझेरी’, नोट साइजको गीति पुस्तक ‘चोट’ र व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ‘प्रेयसी’ सबैभन्दा ठूलो गीतको पुस्तक २४/३६ इन्चको ‘अलौकिक’, एक लाइन अंग्रेजी र एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ पनि पाठकमाझ आइसकेको छ । उनले आफ्नो साहित्य गीत रचना आदिको कर्मबाट गिनिज बुक अफ वर्ल्ड रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, लण्डन युकेलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डका यथेष्ठ प्रमाणपत्र प्राप्त गरिसकेका छन् । एभरेष्ट वल्र्ड रेकर्ड, स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जिनस वल्र्ड रेकर्ड, ब्रिटिश वल्र्ड रेकर्डजस्ता रेकर्डको प्रमाणपत्र समेतले उनी विभूषित भइसकेका छन् ।
डा. उपाध्यायले नारी एवं पुरुषले दुवैप्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार गर्नुपर्छ भन्ने एक-एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द–शब्दको गीत, हुलाक टिकटमा प्रकाशित विशष्टि नेपाली व्यक्तिहरूको नाम कामबारे बनाइएको गीत, सांकेतिक भाषाको गीत, अक्षर अक्षरको गीत एउटा पुरुष र अर्को नारी स्वरमा, तीनवटा सप्तकमा बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेहरूको अत्याधिक नामबाट बनाइएको गीत, अहिलेसम्म नेपालमा प्रकाशित भएका उपन्यासको नामबाट बनाइएको गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरैपटक प्रयोग गरेर बनाइएको गीत, एउटा गीतमा धेरै थरीका रूख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत, एउटा गीतमा धेरैपटक मुटु शब्द प्रयोग गरेर बनाइएको गीत, एउटै गीतको स्थायी र अन्तरा धेरै व्यक्तिले एकैपटक पढेको, ५० अन्तर्राष्ट्रिय भाषामा गीत, एकै दिन धेरै राष्ट्रिय पत्रिकामा लेख प्रकाशन, विश्वको हाई अलटिच्युटमा गीतको लाइभ प्रस्तुतिजस्ता चुनौतीपूर्ण विषयबाट डा.उपाध्यायले वर्ल्ड रेकर्ड राख्न सफल भएका हुन् ।
यस्तै, उपाध्यायले १५० भन्दा बढी देशको पर्यटनस्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चारवटा गीत लेखी रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राको नाममा गीत-सङ्गीत तयार गरेर, ‘क’ देखि ‘ज्ञ’ सम्मका प्रत्येक वर्णको गीत लेखी कीर्तिमान रचेकाका छन् । यस्तै, ५५ वटा फरक-फरक फूलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरैपटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, आफ्ना २०० जति गीत हट एयर बेलुनमा उडाएर, १५० भन्दा बढी गीत चेसबोर्डमा लेखेर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गीत लेखी रेकर्ड गराएर विश्व रकेर्ड कायम गरेका छन् ।
उनले आफ्ना गीतहरू चिया पिउने बढी कपमा सबैभन्दा छापेर, सबैभन्दा बढी पोष्टकार्डमा छापेर, सकारात्मक सोचमा फाइदासम्बन्धी गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकैपटक गीत रेकर्ड गराएका छन् । कीर्तिमानी गीतकार उपाध्यायले नेपाली गीतसंगीतलाई विश्व बजारमा पुर्याउँदै गिनिज बुक, अमेरिकन वर्ल्ड बुकसहित सबै वल्र्ड रेकर्डमा आफ्नोमात्र होइन नेपालकै गौरव बढाएका छन् । त्यसका लागि कृतिकार धन्यवादका पात्र भएका छन् ।
आसक्तिमा प्रवेश गर्दा
डा. उपाध्याय लिखित आसक्ति उपन्यास झट्ट हेर्दा भोगविलासपूर्ण जीवनको सेराफेरामा रचना गरिएको उपन्यासजस्तो अनुभूत भए पनि मेरो दृष्टिमा यो कृति यौन र यौनजन्य कृत्यलाई उपमेय बनाएर आजको समाजको गति मापन गर्ने कसीका रूपमा देखापरेको कृति हो भन्दा अतिशयोक्ति नहोला ।
नारीलाई प्रधान पात्रको रूपमा अघि सारेर आयातीत संस्कारले कस्तो विकृति निम्त्याउँछ र परिणाम के हुन्छ भन्ने कुराको द्योतकका रूपमा यो कृति देखापरेको छ । चालीस लघु भागमा विभक्त यो कृतिका हरेक भागले कौतूहलपूर्ण सन्देश सम्प्रेषण गर्न सबल र सफल देखिन्छन् ।
आजका अभिभावकमा विकसित स्खलित आचरण र मनोवृत्तिका बीचमा सन्ततिप्रतिको दायित्वको अवशेष यो कृतिको मननयोग्य पक्षका रूपमा देखापरेको एक स्मरणीय पाटो हो भने अल्पवयका युवा-युवतीको निर्दोष प्रेमले सिर्जना गरेको गम्भीरता र कर्तव्यनिष्ठ बाबुआमाले भोग्नुपरेका पीडाको विश्लेषण झनै मर्मस्पर्शी उजागर हो ।
यस कृतिमा आफ्नी छोरीलाई सस्तो जग्गा दिलाउने अभिप्रायले केहीक्षण अघिसम्म पूर्णतः आधुनिक, कुनै राष्ट्रिय पार्टीकी नेताका रूपमा प्रस्तुत भाविका स्वार्थसिद्धका लागि कारुणिक बन्दछिन् र ‘तपाईंको बोली व्यवहारबाट म निकै प्रभावित भएकी छु । मेरो रिक्वेष्ट के छ भने अन्य खरिदकर्ताभन्दा तपाईंले मलाई अलि फरक किसिमले हेरिदिनुहोस् । म एउटा नारी र मेरी छोरीका लागि घरेडी खरिद गर्न लागेकी हुँ’ भनेर अवलाका रूपमा प्रस्तुत हुन पुग्दछिन् । उनको रूप र लावण्यमा लोभिएको नितेश पनि उनको भावुकतामा बग्छ र उनका जालमा फस्तछ । र, उनलाई जग्गा सस्तोमा उपलब्ध गराउनेमा आश्वस्त पार्दछ ।
परपुरुषको बाहुपासमा रम्न पल्किएकी भाविकाले अझ वाचालाई पक्का बनाउन उसलाई घरमा लगेर रक्सीमा चुर्लुम्म डुबाउँछिन् र प्रगाढ चुम्बनको आदानप्रदान गर्दै आफैंलाई सुम्पिदिन्छिन् । फलतः भौतिक रूपमा उनले विजय हासिल गर्दछिन् । उनले शरीर सुम्पेको बदलामा कौडीको भाउमा जग्गा प्राप्त गर्दछिन् भने सुन्दर पुरुषसँग उनले चाहेजस्तो क्षणिक भए पनि चरम आनन्द प्राप्त गर्दछन् । यसरी भाविकाले एक तीरले दुई शिकार गर्दछिन् जो उनको जीवनमा भइरहने क्रिया हो ।
छोरीका नाममा सस्तोमा जग्गा पाएका भाविकाका सोझा पति सुमित खुशी त हुन्छन् तर केको बदलामा ? जग्गा सस्तो भएको भन्ने उनका कल्पनाबाहिरको कुरा थियो । शायद आफ्नी पत्नी भाविकाको अस्मितासँग साटिएको जग्गा भनेर थाहा पाएका भए उनको लागि यही जग्गा अभिशप्त हुने थियो । जग्गा पास गरेपछि पनि नितेश भाविकाको मोह त्याग्न सक्दैन र उनीप्रति आसक्तता जताउँदै उनको अफिससम्म पुग्दछ र ‘तपाईं अलिक बदलिएको व्यवहार गरिरहनुभएको छ भाविकाजी ! मबाट कुनै गल्ती भयो कि !’ नितेश भावुक भएर भन्छ । त्यसको प्रतिउत्तरमा भाविकाले परोक्ष रूपमा ‘तपाईंबाट अझैसम्म कुनै गल्ती भएको छैन तर यसैगरी भावनाममा बग्नुभयो भने अवश्य नै गल्ती होला भन्ने चिन्ता मलाई हुन थालेको छ । मैले तपाईंलाई पहिल्यै भनेकी थिएँ म निकै खुला मनकी नारी हुँ । म भावुक वा कमजोर कहिल्यै बन्दिनँ ।’ भनेर नितेशलाई थर्काउँदछिन् ।
त्यतिले मात्र नपुगेर मजस्ता शक्ति र पहुँच भएका नारीको आवेश ज्वाला सर्वत्र दन्किएपछि केवल खरानीमात्र बाँकी रहन्छ र यस्ताबाट बच्नुहोस् भन्दै चेतावनीयुक्त स्वरमा तपाईंका कामेच्छाहरू आफ्नै श्रीमतीबाट पुरा गर्नुहोस् भन्दछिन् ।
जग्गा पास गरेका दिनदेखि भाविकाबाट अपमानित र त्यक्त भएझैँ नारीद्वारा पीडित र अपमानित भएर बाँच्दछन् । कृतिको पहिलो चरणमा लेखकले प्रवास बसाइले नारीमा ल्याएको परिवर्तन, विचलित भएर परस्त्रीमा रमण गर्नेले अन्ततः भोग्नुपर्ने अपमान, नोक्सानी र आफ्नी पत्नीमा निगरानी राख्न नसक्ने पतिको निरीहपनको यथार्थ चित्रण गरेका छन् ।
कृतिको दोस्रो चरणमा समाज परिवर्तनको नाममा आएको भनौँ वा ल्याइएको विकृति र विसंगतिलाई नवयौवना दामिनीको कृत्यमार्फत आजका युवा जमातमा परेको दुश्प्रभावको लेखकले उजागर गर्ने यत्न गरेका छन् । दामिनीसँगको प्रेम र विछोडपछिको वेदनाले थला परेका युवक देवांशको अवस्था आजका समाजका युवा समूहको दर्पण होभने उसका अभिभावक बलदेव र अञ्जनाको पीडा एक प्रकारले घरघरका अभिभावकलाई समाज परिवर्तनले दिएको कोसेली रूपी पीडा हो । कलिलो उमेरै आफूलाई स्वछन्द र स्वतन्त्र सम्झने दामिनी आफ्नो यौनेच्छा ‘मलाई बैँसको माया पनि तिमीबाटै चाहिन्छ’ भनेर बालसखा देवांशमार्फत कलिलो उमेरमै पूरा गर्दछे । कक्षा नौ पढ्दाको कलिलो विद्यार्थी जीवनबाट शुरू भएको यो क्रियाले केही दिनसम्म निरन्तरता पाए पनि अन्ततः कलेज पुग्दासम्ममा अर्कै मोड लिन पुग्दछ ।
कलेज प्रवेश हुनेवित्तिकै आफ्नो शारीरिक बनोटमा लोभिएका नयाँनयाँ भमराहरूतर्फ दामिनीको ध्यान केन्द्रित हुन थाल्दछ । आफ्नो प्रेमिका अरू केटाहरूतर्फ आकर्षित भएकोमा नाखुश देवांश ‘तिमी जो पायो त्यही केटासँग नजिकिन नखोज दामिनी !’ भनेर सम्झाउन खोज्छ । त्यसको बदलामा दामिनी उल्टै ‘ब्वायफ्रेन्ड एउटैमात्र हुनुपर्छ भन्ने छैन । तिमी पनि दुई चारजना गर्लफ्रेन्ड बनाउन’ भनेर प्रतिउत्तर दिन्छे । तथापि देवांश म तिमीमै सीमित रहेर बस्न चहान्छु भनेर संयम राख्तछ । त्यसको बदलामा ‘तिमी संकीर्ण मनका छौँ तर मेरो मुटु विशाल छ । म यसरी खुम्चिएर बाँच्न चाहन्न । दिल खोलेर जिन्दगीमा अगाडि बढ्न चाहन्छु’ भनेर दामिनी देवांशको संयममा उपहास गर्दछे ।
अन्ततः यो उपहासले विछोड निम्त्यायो र दुवैको विछोड भयो । यो विछोडको प्रतिफलस्वरूप देवांश सुधारगृह पुग्योभने दामिनीले नयाँ कारवाला साथी कुनालको बाहुपासामा बाँधिने अवसर प्राप्त गरी ।
केही महिनादेखि कहिले भैसैँपाटीका रिसोर्टमा त कहिले दरबारमार्गका रेष्टुरेन्ट र बारमा कुनाल र दामिनीले रंगारंगी मनाउदै थिएँ । छोरी यसरी कुनालसँग हिँडेकोमा भाविकाको पनि परोक्ष सहमति नभएको होइन । किनकि उनी स्वयं भौतिकतामा विश्वास गर्ने नारी हुन् र उनले कुनाल कारवाला धनी बाबुको छोरो हो भन्ने बुझेकी छन् । यसैबेला कुनालको आमा बिरामी भइन् र दामिनीलाई समय दिन कुनाल असमर्थ भयो । यही असमर्थताको बीचमा देखापरेको आकेशसँग दामिनी आकर्षित हुन थाल्दछे ।
एक दिन कुनाल र दामिनी दरबार मार्गको रेष्टुरेन्ट बियर पिउँदै गर्दा भेट भएको आकेश अरू कोही नभएर दामिनीले चाहेजस्तो केटो थियो । जब दामिनीले आफू पढ्ने एकेडमीको म्यानेजिङ डाइरेक्टरको साथी र फेशन शो आयोयना गर्ने कम्पनीका मालिकको रूपमा आकेशको परिचय पाउँछे ऊ दंग पर्दछे । त्यसपछि फेशन शोमा भाग लिने लालसाले आकेशकी झक्त बन्दछे र कुनाललाई आत्मैदेखि त्यागेर आकेशले जता विन बजायो उतै नाच्न थाल्दछे ।
आकेशको साथी देशकै नामी क्रिकेट दिलीप र उसकी प्रेमिका मिहिकाको आगमनपश्चात् चारजनाको एउटा टिम बनेको प्रतीत हुन्छ । यिनीहरूको जोडीले कहिले भैँसेपाटीका होटलमा कहिले गोकर्ण रिसोर्टमा त कहिले सोल्टीमा रात बिताउन थाल्दछन् । दुवै युवतीको सरलता सहजतामा पग्लिएर आकेश र दिलीपले उनीहरूलाई सरप्राइज गिफ्टका रूपमा कार र स्कुटी किनिदिने प्रस्तावले दामिनीलाई बुबामार्फत केही समस्या भए पनि आमा भाविकाले सल्टाउने भएकाले केही समस्या थिएन तर मिहिकाको लागि भने जटिल समस्या नै थियो । किनकि मिहिका एक सामान्य एकल अनुशासित महिला आकांक्षाकी छोरी थिइन् ।
आकांक्षा पतिद्वारा प्रताडित तर एक आदर्श नारी थिइन् । उनले जीवनमा दायाँबायाँ कतै नहेरी छोरी मिहिकालाई आदर्श छोरीका रूपमा हुर्काइन् तर जब कुनै केटाले छोरीलाई गिफ्टका रूपमा स्कुटी दिने कुरा आयो उनी झस्किइन् र अस्वीकार गर्ने अवस्थामा पुगिन् । तथापि आकेश र दिलीपले अगाडि सरेर उनलाई रोके । उनले भावी ज्वाइँको उपहार सम्झेर स्वीकार गर्ने अनुमति त दिइन् तर केही संशयका साथ । यहाँ लेखकले चार नारीबीचको चरित्रको चित्रण जुन प्रकारले गरेका छन् त्यसले अन्ततः ‘कुसंगोसँग दोषेन साधु जानाति विहग्रः’ भन्ने उक्तिलाई चरितार्थ गर्दछ । के आकांक्षाको भाविकासँग संगत नभएको भए उनले जीवनमा मदिरा सेवन गर्ने थिइन् ? र मिहिकाको दामिनीसँग भेट नभएको भए रिसोर्ट र सोल्टी चहार्ने थिइन् होला ? यी अनुत्तरित प्रश्नको बोझ लेखकले पाठकलाई बोकाएका छन् ।
केटाकेटीबीचमा मात्र सीमित यो प्रेमप्रकरण अब यो उपहार प्रकरणले छताछुल्ल भएपछि आमाहरू सचेत भए । यति बेलासम्ममा भाविका र आकांक्षा पनि सँगै राजनीति गर्ने र बेलुका सँगै रम्नेसम्मका साथी भइसकेका थिए । छोरीहरू हिउँ परेको हेर्ने जाने बहानामा दामनको रिसोर्टमा आकेश र दिलीपसँग रात बिताएको थाहा पाएपछि उनीहरूले अभिभावकको कर्तव्य निभाउने निधो गरे । भाविका स्वयं चरित्रहीन भए पनि एउटी आमा आफ्नी छोरी चरित्रहीन होस् भनेर कल्पना गर्न सक्तिन, हुर्किएका आमाहरूको ममत्वले उनीहरूलाई आँखा झनै चिम्लिन दिएन अतःसल्लाहले भाविकाले बेलैमा बागडोर समाल्ने निधो गरिन् । यसमा आकांक्षाको सहयोग नहुने कुरै भएन ।
अन्ततः विवाह गर्न नचाहने तर दामिनी र मिहिकाबाट आ-आफ्नो यौनतृष्णा मात्र मेट्ने लक्ष्य राखेका आकेश र दिलीपसँग दामिनी र मिहिका आमाहरूको सल्लाहबमोजिम विवाहको प्रस्ताव लिएर पुग्छन् । अचानक विवाह प्रस्ताव सुनेपछि आकेशले सिधै इन्कार गर्छ तर दिलीप आफ्नो विश्वप्रसिद्धि दाउमा लाग्ने ठानेर केही गम्भीर बन्दछ ।
आफूहरूले निःशर्त भविष्यपर्यन्तका जीवनसाथीका रूपमा कल्पना गरेर आफूलाई सुम्पेका दामिनी र मिहिका पनि आकेश र दिलीपका अनपेक्षित उत्तरले मर्माहत र स्तब्ध हुन्छन् तर आमाहरूले सतर्कतापूर्वक यो व्यवहार सल्टाउँछन् । मिहिका दिलीप र आकेश दामिनीको रिसोर्ट र सोल्टीका कृत्य कुकृत्यहरूले पछि विधिवत् विवाह हुने र तत्क्षणसम्मका लागि कोर्ट म्यारीजमार्फत वैद्यता प्राप्त गर्दछन् ।
उपसंहार
मूलतः नारी पात्रको सेरोफेरोमा रचित आसक्ति कृतिलाई नारीप्रधान कृतिभन्दा अतिशयोक्ति हुने छैन । प्रवास बसाइले नारीमा ल्याएको परिवर्तनको विकृत सन्देशलाई कृतिमार्फत उजागर गरेर लेखकले स्वदेशमै विकास गरेर आत्मनिर्भर हुनुको विकल्प नभएको सन्देश दिएका छन् । एकै प्रेमीकाबाट धोका पाएर सुधारगृहसम्म पुगेको देवांश र सतर्क भएका कुनालको भूमिकालाई अन्त्यसम्ममा आ-आफ्ना नवप्रेमीकाका साथ सुखद् जीवनयापनको सन्देशले पाठकमा ती पात्रप्रति उब्जिएको अधुरोपनलाई पूर्ति गरेको छ ।
कृतिमा लेखकले विशेषतः समयको परिवर्तनसँगै आएको सोचले मानवजीवनमा पारेको बेथितिको पनि जस्ताको तस्तै उजागर गरेका छन् । यस कृतिकी आमा पात्र भाविकाको चरित्रमार्फत समाजमा परिवर्तनका बहानामा आएको छाडापनलाई लेखकले उजागर गरेर आजका समाजको कुरूपपनाको पर्दाफास गरेका छन् लेखकले । के प्रवाससँगको नाताले हाम्रो संस्कार संस्कृतिमा धावा बोलेकै हो त ? कृति पढ्दै जाँदा यो पाठकमा उठ्ने जिज्ञासाको उत्तर लेखकले भाविकाको मातृत्वमार्फत दिएका छन् ।
कृतिमा नारीका बहुरूपको चास्नीले लेखकको विद्वताको परिचय दिएको छ र ओजसमेत बढाएको छ । आज नवयुवा-युवतीमा देखापरेको स्वतन्त्रता स्वछन्दताको चाहना केही कालपर्यन्त मात्र आनन्ददायी हुन्छ र अन्ततः यो पीडातर्फ धकेल्ने साधन बन्दछ भन्ने कुरा कृतिका प्रायः सबै पात्रपात्रामार्फत लेखकले जुन प्रकारले उजागर गरेका छन् त्यो आफैंमा प्रशंसनीय छ । ‘आसक्ति’ यौनको पृष्ठभूमिमा तयार भएको कृति भए पनि अन्त्यमा नैतिक धरातलमा खरो उत्रिएको कृति बन्न पुगेको छ, जसका लागि लेखक डा. डी.आर.उपाध्याय बधाईका पात्र छन् । कृतिका लागि लेखकलाई धन्यवादसहित यो कृतिलगायत उनका अन्य रचनात्मक कार्यको सफलताको कामनासहित अग्रिम बधाई ज्ञापन गर्दछु ।