काठमाडौं उपत्यकालाई नुवाकोट हुँदै चीनको केरुङ नाकासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा हेरिएको टोखा–छहरे सुरुङमार्ग फेरि चर्चामा आएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पनि आयोजनाको सम्भाव्यता अध्ययनलाई अघि बढाउने उल्लेख भएपछि स्थानीयवासीमा नयाँ आशा जागेको छ ।
टोखा-छहरे व्यापारिक हिसाबले पनि निकै महत्त्वपूर्ण छ । टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माण भए हालको ठाडो र घुमाउरो सडकमार्गबाट हुने लामो यात्रा छोटिने अपेक्षा गरिएको छ ।
यसले काठमाडौं र उत्तरी सीमावर्ती क्षेत्रबीचको आवागमन सहज हुनुका साथै चीनसँगको व्यापारिक गतिविधिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
टोखा–छहरे सडकलाई काठमाडौंबाट केरुङ नाकासम्म पुग्ने महत्त्वपूर्ण व्यापारिक मार्गका रूपमा हेरिँदै आएको छ । सुरुङमार्ग निर्माण भए चीनसँगको व्यापारिक पहुँच थप सहज हुने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
नुवाकोटका बासिन्दाका लागि भने यो आयोजना केवल पूर्वाधार परियोजना मात्र नभई लामो समयदेखि देखाइएको राजनीतिक प्रतिबद्धताको प्रतीक बनेको छ । विभिन्न निर्वाचनमा जनप्रतिनिधिहरूले सुरुङमार्ग निर्माणको आश्वासन दिए पनि आयोजना अझै कार्यान्वयन चरणमा प्रवेश गर्न सकेको छैन ।
यो भन्दै गर्दा अहिलेसम्म केही नभएको भने होइन । पटक-पटक टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न बजेट विनियोजन भएको छ । टोखा–छहरे सुरुङमार्गको अवधारणा नयाँ पनि होइन ।
२०७६ सालमै चिनियाँ प्राविधिक टोलीले पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । उक्त अध्ययनले करिब ४ देखि ४.५ किलोमिटर लामो सुरुङ निर्माण गर्न सकिने देखाएको थियो । प्रारम्भिक अध्ययनअनुसार सुरुङ काठमाडौंको टोखाबाट शुरू भएर नुवाकोटको थानसिङ फाँट वा बुढीसेरा क्षेत्रमा निस्कने सम्भावना औंल्याइएको थियो । तर विस्तृत अध्ययन नटुंगिएकाले अन्तिम रेखांकन अझै तय हुन सकेको छैन ।
सुरुङमार्गको चर्चा बढेसँगै नुवाकोट क्षेत्रमा घरजग्गा कारोबारसमेत बढेको स्थानीयहरूको भनाइ छ । आयोजनाप्रति जनचासो र अपेक्षा निरन्तर बढ्दै गएको उनीहरू बताउँछन् ।
आर्थिक वर्ष २०८०/८१ मा तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले सुरुङमार्गका लागि एक अर्ब रूपैयाँ बजेट विनियोजन गरेपछि आयोजना थप चर्चामा आएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा समेत यस आयोजनालाई प्राथमिकतामा राख्दै विभिन्न पूर्वाधार परियोजनासँगै सहकार्यको विषय उठाइएको थियो ।
गत आर्थिक वर्षमा चिनियाँ पक्षले सम्भाव्यता अध्ययनका लागि कार्यान्वयन सम्झौताको मस्यौदा नेपाललाई पठाएको थियो । त्यसपछि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न आवश्यक सम्झौता हुनुपर्ने भए पनि प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन ।
अहिले बालेन नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमा पनि टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनको कामलाई अगाडि बढाइने कुरा उल्लेख गरेको छ ।
यसले अहिले जनतामा झन ठूलो आशा जगाएको छ । अब यसको निर्माणका लागि बालेन सरकारले कसरी काम अगाडि बढाउँछ त्यो भने हेर्न बाँकी छ ।
भिडियो सामग्री :