
पछिल्लो समय नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकहरू बढेका छन् । गर्मी छल्न नेपालका पहाडी तथा हिमाली पर्यटकीय गन्तव्यहरूमा पर्यटकको घुइँचो लाग्न थालेको हो । विशेष गरी गर्मीको समयमा भारतीय पर्यटकहरूले नेपालका होटलहरू भरिभराउ हुन थालेका छन् ।
काठमाडौं, पोखरा, मनाङ, मुस्ताङलगायत स्थानमा पर्यटकहरू बढ्न थालेको व्यवसायीहरू बताउँछन् । केही दिनअघि पोखरामा होटलहरूको अकुपेन्सी फुल भएर कोठा नै नपाउने अवस्था समेत सिर्जना भएको थियो ।
पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो । जहाँ अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलहरूका लागि पर्यटकहरू आउने गर्दछन् । पोखरा अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वार पनि हो । झन् अहिले अत्यधिक गर्मीका कारण तराईका जिल्लाबाट आन्तरिक पर्यटकहरू पनि यहाँ बढिरहेको होटल व्यवसायीहरू बताउँछन् ।
पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल बढेको छ । यसका साथै काठमाडौं वरपरका डाँडाहरूमा आन्तरिक पर्यटकहरूको उपस्थिति निकै राम्रो बढेको होटल एसोसिएसन नेपालका महासचिव साजन शाक्यले बताए । सरकारले शनिबार र आइतबार बिदा दिएपछि आन्तरिक पर्यटकहरूको चहलपहल पनि निकै बढेको उनको भनाइ छ ।
‘काठमाडौंमा पनि पछिल्लो समय भारतीय पर्यटकहरू निकै बढेका छन् । करिब ७० प्रतिशतको हाराहारीमा भारतीय पर्यटकहरू उपत्यकामा छन् । यता सरकारले दुई दिन बिदा दिएर हाम्रा आन्तरिक पर्यटकहरूको उपस्थिति पनि बढ्दो छ । काठमाडौंका डाँडाहरू नगरकोट, धुलिखेल, गोदावरीलगायत स्थानमा पर्यटकहरू भरिभराउ अवस्थामा छन् ।’
यसका साथै अन्य चिसो मौसम हुने स्थानमा पनि पर्यटकहरू बढ्न थालेको उनको भनाइ छ । मनाङ, मुस्ताङलगायत क्षेत्रहरूमा पनि होटलहरू बुकिङ नगरी नपाउने अवस्था रहेको उनले बताए ।
‘गर्मी छल्न पर्यटकहरू हिमाली जिल्लाहरूमा बढिरहेका छन् । मनाङ, मुस्ताङ जान होटलहरू पहिले नै बुक गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘माथिल्लो हिमाली जिल्लाहरूमा होटलहरू पनि निकै कम हुन्छन्, झन् त्यसमा अहिले पर्यटकहरू निकै बढेका छन् ।’
पोखरामा केही दिनसम्म भारतीय पर्यटकहरूले होटलको अकुपेन्सी फुल भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अहिले चाप घटिरहेको भए पनि आन्तरिक पर्यटकले चलायमान बनाइरहेको उनको भनाइ छ ।
‘हिजोअस्तिसम्म मात्रै होटलहरूमा अकुपेन्सी नै थिएन । सबैतिर भरिभराउको अवस्था थियो । यो सिजनमा अहिलेसम्मकै सर्वाधिक पर्यटक पोखरामा भित्रिएका छन्, जुन भारतीय पर्यटकहरू हुन्’, उनले भने, ‘अहिले भारतीय पर्यटकहरू घटिसकेका छन् । यो सिजन शून्य पर्यटक हुने समयमा पनि ३०–३५ प्रतिशत आजसम्म पनि छन् । यसका साथै हाम्रै आन्तरिक पर्यटकहरू पनि बढिरहेका छन् । सरकारको दुईदिने बिदाले चहलपहल बढाएको छ ।’
सीमित गन्तव्यहरूमा मात्रै पर्यटक, छायामा अन्य क्षेत्र
जेनजी आन्दोलनपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र अहिले सिजन र सरकारले थपिदिएको अतिरिक्त बिदाका कारण पुनर्जीवित भएको देखिन्छ । तर, नेपालका अधिकांश पर्यटकीय गन्तव्यहरू लामो दुरीमा र सडक पहुँच असुविधाका कारण छायामा परेका छन् । अहिले गर्मी छल्न पर्यटकहरू निश्चित गन्तव्यहरूमा मात्रै बढेका छन् । अर्थात् पोखरा, काठमाडौं, मनाङ, मुस्ताङजस्ता अत्यधिक चर्चामा रहेका गन्तव्यहरूमा मात्रै पर्यटकहरू बढेका छन् । तर, रारा, शे-फोक्सुण्डोजस्ता गन्तव्यहरूमा चहलपहल बढ्न सकेको छैन । काठमाडौं/पोखरामा अत्यधिक भएका पर्यटकहरूलाई छायामा परेका गन्तव्यहरूमा लैजान सक्नुपर्ने होटल एसोसिएसन नेपालका महासचिव साजन शाक्य बताउँछन् । यातायात र सडक पहुँच सहज भएमा पर्यटकहरू बढाउन सकिने उनको भनाइ छ ।
‘पोखरा, मनाङ, मुस्ताङ र काठमाडौंजस्ता सहज पहुँच भएका स्थानमा मात्रै पर्यटकहरू सीमित भएका छन् । यसबाहेक गर्मीको समयमा उपयुक्त गन्तव्यहरू पनि थुप्रै छन् । यस्ता क्षेत्रको सडक पहुँच सहज र यातायात सुविधा बढाउन सकेमा पर्यटकहरू सिफ्ट र बढाउन सकिन्छ’, उनले भने, ‘जसरी अहिले सरकारले दुई दिन बिदा दिएर पर्यटन क्षेत्रलाई चलायमान बनाउने काम गरेको छ, त्यसरी नै सडक पूर्वाधारको विकास गरेपछि रारा, शे-फोक्सुण्डोजस्ता सुन्दर गन्तव्यहरूमा बाह्य तथा आन्तरिक पर्यटकहरू बढाउन सकिन्छ । जसले अर्थतन्त्रलाई पनि चलायमान बनाउँछ, रोजगारी सिर्जना गर्छ । ठुला होटल तथा अन्य लगानीका लागि निजी क्षेत्र तयार छ । सरकारले सहयोग गर्दै गएपछि मात्रै पर्यटन क्षेत्रबाट आर्थिक रूपान्तरण सम्भव छ ।’