
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत निर्वाचनमा पार्टीले पाएको दुईतिहाइ मतको महिमा गाइरहने कि परिणाममा बदल्ने भन्दै प्रश्न गरेका छन् ।
प्राप्त उपलब्धिलाई परिणाममा बदल्न केही संकल्प र प्रतिबद्धता गर्नुपर्ने उनको भनाइ थियो ।
रास्वपा महाधिवेशनको बन्दसत्रलाई मंगलबार सम्बोधन गर्दै लामिछानेले नयाँ ढंगले काम गर्नुपर्ने बताएका हुन् । ‘देशको भविष्यको दिशानिर्देश गर्ने अवसर यो महाधिवेशन हो । विषम परिस्थितिमा स्थापना भएको दलले संसारमा बिरलै हुने घटना दुईतिहाइ बहुमत पाएको छ,’ रविले भने, ‘अब यसको महिमा गान गाउने कि परिणाममा बदल्ने, सबैको जवाफ हुन्छ- परिणाममा बदल्ने । परिणाममा बदल्न केही प्रतिबद्धता गर्न पर्छ, हामीले केही काम गर्नुपर्छ, कदम चाल्नै पर्छ ।’
पुराना दलको कार्यशैलीले नयाँ नतिजा नआउने भन्दै फरक ढंगले सोच्न कार्यकर्तापंक्तिसँग उनले आग्रह गरे । ‘राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने चरित्र उस्तै रह्यो भने परिणाम उस्तै हुन्छ, यसमा हामीले फरक ढंगले सोच्नै पर्छ,’ लामिछानेले भने ।
सोमबार बिहान नै शुरू हुनुपर्ने रास्वपा महाधिवेशनको बन्दसत्र मंगलबार दिउँसो मात्र शुरू भएको हो ।
बन्दसत्रमा अब नेतृत्व चयन प्रक्रिया शुरू गर्ने निर्वाचन समितिको तयारी रहेको छ।
असार ७ देखि शुरू भएको महाधिवेशन १ दिन लम्बिएर भोलि समापन गर्ने तयारी छ ।