१२ असार २०८३, शुक्रबार

चीनमा नयाँ ट्रेन्ड: महिलाको रोजाइमा किन पर्न थाले पुरुषका कपडा ?

असार १०, २०८३
काठमाडौं
चीनमा नयाँ ट्रेन्ड: महिलाको रोजाइमा किन पर्न थाले पुरुषका कपडा ?
File photo from East Asia Forum.

गर्मी याम नजिकिँदै गर्दा चीनकी एक युवती केक्सिनले आफ्नो दराजमा एउटा अनौठो परिवर्तन महसुस गरिन्। हिजोआज उनको दराजमा महिलाका भन्दा पुरुषका लुगाहरू बढी हुन थालेका छन्। उनले किनेका सर्ट, टी-सर्ट र हाफपाइन्ट आफ्ना बुबा वा प्रेमीका लागि थिएनन्— ती सबै उनले आफ्नै लागि किनेकी थिइन् ।

चीनमा यसरी पुरुषका लुगाहरू अपनाउने र यसबारे सामाजिक सञ्जाल तथा आफ्नो समूहमा खुलेर कुरा गर्ने युवा महिलाहरूमा केक्सिन एक्ली भने होइनन् । अचम्मको कुरा त के छ भने, यो ट्रेन्ड पछ्याउने अधिकांश महिलाहरूको अनुभव र कारणहरू मिल्दाजुल्दा छन्— उत्कृष्ट गुणस्तर, सस्तो मूल्य, बढी आरामदायी र शरीरलाई लिएर हुने 'बडी सेमिङ'बाट मुक्ति।

चीनको लोकप्रिय सामाजिक सञ्जाल एप 'शाओहोङ्शु'मा पुरुषका कपडा लगाउने महिलाहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ। यसमा महिलाहरूले पुरुषका कपडा लगाएका पोस्टहरूको ट्यागलाई ८ करोडभन्दा बढी पटक हेरिएको छ भने 'जेन्डर-न्यूट्रल ड्रेसिंग' ट्यागले त ९ करोडको आँकडा समेत पार गरिसकेको छ।

यी पोस्टहरूमा पुरुषका कपडाका फाइदाहरू व्यापक रूपमा बुझाइएको देखिन्छ। जस्तै: कपडामा कटन र लिनेनको बढी प्रयोग हुनु, सफा कटिङ, ठुला पकेट, नरम सिलाई, उत्कृष्ट फिनिसिङ र तुलनात्मक रूपमा निकै कम दाम।

केक्सिनको दराजमा यो परिवर्तन सन् २०२३ बाट शुरू भएको हो, जब उनको सोसल मिडिया फिडमा पुरुषका टी-सर्टहरू बेच्ने लाइभस्ट्रिमहरू देखिन थाले। शुरूमा उनलाई अचम्म लाग्यो, किनभने उनले कहिल्यै आफ्ना बुबा वा प्रेमीका लागि कपडा खरिद गरेकी थिइनन्। त्यसैले एल्गोरिदमले उनलाई यस्तो भिडियो किन देखायो भन्ने उनलाई लागेको थियो।

सामान्यतया महिलाहरूलाई लक्षित गर्ने विज्ञापनहरूमा कसरी पातलो देखिने वा"महिला सुहाउँदो सुन्दरताको मापदण्डमा जोड दिइन्छ। तर यो पुरुष कपडाको लाइभस्ट्रिममा भने कपडाको गुणस्तर र त्यसको सामग्री (मटेरियल) मा बढी ध्यान दिइएको थियो। केक्सिन भन्छिन्, 'यो कुरा मलाई निकै मन पर्‍यो। महिलाका कपडाहरूले सधैँ किन मुख्यधाराको सुन्दरताको मापदण्ड मात्र थोपर्छन् र तिनीहरूको डिजाइन किन यति असुविधाजनक हुन्छ भन्ने कुरा मैले कहिल्यै बुझ्न सकिनँ।'

आर्थिक रूपमा पनि यी कपडाहरू निकै सस्ता थिए। अधिकांश सर्टहरूको मूल्य १०० युआनभन्दा कम थियो। केक्सिनले पहिलो पटक आफ्ना लागि पुरुषको टी-सर्ट किनिन् र उनी आश्चर्यचकित भइन्। त्यो टी-सर्ट उनले यसअघि किनेका महिलाका टी-सर्टहरू भन्दा कयौँ गुणा बढी आरामदायक, बाक्लो र हावादार थियो, जबकि यसको मूल्य महिलाको कपडाको एक तिहाइ मात्र थियो। बिस्तारै पुरुषका लुगाहरूले उनको दराज नै कब्जा गर्न थाले।

यो ट्रेन्ड चल्नुको पछाडि चीनको कमजोर उपभोक्ता अर्थतन्त्र पनि एउटा ठुलो कारण हो, जुन सन् २०२२ को अन्त्यमा कोभिड-१९ को प्रतिबन्धहरू हटेदेखि नै जारी छ । साङ्घाई जस्तो सहरमा '९९६' सेड्युलमा काम गर्ने केक्सिन जस्ता कामकाजी महिलाहरू अचेल खर्चका मामिलामा निकै सतर्क हुन थालेका छन्। उनीहरू सजिलै जागिर बदल्न चाहँदैनन् र कपडा जस्ता चीजहरूमा ठुलो रकम खर्च गर्न सावधानी अपनाइरहेका छन्।

यस्तो अवस्थामा उपभोक्ताहरूले तीव्र रूपमा परिवर्तन भइरहने फेसनलाई छोडेर मूल्य र टिकाउपनलाई प्राथमिकता दिने 'रिभर्स कन्जम्पसन'को ट्रेन्ड अपनाएका छन्।

धेरै महिलाहरूका लागि यो परिवर्तन कुनै लैङ्गिक क्रान्ति वा जेंडर सम्बन्धी बयानबाजी भन्दा पनि विशुद्ध व्यावहारिक कुरा हो । चीनमा महिला कपडाको साइज निर्धारण सबैभन्दा बढी आलोचनाको विषय बनेको छ। टिकटकको चिनियाँ संस्करण 'दुइन' र शाओहोङ्शु जस्ता प्लेटफर्महरूमा पातला इन्फ्लुएन्सरहरूले समेत महिलाका तथाकथित 'ठुला साइज'का कपडाहरू आफूलाई मुस्किलले फिट हुने गरेको देखाउँछन्।

एक्सएल लेखिएका ड्रेसेसहरू तिघ्राबाट माथि चढ्न सक्दैनन्। तुलनात्मक रूपमा पातला महिलाहरूलाई सबैभन्दा सानो क्याटेगरीमा र थोरै अग्ला वा सामान्य शरीर भएका महिलाहरूलाई सिधै सबैभन्दा ठुलो साइजको श्रेणीमा धकेलिन्छ। एउटा भाइरल भिडियोमा त एक ब्लगरले महिलाको 'एल' साइजको टप आफ्नो पूडल प्रजातिको कुकुरलाई लगाइदिँदा त्यो कुकुरलाई ठीकसँग फिट भएको देखाइएको थियो ।

शंघाईकी एक वकिल ली (परिवर्तित नाम) भन्छिन् कि महिलाका कपडाहरू आफूलाई कहिल्यै फिट नहुने भएपछि उनले पुरुषका कपडा लगाउन थालिन्। उनको उचाइ १७० सेन्टिमिटर छ र काँध चौडा छ। युरोपमा अध्ययन गर्न नगएसम्म उनलाई आफ्नो शरीरका लागि 'एम' साइज पनि फिट हुन सक्छ भन्ने थाहै थिएन, किनभने चीनमा उनलाई सधैँ ठुलो साइज मात्र भनिन्थ्यो। उनी भन्छिन्, 'यहाँका महिलाका कपडाहरू म जस्तो शरीर भएका मानिसहरूका लागि बनेकै होइनन् जस्तो लाग्छ।'

उनी पुरुषका कपडाको उपयोगिताबारे भन्छिन्- पुरुषको 'एम' साइजको पाइन्टको गोजीमा ११ इन्चको ट्याब्लेट र एउटा किताब आरामसँग अटाउँछ र कपडाको फिटिङ पनि बिग्रिँदैन। 'के महिलाका कपडाले यस्तो गर्न सक्छन्? त्यहाँ त एउटा लिपस्टिक राख्दा पनि गोजी भारी देखिन थाल्छ,' उनले प्रश्न गरिन्।

कोभिड महामारीपछि चीनको कपडा क्षेत्र निकै खुम्चिएको छ। यसको उत्पादन र निर्यात दुवै घटेका छन्। रिटेल ग्रोथको दर सन् २०२३ मा करिब १५ प्रतिशत रहेकोमा सन् २०२४ मा घटेर मात्र ०.१ प्रतिशतमा सीमित भयो। कम्पनीहरूले अब नयाँ डिजाइनका कपडाहरू बनाउन कम गरेका छन् र उपभोक्ताहरू पनि खर्च कटौती गरिरहेका छन्।

खर्च कम गर्न कतिपय ब्रान्डहरूले आफ्नै डिजाइन बनाउनुको सट्टा दक्षिण-पूर्वी एसियाबाट तयारी प्याटर्नहरू खरिद गरिरहेका छन्। तर ती डिजाइनहरू चिनियाँ नागरिकहरूको शारीरिक बनावटमा फिट हुँदैनन्, जसका कारण खराब फिटिङ र तथाकथित 'चाइल्ड-साइज' (बच्चाको आकार जस्तो सानो) महिला कपडाहरूको चलन बढेको छ।

डिजाइनको छनोट पनि नाफा र लागतसँग जोडिएको हुन्छ। पातलो शरीरका लागि कपडा बनाउन सस्तो र सजिलो हुन्छ, जबकि ठुलो साइजका लागि जटिल सिलाई र बढी कपडा लाग्ने हुँदा लागत उच्च हुन्छ। कपडा विश्लेषक वाङ भन्छिन्, 'यदि २० वटा ठुलो साइज बेच्ने लागत २०० वटा मिडियम साइज बेच्ने जति नै हुन्छ भने कम्पनीहरूले ठुलो साइज बनाउन नै छोडिदिन्छन्।'

अहिले कपडा उत्पादनको लागत र खर्च तीव्र रूपमा बढिरहेकाले उत्पादकहरू नयाँ दबाबमा छन् र आगामी वर्षहरूमा महिलाका कपडाहरू अझ पातलो र सानो कपडा प्रयोग गरेर बनाइने सम्भावना छ। यस्तो अवस्थामा केक्सिन जस्ता चिनियाँ महिला खरिदकर्ताहरूका लागि पुरुषको कपडातर्फको यो आकर्षण अझ तीव्र गतिमा अगाडि बढ्ने निश्चित देखिन्छ। बीबीसी

salt training

कमेन्ट गर्नुहोस्