
भेनेजुएलामा एक मिनेटभन्दा कमको अन्तरालमा गएका लगातार दुईवटा शक्तिशाली भूकम्पका कारण व्यापक जनधनको क्षति भएको छ। देशको इतिहासमा एक शताब्दीभन्दा बढी समयपछिकै सबैभन्दा शक्तिशाली मानिएको प्राकृतिक विपत्तिपछि अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा संकटकालको घोषणा गरेकी छन् । राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उनले संकटकालको घोषणा गरेकी हुन् । सरकारले विपद् व्यवस्थापन र उद्धार कार्यको नेतृत्व सम्हाल्न एक जनरललाई जिम्मेवारी तोकेको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु याराकुई राज्यको सान फेलिपे वा क्यारिबियन तटीय क्षेत्रमा रहेको मोरोन समुदायभन्दा पश्चिममा जमिनबाट २२ किलोमिटर गहिराइमा रहेको थियो। त्यसको लगत्तै मात्र ३९ सेकेन्डपछि मोरोनभन्दा १६ किलोमिटर दक्षिण-पश्चिममा १० किलोमिटरको गहिराइलाई केन्द्रविन्दु बनाएर ७.५ म्याग्निच्युडको अर्को विनाशकारी भूकम्प गएको थियो।
युएसजीएसले दोस्रो मुख्य धक्कापछि देशमा व्यापक मानवीय हताहती र भौतिक क्षतिको उच्च सम्भावना औँल्याउँदै १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र १ लाखभन्दा बढीको ज्यान जाने जोखिम ३० प्रतिशत रहेको प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पहिलो भूकम्पपछि हालसम्म २० भन्दा बढी पराकम्पहरू गइसकेका छन्।
भूकम्पको धक्का यति शक्तिशाली थियो कि केन्द्रविन्दुबाट करिब १,७०० किलोमिटर टाढा रहेको ब्राजिलको अमेजन क्षेत्रका सहरहरूमा समेत भवनहरू खाली गराइएका थिए । राजधानी काराकासमा कतिपय भवनहरू पूर्ण रूपमा भत्किएका छन् भने कतिपय घरका पर्खालहरू भत्किँदा भित्र रहेका फर्निचरहरू सडकबाटै प्रस्ट देखिने अवस्था बनेको छ।
व्यवसायिक रूपमा व्यस्त रहने काराकासका दुईवटा क्षेत्रहरूमा धुलोको विशाल स्तम्भ उडेको देखिएको थियो। भूकम्पका कारण राजधानीमा पेट्रोल आपूर्ति ठप्प भएको छ भने भग्नावशेष भित्रबाट मानिसहरूले उद्धारका लागि गुहार मागिरहेका छन्।
आन्तरिक मामिला मन्त्रीले नागरिकहरूलाई सुरक्षित रहन आ-आफ्नो घर छोड्न आग्रह गरेका छन् । तटीय राज्य फाल्कोनका गभर्नर भिक्टर क्लार्कले भूकम्प गएको चार घण्टाभन्दा बढी समय भइसक्दा पनि १५ जना मानिस अझै भग्नावशेषमा फसिरहेको र ३२ जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिए। भूकम्पबाट ला गुएरा, अरागुआ, काराबोबो र फाल्कोनसहित देशको उत्तरी तटीय क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

महाविपत्तिपछि अन्तरिम राष्ट्रपति रोड्रिगेजले देशमा हालका लागि रेल र मेट्रो सेवाहरू पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएकी छन् । यसका साथै राजधानी बाहिर रहेको देशको मुख्य विमानस्थल 'माइकेटिया'को सिलिङको केही भाग भत्किएका कारण विमानस्थललाई पनि बन्द गरिएको छ।
सरकारले यो हप्ताका बाँकी दिनहरूका लागि विद्यालय तथा कलेजका कक्षाहरू स्थगित गरेको छ भने शिक्षा मन्त्रालयले कतिपय विद्यालयहरूलाई आश्रयस्थल र राहत सङ्कलन केन्द्रका रूपमा प्रयोग गरिने जनाएको छ। राष्ट्रपति रोड्रिगेजले देशका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई घाइतेहरूको उपचारका लागि तुरुन्त अस्पतालहरूमा उपस्थित हुन निर्देशन दिउकी छन् ।
भेनेजुएला राजनीतिक रूपमा एउटा संवेदनशील सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेकै बेला यो प्राकृतिक विपत्ति आइलागेको हो। गत जनवरीमा तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले पक्राउ गरी लागूऔषध ओसारपसारको मुद्दामा सुनुवाइका लागि न्यूयोर्क पुर्याएपछि पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा देशको बागडोर सम्हालेकी हुन् । हाल त्यहाँको सत्तारूढ समाजवादी पार्टी र विपक्षी दलहरूबीच लोकतान्त्रिक सङ्क्रमणका लागि प्रारम्भिक वार्ताहरू भइरहेका छन्।

यसैबीच, संयुक्त राज्य अमेरिकाले भेनेजुएलाप्रति ऐक्यबद्धता प्रकट गर्दै उद्धार टोली र मानवीय सहायता सामग्री पठाउने घोषणा गरेको छ। अमेरिकी वैदेशिक सहायतासम्बन्धी उप-सचिव जेरेमी लेविनले विदेश मन्त्रालयले भेनेजुएलाको अन्तरिम सरकारका साझेदारहरूसँग मिलेर काम गरिरहेको र यो संकटको घडीमा खोज तथा उद्धार टोली, चिकित्सा र मानवीय सामग्रीहरू पठाइने बताए ।
तस्वीरहरू : एपी/एएफपी