२९ असार २०८३, सोमबार

सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न थप एक साताको समय

असार १२, २०८३
काठमाडौं
सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न थप एक साताको समय

सरकारले काठमाडौं उपत्यकाका होल्डिङ सेन्टरहरूमा बसिरहेका सुकुम्बासीहरूलाई ती केन्द्रहरू खाली गर्न थप एक हप्ताको समय दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आज एक सूचना जारी गर्दै आगामी असार १९ गतेसम्मका लागि समयसीमा बढाएको हो ।

यसअघि समितिले असार ९ गते सूचना निकाल्दै असार १२ गतेभित्रै होल्डिङ सेन्टरहरू छाडेर आ-आफ्नो व्यवस्थापन गर्न निर्देशन दिएको थियो । तर, घरभाडा खोज्न र अन्य व्यवस्था मिलाउन सो अवधि निकै छोटो भएको भन्दै गुनासो आएपछि समितिले म्याद थप गर्ने निर्णय गरेको हो ।

सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका विभिन्न नदी किनारका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचनाहरू भत्काएको थियो । त्यसबेला बस्तीबाट हटाइएका नागरिकहरूलाई दशरथ रङ्गशालामा विवरण दर्ता गराई विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको थियो ।

हाल होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ दिएर त्यहाँबाट बिदा गर्ने तयारी गरेको छ । उक्त राहत रकम प्राप्त गर्न आगामी असार १५ गतेभित्र दशरथ रङ्गशालामा उपस्थित भई आफ्नो बैंक खाता नम्बरसहित निवेदन दिन आग्रह गरिएको छ ।

उचित र स्थायी व्यवस्थापन विना नै २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरहरूबाट पनि निकाल्न लागिएको भन्दै सुकुम्बासी र सरोकारवालाहरूले विरोध गरेका छन् । नदी किनारबाट हटाउने समयमा ६० दिनभित्र स्थायी व्यवस्थापन गर्ने आश्वासन दिएर आफूहरूलाई होल्डिङ सेन्टरमा राखिएको तर, अहिले विना विकल्प हटाइन लागिएको उनीहरूको गुनासो छ ।

null

salt training

कमेन्ट गर्नुहोस्