३० असार २०८३, मंगलबार

खरिपाटी होल्डिङ सेन्टरमा ६ मन्त्रीका ६ थरि आश्वासन

असार २९, २०८३
काठमाडौं
खरिपाटी होल्डिङ सेन्टरमा ६ मन्त्रीका ६ थरि आश्वासन
फाइल तस्वीर

गृहमन्त्री सुधन गुरुङले वास्तविक सुकुमवासीको व्यवस्थापन सरकारले गर्ने बताएका छन् । आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा मन्त्रीहरूको टोलीले अनुगमन गरी सुकुमवासीहरूसँग अन्तरक्रिया गर्दै उनले सरकारले सबै कुराको व्यवस्थापन गर्ने बताएका हुन् । 

गृहमन्त्री गुरुङले भने, 'जतिसक्दो छिटो हामी व्यवस्थापन गर्न खोजिरहेका छौँ । पहिला हामी वास्तविक सुकुमवासीको तथ्याङ्क लिँदैछौँ । सरकारले व्यवस्थापन गर्छ, म सुकुमवासी हो, मेरो केही छैन, केही गर्न सक्दिनँ भनेर नबस्नुहोस्, त्यो स्तरबाट उठ्ने प्रयास गर्नुपर्छ ।'

उनले होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई विद्यालय जान सवारीसाधनको व्यवस्था गरिने, खानाको व्यवस्था पनि यही हुने र सरकारले सबै समस्या समाधान गर्ने उल्लेख गरे । 
 
उनले भने, 'तपाईँहरूको समस्या बुझ्न हामी छौँ, तर यहाँ अरूले के भन्छ भन्नेमा लाग्ने होइन । तपाईँहरूको विषयलाई लिएर राजनीति भइरहेको छ, त्यो राम्रो होइन । हामीबाट गल्ती भए क्षमा चाहन्छौँ ।'

कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेलले बालबालिकालाई विद्यालय जान सवारीसाधनको व्यवस्था गरिएको बताउँदै पढ्न कापी, किताब, कलम सबै व्यवस्थापन गरिने बताए ।

कार्यक्रममा स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहताले होल्डिङ सेन्टरमा बस्नेका लागि चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गर्ने बताउँदै दीर्घरोगीका आवश्यक औषधि व्यवस्था गर्ने बताइन् ।

त्यस अवसरमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वास्तविक सुकुमवासीलाई लालपुर्जा दिने सरकारको नीतिअनुसार नै बर्दियाबाट अभियान प्रारम्भ भएको बताइन् । उनले जतिसक्दो छिटो मुलुकभरिका सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने बताउँदै दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी लालपुर्जा वितरण गर्ने स्पष्ट पारिन् ।
 
त्यस्तै, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले  वास्तविक सुकुमवासीको विवरण दिएर सहयोग गर्न आग्रह गरिन् ।

युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुकुमवासी समुदायलाई रोजगार उपलब्ध गराउन सरकारले अधिकतम प्रयास गर्ने बताए । उनले सीपमूलक तालिमको व्यवस्था गरेर दक्ष बनाउने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा भक्तपुरका तीनवटै सुरक्षा निकायका प्रमुखले होल्डिङ सेन्टरको सुरक्षा व्यवस्थापनलाई चुस्तदुरुरुत राख्ने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्