१५ असार २०८३, सोमबार
५२ वर्ष पुरानो अर्जेन्टिना–नेदरल्यान्ड्स भिडन्त

लुसेलको त्यो ‘रणभूमि’, जहाँ इतिहासकै सर्वाधिक कार्डको वर्षा भयो !

असार १३, २०८३
काठमाडौं

फुटबललाई ‘सभ्य र सुन्दर खेल’ भनिन्छ । तर, सन् २०२२ को फिफा विश्वकपमा एउटा यस्तो घटना भयो, जसले यो सुन्दर खेलका पारखीहरूलाई थोरै समय भए पनि घोत्लिन बाध्य बनायो ।

कतारमा आयोजित त्यो विश्वकपमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच भएको क्वार्टरफाइनल खेल दर्शकका लागि ‘सुन्दर’भन्दा पनि ‘तनावपूर्ण’ र ‘अराजक’ बढी थियो ।

कतारको लुसेल रंगशालामा भएको त्यो खेल केवल दुई बलिया टोलीबीचको भिडन्तमात्र थिएन, बरु रेफ्रीको खल्तिमा रारिखएका कार्डहरूले रेकर्ड तोड्ने खेलजस्तो देखिन्थ्यो ।

कार्डको वर्षा र कीर्तिमानी खेल

त्यो खेलमा स्पेनिस रेफ्री एन्टोनियो मातेउ लाहोजले एक वा दुई होइन, कुल १८ पटक पहेँलो कार्ड र एउटा रातो कार्ड निकालेर विश्वकप इतिहासकै कीर्तिमान कायम गरे ।

खेल शुरू हुनुअघि नै वातावरण तनाबपूर्ण बनिसकेको थियो । त्यसको पहिलो संकेत, अर्जेन्टिनाका सहायक प्रशिक्षक वाल्टर सामुएलले खेलको शुरूआती मिनेटमै पाएको पहेँलो कार्डबाटै शुरू भयो ।

नाहुल मोलिनाले अर्जेन्टिनाका लागि पहिलो गोल गर्नुअघि नै कार्डको खेल शुरू भइसकेको थियो । ४३औँ मिनेटमा नेदरल्यान्ड्सका जुरियन टिम्बर र अर्जेन्टिनाका मार्कोस अकुनाले पहेँलो कार्ड पाए ।

दोस्रो हाफको अन्त्यतिर पुग्दा बेन्चमा रहेका डच स्ट्राइकर वाट वेघोर्स्टले समेत कार्ड पाएपछि खेलको तनाब झनै छताछुल्ल भएको थियो ।

मेसीको गोल र बढ्दो आक्रोश

खेलको ७३औँ मिनेटमा लियोनल मेसीले पेनाल्टीमार्फत गोल गरेर अग्रता २–० पुर्‍याएपछि मैदानको तापक्रम झनै बढ्यो ।

८३औँ मिनेटमा वेघोर्स्टले गोल गरेर खेललाई पुन: प्रतिस्पर्धात्मक बनाए । ८८औँ मिनेटमा अर्जेन्टिनाका लियान्द्रो पारेडेसले गरेको एक खराब ट्याकलपछि बललाई डच बेन्चतर्फ जोडले हिर्काए ।

यो घटनाले मैदानमा खेलाडी र परिवर्तित खेलाडीहरूबीच धक्का–मुक्कीको अवस्था सिर्जना गर्‍यो । सोही कारणले अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीसहित थप खेलाडीले पहेँलो कार्ड खाए ।

‘स्टपेज टाइम’को नाटकीय मोड

खेल सकिनै लाग्दा १० मिनेटभन्दा बढीको स्टपेज टाइम थपियो । इन्जुरी समयको अन्तिम क्षणमा वेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याएपछि डच टोलीमा नयाँ उत्साह जाग्यो । अतिरिक्त समयमा समेत खेलाडीहरू थामिएनन् र थप तीन खेलाडीले पहेँलो कार्ड पाए ।

पेनाल्टी सुटआउटमा पनि ‘कार्ड’को निरन्तरता

खेल २–२ गोलको बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटबाट भयो । तर, पेनाल्टी सुटआउटको बीचमा पनि नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिज र नोआ लाङले झगडा गरेपछि पहेँलो कार्ड खानुपर्‍यो ।

अन्तत: उक्त खेलमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा ४–३ गोलले विजयी भयो । खेल सकिएपछि डम्फ्रिजले पुन: झगडा गर्दा दोस्रो पहेँलो कार्ड खाँदै रातो कार्डको सामना गर्नुपर्‍यो ।

अन्तिम नतिजासँगै १८ कार्डको कीर्तिमान

खेलको अन्त्यसम्ममा अर्जेन्टिनाका आठ र नेदरल्यान्ड्सका आठजना खेलाडीले पहेँलो कार्ड पाइसकेका थिए ।

त्यसबाहेक, अर्जेन्टिनाको कोचिङ स्टाफले पनि दुईवटा पहेँलो कार्ड पाए भने डम्फ्रिजले रातो कार्ड पाए । कुल १८ पहेँलो कार्डसहित यो खेल विश्वकपको इतिहासमै सबैभन्दा धेरै कार्ड देखाइएको  खेलका रूपमा दर्ज हुन पुग्यो ।

खेलपछि रेफ्री मातेउ लाहोजको चर्को आलोचना भयो । धेरैले उनले खेलमा नियन्त्रण गुमाएको आरोप लगाए ।

तर, इतिहासले के पनि सम्झन्छ भने, त्यही तनाबपूर्ण खेलबाट गुज्रिएको अर्जेन्टिनाले अन्तत: फाइनलमा फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि नै उचालेको थियो ।

५२ वर्ष लामो प्रतिद्वन्द्वी 

फुटबलको मैदानमा कतिपय प्रतिद्वन्द्वि भौगोलिक सिमानाभित्र सीमित हुन्छन् । तर, अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको फुटबल प्रतिद्वन्द्वीताले भने यी दुई देशबीचको महासागरीय दूरीलाई समेत मेटाइदिएको छ ।

दक्षिण अमेरिकी महाशक्तिको अर्जेन्टिना र ‘टोटल फुटबल’को जननी युरोपेली राष्ट्र नेदरल्यान्ड्स जब–जब मैदानमा आमने–सामने हुन्छन्, तब–तब फुटबलको मैदानमा एउटा छुट्टै इतिहास लेखिन्छ ।

यी दुई टोलीबीचको औपचारिक प्रतिद्वन्द्वीता सन् १९७४ को मे महिनामा भएको एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट शुरू भएको थियो । त्यो खेलमा नेदरल्यान्ड्स ४–१ गोलले विजयी भएको थियो ।

त्यसको ठीक एक महिनापछि, सन् १९७४ को फिफा विश्वकपको समूहगत चरणमा फेरि यी दुई टोली आमने–सामने भए । त्यो खेलमा योहान क्रुफको जादुमयी प्रदर्शनमा नेदरल्यान्ड्सले अर्जेन्टिनालाई ४–० को फराकिलो अन्तरले हराएको थियो ।

सन् १९७८ को फिफा विश्वकप फाइनल यी दुई राष्ट्रका लागि इतिहासकै सबैभन्दा चर्चित र विवादास्पद अध्याय बन्न पुग्यो ।

घरेलु मैदानमा ओर्लिएको अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ३–१ गोलले हराउँदै पहिलो पटक विश्वकप उपाधि उचाल्यो । तर, त्यो जित त्यति सहज थिएन ।

जर्ज राफेल भिडिलाको तानाशाही शासनकालमा भएको उक्त प्रतियोगितामा राजनीतिक दबाब र पेरुसँगको खेलमा ‘म्याच फिक्सिङ’को गम्भीर आरोपहरू समेत लागेको थियो । त्यतिबेला मारियो केम्पसको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनालाई उपाधि दिलाएको थियो ।

दशकौँसम्म चलेको मौनतापछि सन् १९९८ को विश्वकप क्वार्टरफाइनलमा यी दुई टोलीबीच फेरि कडा प्रतिस्पर्धा भयो । त्यो खेलमा दुवै टोलीका एक–एक खेलाडी रातो कार्ड खाएर मैदानबाट बाहिरिए ।

खेल १–१ को बराबरीमा चलिरहँदा अन्तिम समयमा डेनिस बर्गक्याम्पले गरेको अविश्वसनीय गोल आज पनि विश्वकप इतिहासकै सबैभन्दा उत्कृष्ट गोलमध्ये एक मानिन्छ । अन्तत: त्यही गोलले नेदरल्यान्ड्सलाई २–१ को जित दिलायो ।

त्यसपछि, सन् २००६, सन् २०१४ र सन् २०२२ को विश्वकपमा यी टोलीबीच भएको भिडन्तले तनावलाई झनै सतहमा ल्यायो ।

सन् २०१४ को सेमिफाइनल गोलरहित बराबरीमा सकिएपछि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–२ गोलले पाखा लगायो ।

तर, सबैभन्दा बढी चर्चा भयो, सन् २०२२ को कतार विश्वकपको क्वार्टरफाइनलको । माथि चर्चा गरिएको प्रसंग यही खेलको हो, जुन ‘ब्याटल अफ लुसेल’को नामले चर्चित छ ।

यी दुई टोलीबीच हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा १० पटक भेट भएको छ । त्यसमध्ये ६ पटक विश्वकपको मञ्चमा प्रतिस्पर्धा भएको छ ।

समग्रमा नेदरल्यान्ड्स चार पटक विजयी भएको छ भने अर्जेन्टिनाले एक पटक सन् १९७८ मा जित हात पारेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएका छन्, जसमा अर्जेन्टिनाले दुई पटक पेनाल्टी सुटआउटमा बाजी मारेको छ ।

विश्व फुटबलमा ‘सुपरपावर’ मानिने यी दुई देशबीचको भिडन्त केवल ९० मिनेटको खेलमात्र होइन, यो पराक्रम, रणनीति र भावनाहरूको एक सुन्दर मिश्रण पनि हो ।

जब अर्जेन्टिना र नेदरल्यान्ड्स एकअकाविरुद्ध मैदानमा ओर्लन्छन्, दर्शकले सधैं फुटबलको एउटा नयाँ महाकाव्यको प्रतीक्षा गरिरहेका हुन्छन् ।

हेर्नुहोस् भिडियो :

salt training

कमेन्ट गर्नुहोस्