३१ असार २०८३, बुधबार
चिरीबाबुको 'स्मार्ट प्रोजेक्ट'

'उज्यालो ललितपुर' : बल्खु-बालकुमारी सडकखण्डमा अब रात पर्दैन !

असार २१, २०८३
काठमाडौं

ललितपुर महानगरपालिकाले ‘उज्यालो ललितपुर’ अभियानअन्तर्गत बल्खुदेखि बालकुमारीसम्मको करिब ८.८ किलोमिटर सडकखण्डमा अत्याधुनिक स्मार्ट एलईडी सडकबत्ती जडानको कामलाई तीव्रता दिएको छ ।

महानगरका अनुसार आगामी करिब दुई महिनाभित्र उक्त सडकखण्ड पूर्ण रूपमा प्रकाशयुक्त बनाउने लक्ष्य राखिएको छ।

यो आयोजना ललितपुर महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागको संयुक्त लगानीमा सञ्चालन भइरहेको हो ।

आयोजनाको सम्झौता रकम १४ करोड ५८ लाख रुपैयाँ रहेको छ भने समग्र लागत १६ करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

महानगरका सामाजिक विकास महाशाखा प्रमुख प्रदीप पौडेलका अनुसार जडान गरिएका स्मार्ट एलईडी बत्तीहरू स्वचालित प्रणालीमा आधारित छन् ।

प्राकृतिक उज्यालो–अँध्यारो तथा समयअनुसार बत्ती आफैँ बल्ने र निभ्ने व्यवस्था गरिएको छ । बत्ती सञ्चालन तथा अनुगमनका लागि केन्द्रिकृत कम्प्युटर प्रणाली विकास गरिएको उनले बताए ।

उनका अनुसार उक्त प्रणालीमार्फत कुन स्थानको बत्तीमा समस्या आएको छ वा कहाँ मर्मत आवश्यक छ भन्ने जानकारी तत्काल प्राप्त हुने भएकाले सञ्चालन तथा मर्मत व्यवस्थापन प्रभावकारी हुनेछ ।

महानगरका अनुसार सडकबत्ती र पोल विशेष डिजाइनका साथ चीनबाट आयात गरिएका हुन् । सडकको चौडाइ, उचाइ र आवश्यक प्रकाशको तीव्रतालाई ध्यानमा राखेर उपकरणहरू अनुकूलन (कस्टमाइज) गरिएको जनाइएको छ ।

महानगरले यस आयोजनाको मुख्य उद्देश्य रात्रिकालीन सडक सुरक्षामा सुधार ल्याउनु, दुर्घटना न्यूनीकरण गर्नु तथा पैदलयात्री र सवारी चालकको आवागमनलाई सुरक्षित बनाउनु रहेको जनाएको छ । पर्याप्त प्रकाश व्यवस्थाले आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षा निकायको गस्ती र निगरानीलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यससँगै महानगरले सडक सौन्दर्यीकरणलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । महानगरका अनुसार रात्रिकालीन समयमा हवाईजहाजबाट हेर्दा ललितपुरलाई स्पष्ट रूपमा पहिचान गर्न सकिने गरी सहरलाई उज्यालो बनाउने अवधारणाअनुसार परियोजना अघि बढाइएको हो ।

हाल चक्रपथअन्तर्गत उक्त सडकखण्डमा पोल जडान, केबल विस्तार तथा बत्ती जडानको काम भइरहेको छ ।

महानगरले स्मार्ट सडकबत्तीको विस्तार मुख्य सडकमा मात्र सीमित नराखी भित्री सडकमा पनि गरिरहेको जनाएको छ ।

चौथो चरणअन्तर्गत धापाखेल, हरिसिद्धि र भैंसेपाटी क्षेत्रमा यस्ता बत्ती सञ्चालनमा आइसकेका छन् भने हाल ८ मिटर चौडाइसम्मका भित्री सडकमा समेत स्मार्ट एलईडी सडकबत्ती जडान गर्ने कार्य अगाडि बढाइएको छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्