२० असार २०८३, शनिबार

कोरोना संक्रमणको चिन्ता कसरी हटाउने ? डा. पाण्डेका २० टिप्स

फागुन २६, २०७६
कोरोना संक्रमणको चिन्ता कसरी हटाउने ? डा. पाण्डेका २० टिप्स

- डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

आजको शक्तिशाली विश्व आँखाले देख्न नसकिने कोरोना भाइरसको कारण त्रसित छ। हरेक वर्ग, समुदाय र देशका व्यक्तिले आफूलाई असुरक्षित ठानिरहेका छन्। यस्तो लाग्दैछ, कोरोना संक्रमणले भन्दा कोरोना चिन्ताले मान्छेहरु पीडित भइरहेका छन्।

समयमै कोरोना चिन्ताको ख्याल नगर्ने हो भने ठूलो संख्यामा मनोरोगी बढ्ने खतरा छ। आत्मबल, आत्मविश्वास, सकारात्मक तथा आशाबादी सोंच एबम पूर्वतयारीले कोरोना चिन्तालाई पराजित गर्न सकिन्छ।

यसको लागि यी उपाय अपनाउनुस्

१. आफूलाई सक्रिय राख्ने। पहिलेभन्दा धेरै काम गर्ने। संकटको लागि आर्थिक क्षमता बढाउने।

२. प्रयाप्त भ्रमण, ब्यायाम, योग, ध्यान, चिन्तन तथा आफ्नो आस्था अनुसारका धार्मिक/ सांस्कृतिक अनुष्ठान गर्ने।

३. अत्यन्त विश्वासिला सञ्चारमाध्यम, चिकित्सक, जनस्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मीका आधिकारिक कुराको मात्र विश्वास गर्ने। मिडिया ब्रेक लिने। अवैज्ञानिक टिप्सको विश्वास नगर्ने।

४. सामाजिक सन्जाल प्रयोग जति सकिन्छ, घटाउने।

५. सहयोगी, आशावादी तथा सकारात्मक व्यक्तिसँग समय बिताउने।

६. बालबालिका तथा जेष्ठ नागरिकलाई भरोसा,विश्वास तथा परामर्श दिने।

७. नियमित औषधि सेवन गर्ने व्यक्तिको मनोबल बढाउनको लागि ३-४ महिनाको औषधि किनेर स्टक राख्ने।

८. कारणबस कोरोना प्रकोप फैलिएमा वा नाकाबन्दी भएर आपूर्ति समस्या भएमा भोग्नुपर्ने प्रतिकूल अवस्थाको योजना बनाउने। जस्तै, चामल, दाल, ग्यास, तेल, नुन, पानी जस्ता अत्यावश्यक सामग्री २-३ महिनाको लागि सुगम बनाउने।

९. सरकार, सरकार मातहतका अंग, स्वास्थ्यकर्मी, अस्पताल, निजी क्षेत्र, आफन्त तथा छिमेकी एवम् अन्तराष्ट्रिय समुदायको विश्वास गर्ने।

१०. संक्रमित भएमा कहाँ बस्ने, कहाँ उपचार गर्ने लगायतका विषयको पूर्वयोजना बनाउने।

११. आफूलाई अप्ठ्यारो परेमा सहयोग गर्न सक्ने व्यक्ति तथा समुदायसँग सम्बन्ध थप बलियो बनाउने।

१२. पोषिलो खाना खाने, पर्याप्त सुत्ने, सफा रहने, जोक गर्ने, रमाइला कार्यक्रम हेर्ने, समाजले हौसला दिने खालका काम गर्ने आदि गरेर शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त रहने।

१३. मनमा कोरोना सम्बन्धि कुरा खेलिरहेमा आत्मविश्वास बढाउने खालका प्रबचन सुन्ने (जस्तै : ओशो, रविशंकर, धार्मिक गुरुहरु, मोटिभेसन स्पिकर आदि ), अन्य सिर्जनशील काम गर्ने।

१४. सहरमा कोरोना संक्रमण तीब्र भएमा गाउँ जाने विकल्प तयार गर्ने।

१५. बैदेशिक भ्रमण स्थगित गर्ने, आन्तरिक भ्रमणमा निस्किने। भ्रमणले तरोताजा बनाउँछ। मिल्ने समूहसँग हाइकिंग जाने।

१६. चिन्ता तथा तनावलाई लेख्ने। दैनिक डायरी लेख्ने।

१७. आफ्ना प्रियजनलाई प्रेमिल पत्र, मेल, म्यासेज लेख्ने।

१८. आफ्नो  व्यवसायमा घाटा भएमा यसलाई अल्पकालीन ठानेर अनुकुल दिनको लागि तयारी गर्ने। नयाँ व्यवसाय, सेयरमा लगानी जस्ता काम केहि समयलाई स्थगित गर्ने।

१९. धेरै तनाव र चिन्ता भएमा मनोरोग विशेषज्ञ, मनोपरामर्शदातासँग सम्पर्क गर्ने। आवश्यक परे थेरापी तथा उपचार सुरु गर्ने।

२०. अरुको जे ताल आफ्नो पनि त्यहि ताल भन्ने सोंचेर चिन्तालाई न्यूनीकरण गर्ने। जन्म, वृद्धि, क्षय र मरणको प्रक्रियालाई आत्मसात गर्ने।

salt training

कमेन्ट गर्नुहोस्