२१ असार २०८३, आइतबार
असली नायक

विश्वकपले कहिल्यै नबिर्सने 'ब्लु सार्क्स' : हारेर पनि 'हर्ट विनर' बनेको केप भर्डे !

असार २०, २०८३
काठमाडौं
विश्वकपले कहिल्यै नबिर्सने 'ब्लु सार्क्स' : हारेर पनि 'हर्ट विनर' बनेको केप भर्डे !
फ्लोरिडाको मायामी गार्डेन्समा विपक्षीको प्रहार बचाउँदै केप भर्डका गोलकिपर भोजिन्हा। तस्वीर : एपी

केप भर्डे यसपालि फिफा विश्वकपकै सबैभन्दा सानो राष्ट्र थियो होला, तर प्रतियोगितामा उसले छोडेको छाप भने निकै ठुलो र गहिरो छ। किलियन एम्बाप्पे, लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, एर्लिङ हालान्ड र ह्यारी केनजस्ता स्थापित सुपरस्टारहरूलाई केही बेरका लागि बिर्सिदिनुस्, किनकि यस पटकको प्रतियोगितामा डेब्यु गरेको एउटा सानो टोली नै विश्वकै ध्यानको केन्द्र बन्यो ।

स्पेनविरुद्धको खेलमा पहिलो विश्वकप अंक दिलाउन गोलकिपर भोजिन्हाले देखाएको बहादुरी होस् वा उरुग्वेविरुद्ध पहिलो विश्वकप गोल गर्दाको रोमान्च, अथवा अर्जेन्टिना विरुद्धको खेलमा सिड्नी लोपेस काब्रालले प्रहार गरेको त्यो सनसनीपूर्ण गोल, जसले प्रतियोगिताकै सबैभन्दा ठुलो उलटफेरको संकेत गरेको थियो- केप भर्डेको विश्वकप यात्रामा एउटा पूर्ण नाटकका सबै तत्त्वहरू थिए ।

मियामीमा जब अतिरिक्त समयको खेल सकिएको सिट्टी बज्यो, केप भर्डेका 'ब्लु सार्क्स'का खेलाडीहरू मैदानमै ढले। वर्तमान विश्व विजेता अर्जेन्टिनासँग ३-२ को मनै रुवाउने हार बेहोरेपछि उनीहरू स्तब्ध बनेका थिए। तर, उनीहरू संयुक्त राज्य अमेरिका (युएस) बाट बाहिरिँदै गर्दा संसारभरका लाखौँ फुटबल प्रेमीहरूको मन जित्न सफल भइसकेका थिए ।

स्कटल्याण्डका पूर्वअन्तर्राष्ट्रिय खेलाडी जेम्स म्याकफाडेनले भने, 'केप भर्डे खेलमा त हार्‍यो, तर उसले सबैको मन जित्यो। उनीहरूले मैदानमा साहस, एकता र आफू को हौँ र के गर्न सक्छौँ भन्ने कुरामा अटल विश्वास देखाए । प्रतियोगिताको वास्तविक कथा नै केप भर्डे हो। एउटा फुटबल टोलीमा मानिसहरूले देख्न चाहने कुरा नै यही हो।'

विश्व वरीयतामा ६७ औँ स्थानमा रहँदै केप भर्डे प्रतियोगितामा आएको थियो। समूह चरणका तीनवटै खेल बराबरी खेल्दै— जसमा युरोपेली च्याम्पियन स्पेनलाई पहिलो खेलमा ०-० को बराबरीमा रोक्नु पनि सामेल थियो— उसले विश्वकप इतिहासकै सबैभन्दा ठुलो उलटफेर गर्ने एउटा विशाल र चुनौतीपूर्ण अवसर सिर्जना गरेको थियो।

null

अर्जेन्टिना विरुद्धको खेलमा मेसीको गोलबाट केप भर्डे पछि परेको थियो, तर उत्कृष्ट पुनरागमन गर्दै खेललाई १-१ को बराबरीमा ल्याएर अतिरिक्त समयसम्म पुर्‍यायो। अतिरिक्त समयमा फेरि पछि परेको बेला काब्रालको प्रहारले खेललाई पुनः २-२ को स्थितिमा पुर्‍यायो। तर, भाग्यले साथ दिएन; क्रिस्टियन रोमेरोको हेडर डिनि बोर्गेससँग ठोक्किँदै आत्मघाती गोलमा परिणत भएपछि अर्जेन्टिनाले जित हात पार्‍यो।

यसबारे इङ्गल्याण्डका पूर्व राइट-ब्याक ग्यारी नेभिलले भने, 'मैले कुनै पनि कमजोर टोलीबाट देखेका खेलहरूमध्ये यो सबैभन्दा उत्कृष्ट प्रदर्शनमध्ये एक थियो। उनीहरू घर फर्कनु परेकोमा रोइरहेका छन्। उनीहरू घर जान चाहँदैनन्, बरु बाँकी जीवन यहीँ खेलिरहन चाहन्छन्। कतिपय खेलाडीका लागि यस्तो मौका जीवनमा फेरि कहिल्यै नआउन सक्छ। यो पल जति जादुमयी छ, त्यति नै दुखद पनि छ।'

हारका बाबजुद, अर्जेन्टिनालाई पेनाल्टी सुटआउटसम्म धकेल्न मात्र १० मिनेट बाँकी रहँदा चुकेका केप भर्डेका प्रशिक्षक बुबिस्टा आफ्नो टोलीप्रति निकै गर्व गरिरहेका थिए। उनले भने, 'हामीले देखायौँ कि हामी सानो देश हुन सक्छौँ, तर विश्वका उत्कृष्ट टोलीहरूसँग प्रतिस्पर्धा गर्न सक्छौँ। यो हाम्रो लागि ठुलो गर्वको कुरा हो। हामीले देशको लागि इतिहास रच्यौँ। विश्व विजेतासँग यसरी खेल्नु र दुई पटकसम्म खेललाई बराबरीमा ल्याउनु अविश्वसनीय कुरा हो।'

केप भर्डेका सबै चार खेल खेलेका श्यामरक रोभर्सका सेन्टर-ब्याक रोबर्टो 'पिको' लोपेसले भने, 'यस विश्वकपबाट प्राप्त भएको सबैभन्दा राम्रो कुरा भनेको अब कसैले पनि नक्सामा केप भर्डे कहाँ पर्छ भनेर सोध्ने छैनन्। हामीले आफैँलाई विश्वको नक्सामा स्थापित गरेका छौँ। हामी सानो राष्ट्र हौँ तर हाम्रो मुटु ठुलो छ। यदि विश्वास गर्ने हो भने जे पनि सम्भव छ भन्ने कुरा हामीले देखायौँ।'

null

विश्वकपलाई ४८ टोलीमा विस्तार गर्ने फिफाको निर्णयमाथि प्रतियोगिता शुरू हुनुअघि धेरै बहस र संशयहरू थिए, तर नेभिलले अब आफू यस निर्णयको आलोचक कहिल्यै नबन्ने बताए। यस्तै, इङ्गल्याण्डका पूर्वस्ट्राइकर इयान राइटले पनि फिफालाई केप भर्डेजस्ता अझ धेरै जादुमयी पलहरू सिर्जना गर्न सहयोग गर्न आग्रह गरे । राइटले भने, 'यो खेलले के देखाउँछ भने जब मानिसहरूलाई अवसर दिइन्छ, उनीहरू जतिसुकै साना किन नहुन्, विश्वकै सबैभन्दा ठुलो मञ्चमा पुगेर विश्व विजेता र विश्वकै उत्कृष्ट खेलाडीसँग भिड्न सक्छन्। यो उनीहरूको तर्फबाट साँच्चै एक विरतापूर्ण प्रयास थियो।'

पहिलो खेलमा स्पेनलाई रोकेपछि गोलकिपर भोजिन्हा आँसु झार्दै र गर्वका साथ केप भर्डेको झण्डा टाउकोमाथि उठाएर उभिएको तस्वीर विश्वभर भाइरल भएको थियो, जसले उनलाई तत्कालै एक 'कल्ट हिरो' बनायो। तर उनको लोकप्रियताको कारण केवल त्यो तस्वीर वा भावना मात्र थिएन, बरु उनको उत्कृष्ट खेल प्रदर्शनले उनलाई सुपरस्टारको दर्जामा पुर्‍याएको हो।

४० वर्ष पुगिसकेका यी गोलकिपरको पोर्चुगिज दोस्रो डिभिजनको क्लब चाभेससँगको सम्झौता सकिएपछि हाल उनी कुनै पनि क्लबमा आबद्ध छैनन्। तर नेभिलका अनुसार उनी धेरै समय क्लबविहीन रहने छैनन्। नेभिलले भने, 'यो विश्वकपकै बलमा भोजिन्हाले अब एउटा राम्रो क्लब पाउनेछन्। उनको खेल कति शान्त र संयमित थियो! उनी अहिलेसम्म कहाँ थिए? हामीले उनलाई पहिल्यै भेट्नुपर्थ्यो।'

इयान राइटले पनि अर्जेन्टिना विरुद्धको प्रदर्शनपछि वोजिन्हामा एउटा 'नायकको जस्तो ऊर्जा' रहेको बताए। मियामीमा भएको खेलमा ८ वटा बचाउ गरेसँगै वोजिन्हाले यस वर्षको विश्वकपमा कुल १८ वटा बचाउ गरे। उनी कुराकाओका इलोय रुम (२०) र पराग्वेका ओर्लान्डो गिल (१९) पछि यस विश्वकपमा सबैभन्दा बढी बचाउ गर्ने तेस्रो गोलकिपर बनेका छन्। बीबीसी विवरणमा आधारित

salt training

कमेन्ट गर्नुहोस्