
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
फिलाडेल्फिया स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सेली कप्तान केलियन एम्बापेले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो।
००००
फिफा विश्वकप २०२६ को पहिलो अन्तिम १६ को खेलमा मोरक्कोले सह-आयोजक क्यानडालाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
ह्युस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोले अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि निकै तनावपूर्ण र आक्रामक देखिएको थियो। रेफ्री माइकल ओलिभरले पहिलो हाफमै ६ वटा पहेँलो कार्ड देखाउनु परेको थियो। क्वार्टरफाइलनमा अब फ्रान्स र मोरक्को भिड्नेछन् ।
००००
राष्ट्रको समृद्धिमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका किसानहरूको अथक परिश्रम र योगदानको सम्मान, पहिचान तथा संरक्षणका लागि सुरु गरिएको किसान सूचीकरण कार्यक्रमले तीव्रगति लिएको छ ।
नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्तासम्बन्धी ऐन, २०७५ अनुरूप किसान सूचीकरण कार्यक्रम देशभर राष्ट्रिय अभियानका रूपमा सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा सरकारको १०० बुँदे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समेटिएको यस कार्यक्रमले पछिल्लो समय तीव्रगति लिएको हो ।
००००
मनसुनी प्रणाली सक्रिय हुँदा शनिबार काठमाडौँलगायत विभिन्न क्षेत्रमा मुसलधारे (भारी) वर्षा भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली र ठाउँठाउँमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।
००००
दैलेखमा कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरीको अत्याधुनिक उपकरणसहितको गोताखोर टोली परिचालन गरिएको छ।
असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङगेतडास्थित कर्णाली राजमार्गबाट नदीमा खसेको थियो। दुई दिनसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गर्दा पनि गाडी र बेपत्ता यात्रु फेला नपरेपछि विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट प्रविधियुक्त गोताखोर टोली खटाइएको हो।
००००
गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था, तस्करी नियन्त्रण तथा प्रशासनिक सेवा प्रवाहको अवस्था बुझ्न शनिबार मोरङका विभिन्न सरकारी कार्यालय र सीमा नाकाको स्थलगत अनुगमन गरेका छन्।
गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङ, रानीस्थित जोगवनी सीमा नाका, विराटनगर भन्सार कार्यालय, एकीकृत जाँच चौकी (आईसीपी) तथा जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै सुरक्षा अधिकारीसँग छलफल गरेका हुन्।
००००
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो समयको भाषा, व्यवहार र ‘अहंकारी प्रवृत्ति’का कारण अहिलेको अवस्थामा एकता सम्भव नभएको प्रचण्डको भनाइ छ ।
शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय भेला एवं प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले विगतको पार्टी एकता किन विफल भयो भन्ने विषयमा गम्भीर समीक्षा नगरी फेरि हतारमा एकता गरिए अर्को दुर्घटना दोहोरिन सक्ने चेतावनी दिए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार चटकका भरमा आएको आरोप लगाएका छन् ।
उनले यो सरकार चटकका भरमा आएको र चटककै भरमा जाने समेत टिप्पणी गरे ।
शनिबार एमाले पार्टी कार्यालय च्यासलमा जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्छ जान्छ । अझ यो चटकका भरमा आएको, चटककै भरमा जान्छ ।’
००००
वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले शनिबार एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका उपलब्धि सार्वजनिक गरे ।
मन्त्री पोखरेलले विभिन्न क्षेत्रका नीति, कार्यक्रम र कार्यान्वयनको प्रगतिबारे जानकारी दिए ।
उनका अनुसार यस अवधिमा सरकारले ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको भने राहदानी घरदैलोमा पुर्यााउने कार्यको थालनी गरेको छ ।
००००
यसैबीच सरकारले मन्त्रालयको संख्या घटाएसँगै वार्षिक करिब २० अर्ब राज्य कोषमा बचत हुने अनुमान गरेको छ ।
००००
गृह मन्त्रालयले एकैपटक ४२ जना उपसचिवहरूको सरुवा गरेको छ ।
मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो ।
००००
नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सामग्री अब हुलाक सेवामार्फत सेवाग्राहीको घरमै उपलब्ध गराइने भएको छ ।
नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार यससम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार आगामी साउन १ गतेदेखि हुलाक सेवा विभागमार्फत नेपाल टेलिकमका सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्सलगायत सामग्री ढुवानी गरिनेछ ।
००००
महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधा बापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाषचन्द्र अर्यालले पत्राचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधामध्ये उपदान, सञ्चित बिदा र औषधि उपचार बापत पाउने रकम भुक्तानी गर्नु/गराउन अनुरोध गरिएको बताए ।