१६ असार २०८३, मंगलबार

नर्सहरूको गुनासो– हाम्रो सुरक्षाका आधारभूत सामग्रीविनै कोरोना शंकास्पदको उपचारमा खटाइयो

चैत १२, २०७६
नर्सहरूको गुनासो– हाम्रो सुरक्षाका आधारभूत सामग्रीविनै कोरोना शंकास्पदको उपचारमा खटाइयो

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सहरूले कोरोना शंकास्पद बिरामीको उपचारमा खटिनु परेपनि आफूहरूको सुरक्षाका लागि आधारभूत सामग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) समेत उपलब्ध नगराइएको गुनासो गरेका छन् ।

प्रतिष्ठानको इमर्जेन्सी वार्डमा कार्यरत एक नर्सले आफूहरूको आधारभूत सुरक्षाविना नै कोरोनाका शंकास्पद् बिरामीहरूको उपचारमा खटिनुपरेको गुनासो गरिन् । त्रास नै त्रासमा काममा खटिनुपरेको उनको गुनासो छ ।

‘एक जनालाई आइसोलेसनमा राखेको छ । अहिलेसम्म ४/५ शंकास्पद बिमारीलाई हेरिसक्यौं, तर हाम्रो आधारभूत सुरक्षा नै भएन,’ प्रतिष्ठानमा कार्यरत एक नर्सले लोकान्तरसँग भनिन् ।

प्रतिष्ठान प्रशासनले आफूहरूलाई सामान्य सर्जिकल मास्क, साधारण गाउन र साधारण क्याप मात्रै उपलब्ध गराएको उनको गुनासो छ ।

प्रशासनका कर्मचारीले पर्याप्त स्यानिटाइजर प्रयोग गर्ने गरेपनि आफूहरूलाई आंशिक मात्र उपलब्ध गराइएको आरोप समेत उनले लाइन् ।

‘हामीले पर्याप्त स्यानिटाइजर पनि पाएका छैनांै, थोरै स्यानिटाइजर उपलब्ध गराएको भएर स्प्रिट मिसाएर प्रयोग गरेका छौं, चस्मा पनि हामीहरूले नै किनेर प्रयोग गरेका छौं,’ प्रतिष्ठानमा कार्यरत एक नर्सले लोकान्तरसँग भनिन् ।

आवश्यक सामग्रीका लागि वार्ड इञ्चार्ज र प्रशासनमा कुरा गरेपनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘पहिला त हामी आफू सुरक्षित भयौं भने पो निर्धक्क साथ काम गर्न सकिन्छ,’ उनले थपिन् ।

नर्सहरूलाई आधारभूत सामाग्री उपलब्ध नगराइएको बारे प्रश्न गर्दा प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख ज्ञानेन्द्र मल्लले समाग्री नभएका कारण उपलब्ध गराउन नसकिएको बताए ।

‘हामीले भै–भै त नदिएको होइन, यदि मेरो कर्मचारी इन्फेक्टेड भयो भने म आफैं बाँच्दिनँ । हामी यहाँ ३ हजारभन्दा धेरै कर्मचारी छौं, अहिलेको स्थितिमा धान्न नै सक्ने अवस्था छैन, बाहिर पनि किन्न पाइँदैन,’ मल्लले लोकान्तरसँग भने ।

उनले थपे, ‘प्रशासन, प्रदेश र केन्द्रलाई भनेका छौं, कतैबाट नआइसकेपछि लोकल प्रोडक्सन गर्न सकिन्छ कि भनेर धेरै सोच्यौं, स्यानिटाइजार यहिँ कसरी उत्पादन गर्न सकिन्छ भनेर सोच्यौं, तर उत्पादन गर्न सामाग्री चाहियो । अब हामीलाई केहि दिनपछि खानाको समेत समस्या पर्न सक्छ । कोरोनाको पहिलो बिमारी देखिएको दिनदेखिनै हामी कसरी समस्याहरूलाई सामाधान गर्ने भन्नेतिर लागिराखेका छौैं ।’

आफूहरू जोखिममा रहेको गुनासो उनले पनि गरे ।

‘हामी डाक्टर तथा नर्सहरू निकै जोखिममा छौं, तर प्रशासन र हामीहरू समस्या समाधानका लागि नलागेको भने होइन,’ उनले भने ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ भने अस्पताल र प्रतिष्ठाहरूले पनि आवश्यक सामग्री खरिद गर्नुपर्ने बताउँछन् ।

केही सामग्री आफूहरूले पठाउने तयारी गरिरहेको उनले बताए ।

‘अहिले ग्लोभ्सको अभाव छ, अरू सामग्रीहरू हामीले पठाउने तयारी गरिराखेका छौं,’ श्रेष्ठले भने ।

salt training

कमेन्ट गर्नुहोस्